भारतकाे डान्सबारमा बेचिएकी युवतीको उद्धार
डान्सबारमा बेचिएकी २१ वर्षिया नेपाली युवतीलाई भारत उत्तरप्रदेशको निचलौलबाट उद्धार गरिएको छ । आफन्त नेपाल, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा नवलपरासीकी ती युवतीको उद्धार गरिएको आफन्त नेपालका कार्यकारी निर्देशक इन्द्रराज भट्टराई बताए ।
सिद्धार्थ चाउचाउ फ्याक्ट्रिमा काम गर्ने उनलाई महेशपुरका मनोज धोविले ६ महीनाअघि ८० हजार भारुमा बेचेको प्रहरीको भनाइ छ । डान्सबारमा उनलाई नाच्ने काममा लगाइएको थियो ।
काम गरेको पैसा नपाएपछि घर आउन खोज्दा बार मालिकले उनलाई पैसामा किनेको र पठाउन नमिल्ने बताएका थिए । त्यसपछिमात्र आफू बेचिएको थाहा भएको पीडित युवतीले बताइन् ।
जागिर गर्ने भन्दै हिँडेको ६ महीनासम्म पनि सम्पर्कमा नआएपछि उनकी बहिनी सीमाले जिल्ला प्रहरी कार्यालय नवलपरासीमा दिदी हराएको निवेदन दिएकी थिइन् । प्रहरी र संघ संस्थाको पहलमा खोज्दै जाँदा निचलौलको डान्सबारमा भेटिएको आफन्त नेपालका कार्यकारी निर्देशक भट्टराईले बताए ।
बारमा ६ जना नेपाली युवती रहेको भएपनि अन्य युवती नेपाल फर्किन नमानेपछि उनको मात्रै उद्धार गरिएको हो ।
उक्त डान्सबारमा मनोजले नेपाली युवती पठाउने गर्दै आएको आशंका प्रहरीले गरेको छ । फरार रहेका मनोज भारतको निचलौलमा भएको आशंकामा भारतीय प्रहरीको सहयोगमा खोजी गरिरहेकाे सीमा प्रहरी चौकी महेशपुरका इन्चार्ज बिष्णु सापकोटाले बताए ।
दुई महीनाअघि पनि उक्त बारबाट एक युवतीको उद्धार गरिएको थियो ।
प्रहरीले पछिल्लो ६ महीनाको अवधिमा भारत जान लागेका नौ जना युवतीको नवलपरासी सीमा क्षेत्रबाट उद्धार गरेको छ ।