हत्या आरोपमा फरार वडाध्यक्ष जेल चलान
हत्याको आरोपमा मुद्दा चलेपछि फरार रहेका मोरङका तीन वडाध्यक्षमध्ये एकजना शुक्रबार अदालतमा हाजिर भएलगत्तै पुर्पक्षका लागि जेल गरिएकाे छ।
विराटनगर– १४ का समानन्द यादवको हत्यामा संलग्न रहेको आरोपमा विराटनगर महानगरपालिकाका दुई र जहदा गाउँपालिकाका एक वडाध्यक्षलाई मुद्दा चलाइएको थियो ।
जहदा–१ का वडाध्यक्ष प्रदीपचन्द्र यादवलाई पुर्पक्षका लागि मोरङ कारागार पठाइएको अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले बताए ।
यादव अदालतमा आफैं उपस्थित भएपछि मृतकका आफन्तहरूले दिनभरि अदालत बाहिर ब्यानर बोकेर धर्ना दिएका थिए । गत ३२ जेठमा भएको पञ्चेतीमा समानन्दलाई स्थानीयले कुटपिट गर्दा विराटनगर–१४ का वडाध्यक्ष बालदेव यादव, १८ का वडाध्यक्ष सञ्जय साह र जहदा–१ का वडाध्यक्ष यादव उपस्थित थिए।
समानन्दको उपचारका क्रममा २६ असारमा मृत्यु भएपछि तीन वडाध्यक्षसहित ९ जनालाई प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेको थियो । यादवको अवस्था चिन्ताजनक रहेकै बेला प्रहरीले उनीहरू विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलाए पनि पक्राउ भने गरेको थिएन । यादवको मृत्युपछि मात्रै प्रहरीले उनीहरूको खोजी गरेको थियो ।
मृतकका छोरा मुकेश यादवले बाबुको हत्यामा संलग्नहरूलाई कारवाही हुने आशा पलाएको बताउँदै यादवलाई जेल पठाइएकोमा खुसी लागेको बताए । समानन्दका जेठा छोरा राजेशको विवाहको तयारी हुँदै गर्दा केटा र केटी पक्ष बीच असमझदारी बढेकाले वडाध्यक्ष बलदेव यादवको घरमा पञ्चेती डाकिएको थियो ।
छोरा राजेशले विवाह गर्न अस्वीकार गरेको समानन्दले पञ्चेतीमा बताएपछि उनलाई कुटपिट गरिएको थियो । उनको उपचारमा रु १२ लाख खर्च भएको र आधासरो रकम भने कुटपिटमा संलग्नहरूले तिरेको पीडित परिवारले जनाएको छ । तीनैजना वडाध्यक्ष समाजवादी पार्टीका स्थानीय नेता हुन् ।