‘सत्यमोहन जोशी जन्म शताब्दी वर्ष’ मनाइने
ललितपुर महानगरपालिकाले विख्यात संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी वर्षभरि मनाउने भएको छ ।
जोशी ३० बैशाख २०७६ मा सय वर्ष प्रवेश गर्दैछन् । महानगरपालिकाले उक्त दिन जोशीलाई नगर परिक्रमा गराई राष्ट्रपति विद्यादेवी भण्डारीको आतिथ्यमा वार्षिक कार्यक्रम घोषणा गर्ने योजना बनाएको छ ।
“जोशीको उमेर र स्वास्थ्य मध्यनजर गर्दै कार्यक्रमहरु व्यवस्थापन गरिनेछ”, ८ फागुनमा महानगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख चिरिबाबु महर्जनले भने । जोशी ललितपुर, बखुम्बहाल निवासी हुन् ।
महानगरपालिकाले जोशीको सम्मानमा उनको प्रतिमासहितको पार्क स्थापना गर्ने, वाङ्मय क्षेत्रमा योगदान पु¥याउने ब्यक्तिहरुलाई सत्यमोहन जोशी सम्मान पदक प्रदान गर्ने, कलाकार अरनिको र जोशी बारे कला प्रदर्शन गरिने, ‘सत्यमोहन जोशी प्रतिष्ठान एवं अध्ययन केन्द्र’ स्थापना लगायतका कार्यक्रम तय गरिएको नगरप्रमुख महर्जनले जानकारी दिए ।
थप कार्यक्रममा नेवार संस्कृति, चाडपर्वको महत्व, विशेषता बारे जोशीको प्रवचन प्रशारण गर्ने, पिम्बहाल पोखरीमा मल्लकालिन संगीत साँझ आयोजना गर्ने, महानगरपालिकाको स्मारिकालाई ‘सत्यमोहन जोशी विशेषाङ्क’को रुपमा प्रकाशन गर्ने साथै जोशीको तस्वीर अंकित हुलाक टिकट र स्वर्ण मुद्रासमेत निकालिने छ ।
ललितपुर महानरपालिकाले एक वर्षअघि जोशीलाई चालक र इन्धन सुविधासहित गाडी प्रदान गरेको थियो ।