दृष्टिविहीन पर्यटक
–सङ्घमित्रा सुब्बा
एलेक्स टी जेम्स काठमाडौं दरबारमार्गस्थित सेतो, रातो रङ लगाइएको सिंहको मूर्ति अघि उभिइरहेका थिए । सँगैका पथप्रदर्शकले उनको हात समातेर सिंहको मूर्ति चारैतिर छाम्न लगाए । र, क्रमैसँग उनले स्पर्श गरेका वस्तुको वर्णन गरिदिए । जेम्स जस्तै समूहका अन्य दृष्टिविहीनले पनि त्यसै गरी पालैपालो सिंहलाई छोए र सक्दो अनुभूत गरे ।
“मेरा लागि नयाँ देशको यात्रा ज्ञानेन्द्रियले अनुभूत गर्ने एउटा अवसर हो । नयाँ शहरको आवाज, वासना–गन्ध र भावना अनुभव गर्नु जस्तो रोमाञ्चक अरु केही हुनै सक्दैन”, जेम्स भन्छन् ।
बेलायती कम्पनी ट्राभलेयस यस्तो संस्था हो, जसले दृष्टि नभएका पर्यटकलाई पहिलो प्राथमिकतामा राख्छ । ट्राभलेयसले यहाँस्थित मल्ल ट्राभल एण्ड ट्रेक सर्भिसेजको सहयोगमा दृष्टिविहीन पर्यटकलाई दोस्रोपटक नेपाल भ्रमणमा ल्याएको हो ।
ट्राभलेयसबाटै गएको नोभेम्बरमा नेपाल आएका दृष्टिविहीन पर्यटकहरू पोखरा पुगे, नजिकबाट हिमाल हेरे । काठमाडौंको बौद्धमा माने घुमाउँदै प्रार्थना पनि गरे । पशुपति आर्यघाटमा भइरहेको दाहसंस्कार परैबाट नियाले । अव्यवस्थित फुटपाथ र ढुङ्गाका भर्याङहरूमा पनि हिंडे । यति मात्र होइन, पथप्रदर्शकहरूले उनीहरूलाई त्रिशूली नदीमा र्याफ्टिङ पनि गराए । चितवनमा थारुनाच हेर्दै उनीहरू मज्जाले नाँचे पनि ।
यात्राकी प्रबन्धक सुजी हेसल्डनका भनाइमा, दृष्टिविहीन पर्यटक जीवन पूर्णरुपमा जिउन चाहने यस्ता यात्री हुन् जो स्वयंमा प्रेरणादायी पनि छन् । “मलाई त उनीहरू साधक जस्तो लाग्छ”, उनी भन्छिन् ।
दृष्टिविहीन हरेक पर्यटकसँग दृष्टि भएका पथप्रदर्शक हुन्छन् । “देख्न सक्ने पथप्रदर्शकले दृष्टिविहीन पर्यटकलाई उनीहरूको रुचि र कस्तो ठाउँमा कसरी सहयोग लिन चाहन्छौ भनी बरोबर सोध्नुपर्छ र त्यही अनुसार भर्याङ र परिदृश्यहरूको वर्णन गर्नुपर्छ । अर्थात् पथप्रदर्शक आँखा बन्नुपर्छ”, उनी भन्छिन् ।
सेवानिवृत्त टोनी बुथ पथप्रदर्शक हुन् । उनी आफूलाई ‘वृद्ध हिप्पी’ भन्न रुचाउँछन् । उनी भन्छन्, “दृष्टिविहीन यात्रुहरूसँग यात्राका बेला तपाईं सधैंभन्दा बढी संवेदनशील र सचेत हुनुपर्छ । तपाईंका सबै इन्द्रिय सक्रिय हुनुपर्छ” बुथ भन्छन्, “के सुनिरहनुभएको छ, के को गन्ध आइरहेको छ यी धेरै कुरा महत्वपूर्ण बन्छन् ।”
नेपालमा दृष्टिविहीन पर्यटकका लागि जोखिम भनेकै फुटपाथ विनाका सडक र अपरिपक्व सवारी चालक हुन् । भएका फुटपाथमा हिंड्दासमेत ठोक्किन आइपुग्ने खतरा हुन्छ । यस्तो काममा पथप्रदर्शक थप सचेत हुनुपर्ने बुथको अनुभव छ ।
दृष्टिविहीन पर्यटकसँगको पहिलो यात्राका क्रममा मल्ल ट्राभलका पथप्रदर्शक अजय मानन्धरले धेरै नयाँ कुरा थाहा पाए । “नेपालका शारीरिक रुपले अशक्त र ज्येष्ठ नागरिकहरूले घुमफिरको कमै मात्र अवसर पाउँछन् । ट्राभलेयसको अवधारणा यहाँ पनि लागू गर्न सके गज्जब हुने थियो”, उनी भन्छन् ।