जग्गा कोशी अस्पतालको, आम्दानी अन्य संस्थाकाे
कर्मचारीलाई तलब खुवाउन हम्मे पर्दै आएको कोशी अस्पताल विराटनगरको जमिनबाट भने विभिन्न संस्थाले लाखौं रकम भाडा असुली गरिरहेको पाइएको छ ।
अस्पताल प्रशासनका कर्मचारी नवराज लुइँटेलका अनुसार, नेपाल क्षयरोग निवारण संस्था, रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयले अस्पतालको जमिन भाडामा लगाएर रकम लिंदै आएका छन् ।
तीन संस्थाको वर्षमा रु १ करोड जति घर र सटरबाट भाडा उठ्ने अनुमान गरिएको उनले बताए । अस्पतालको इमरजेन्सी, आईसीयू र ट्रमा सेन्टर निर्माणका लागि बहुवर्षीय योजना अनुसार संघीय सरकारले चालु आर्थिक वर्षमा रु ४० करोड बजेट छुट्याएको थियो । भवन निर्माणका लागि अस्पतालले आफ्नो जमिन खोजी गर्ने क्रममा तीनवटा संस्थाले भोगचलन गरिरहेको पाइएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकृत विष्णु बुढाथोकीका अनुसार, क्षयरोग, रेडक्रस र पुस्तकालयकाे कार्यालय रहेको जमिन पनि अस्पतालकै भएको पाइएको छ । क्षयरोगले ६० वर्षअघि २०१६ सालमा बनाएको भवनमा कार्यालय संचालन गर्नुका साथै खेलकुद विकास समिति, औषधि पसल र क्लिनिकलाई भाडामा दिएको छ ।
रेडक्रसले भने भवन बनाएर वाणिज्य ब्यांकलाई भाडामा दिएको छ । अस्पतालले क्षयरोग र रेडक्रसलाई पत्र पठाएर जमिन प्रयोगको इजाजत भए नभएको प्रष्ट पार्न आग्रह गरेको थियो । त्यसको जवाफ नआएपछि २२ माघमा नापी कार्यालय मार्फत जमिन नाप्दा तीनवटै संस्था रहेको र उनीहरूले निजी भवन बनाई भाडामा लगाएको पाइएको थियो ।
अस्पतालको नाममा रहेको ५ बिघा ८ कट्ठा जमिन भित्रै यी संस्थाहरू रहेका छन् । अस्पतालका निमित्त प्रमुख डा.संगीता मिश्राले भवन निर्माण गर्नुपर्ने ठाउँ नपाइएपछि जमिन खोजतलास गरिएको बताइन् । “अस्पतालको जमिन संघ, संस्थाले प्रयोग गरिरहेको प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई जानकारी गराउँछौं”, उनले भनिन् ।
मोरङ रेडक्रसका अध्यक्ष सुबोध सिंह भने तत्कालीन राजदरबार र अस्पतालले नै भोगचलन गर्ने अनुमति दिएको बताउँछन् । “राजाले लेखेर दिएको प्रमाण पनि हामीसँग सुरक्षित छ”, उनले भने, “त्यो बेलामा राजाहरू पनि रेडक्रसमा आबद्ध हुन्थे, बहुदल आएपछि मात्रै जनता पनि संस्थामा आउन थाले ।”