प्रेस तथा अभिव्यक्ति लगायत स्वतन्त्रता हनन् हुँदैन: प्रम ओली
सम्पादकहरूसँगको संवादहीनता तोड्दै ‘आफ्ना विगतका भनाइले आघात पुगेको भए क्षमाप्रार्थी’ भएको बताएका ओलीले ‘स्वतन्त्रता कसैगरी पनि हनन् नहुने’ बताएका छन् ।
२१ माघमा मूलतः प्रिन्ट तथा अनलाइन मिडियाका २५ जना सम्पादकलाई निम्त्याएका ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सुशासन, अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेशन सम्झौता, पार्टी एकता लगायत विषयमा करीब एक घण्टा आफ्नो धारणा राखेका थिए । विगतभन्दा पृथक तवरमा प्रस्तुत प्रम ओलीले शुरुमै सम्पादकहरूलाई आफ्नो धारणा राख्न लगाएका थिए ।
‘स्वतन्त्रता हनन् हुँदैन’
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने उद्देश्यबाट प्रेरित विभिन्न कानून तथा विधेयकप्रति व्यक्त सम्पादकहरूको चिन्ताप्रति प्रधानमन्त्रीले आफूले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गर्ने बताएका थिए ।
प्रमले अघिल्ला सरकारकै पालामा बन्नुपर्ने कतिपय कानूनहरू नबनेका र अहिले हतारमा आएका केही कानूनहरूका बारेमा आएको विवाद सच्याएर जाने बताए । “कानूनका कमजोरी सच्चिन्छन्, प्रेस तथा अन्य कुनै पनि स्वतन्त्रता हनन् हुँदैन”, प्रम ओलीले भने ।
“म पूर्ण रूपमा आश्वस्त पार्न चाहन्छु, प्रेस स्वतन्त्रता वा अरु कुनै पनि स्वतन्त्रता कुनै पनि प्रकारले किञ्चित पनि कुण्ठित हुँदैन । म आफैँ पनि यही स्वतन्त्रताका निम्ति ५५ वर्षदेखि लडेको छु । मानवअधिकार र स्वतन्त्रताको अभाव कस्तो हुन्छ भन्ने मैले भोगेको छु”, प्रमले भने, “कानून निर्माणको क्रममा भएका छलफलमा केही गलत भएका छन् भने सच्याउन सकिन्छ ।”
यद्यपि उनले सभ्य समाजमा आफ्नो स्वतन्त्रता वा अधिकारको उपभोगका क्रममा अर्काको स्वतन्त्रता वा अधिकारको हनन् हुन नहुने बताएका थिए । “कसैले त्यस्तो गर्न खोज्छ भने त्यसलाई रोक्नुपर्छ”, उनले भने, “कसैको व्यक्तिगत, पारिवारिक वा बन्द–व्यापारलाई आघात पार्ने काम अरु कसैले गर्छ भने त्यसलाई रोक्नुपर्छ ।”
सम्पादकका जिज्ञासाका जवाफका क्रममा प्रम ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदको यही अधिवेशनबाट पारित हुने दाबी पनि गरे । “केही साथीहरूले बुझ्न बाँकी भएर मात्र कार्यदल बनाइएको हो, यही अधिवेशनबाट एमसीसी पारित हुन्छ”, उनले भने । अघिल्लै सरकारका पालामा भएको भए पनि प्रम ओलीले एमसीसी राष्ट्रका लागि आवश्यक भएको दाबी पनि गरे ।
विवादित बालुवाटार जग्गा र यती होल्डिङ्स प्रकरण आफ्नो कार्यकालको उपज नभएको दाबी गरेका प्रमले बरु दुवै विषयमा आफूले नै छानबिन गराएको बताए । “ललिता निवास प्रकरणबारे त मैले नै छानबिन गराएको हुँ । यती होल्डिङ्ससँगको करार पनि यसअघिकै सरकारबाट भएको हो । यद्यपि छानबिनका क्रममा कानूनसम्मत नै करार गरिएको पाइयो”, उनले भने ।
‘भ्रष्टाचार कुनै पनि हालतमा सह्य नरहेको’ भन्ने पुरानै कुरा दोहोर्याएका ओलीले कतिपय पुरानै संरचना र अभ्यासका कारण बृहत्तर सुशासन कायम गराउन अप्ठेरो रहेको दाबी गरे । प्रम ओलीको भनाइ थियो, “सरकार मात्र नयाँ भयो, ब्यूरोक्रेसीलगायत थुप्रै कुरा पुरानै भएका कारण सोचे जति प्रगति हासिल गर्न सकिएको छैन ।”
सरकारले शान्ति सुव्यवस्थामा निक्कै सुधार गरेको दाबी गर्दैै प्रधानमन्त्रीले अहिलेको मूल चुनौतीको रूपमा ‘विप्लव समूहको गतिविधिलाई इंगित गरेका थिए। विप्लव समूहको नामै लिएर प्रम ओलीले भने, “राजनीतिको नाममा आतंक मच्चाएर पैसा लुट्ने काममा संलग्न विप्लवको समूहको गतिविधि सभ्य समाजले स्वीकार्न सक्दैन ।”
बम र बन्दुकसहित पक्राउ परेका व्यक्तिहरू छुट्ने गरेको कुरालाई उनले ‘आफूले पनि बुझ्न नसकेको’ बताए ।
‘बाँकी काम गर्न मिर्गौला पुनः प्रत्यारोपण’
सम्पादकहरूसँग प्रम ओलीले आफ्नो बाँकी तीनवर्षे कार्यकाल पूरा गर्नैका लागि मिर्गौला पुनः प्रत्यारोपण गर्न लागेको बताएका थिए । “मिर्गौला राख्न खोजेकै बाँकी तीन वर्ष काम गर्नका लागि हो, जुन म चाँडै गर्दैछु”, उनले भने ।
पार्टी एकता गर्दा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति अर्का अध्यक्ष पुष्पकमल दाहालकै प्रस्तावमा पछि गएर फेरिएर पाँच वर्ष आफैले चलाउने निर्णय भएको प्रम ओलीको दाबी थियो । “आलोपालो गर्दा अस्थिरताको संकेत जाने भएकाले प्रचण्डजीकै प्रस्तावमा मैले नै पूरा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो”, उनले भने ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले पार्टीको एकतामा कुनै समस्या नरहेको दाबी गरे । चर्चित भैंसेपाटी बैठकलाई उनले पार्टी नेताहरू बीचमा भएको सामान्य कुराकानीका रूपमा अर्थ्याए । उनको भनाइ थियो, “भैंसेपाटी, खुमलटार, कोटेश्वर, डल्लु वा यहीं (बालुवाटार) मा यस्ता बैठक हुन्छन्, जुन सामान्य हो।”
एमाले–माओवादी एकता बहुतै सोचविचारी गरिएको र यो बलियो बन्दै गएको उनको दाबी थियो ।
“शुरुमा चुनावका लागि गरिएको गठबन्धनताकै पार्टी एकता गर्ने भनियो, र पछि गरियो । अहिले पार्टी झनै बलियो हुँदै गएको छ ।”
‘सम्पादकको मुटु’
प्रधानमन्त्री ओलीले ‘सरकारको प्रशंसा गर्न कुनै सम्पादकको मुटु नभएको’ भन्ने आफ्नो भनाइको पनि स्मरण गरे ।
यो भनाइलाई क्रिकेटको बलिङ र ब्याटिङसँग तुलना गर्दै प्रमले ‘आफ्नो आलोचना गर्ने सम्पादकलाई कम्तीमा केही राम्रा पनि भएका छन्, लेखिदिनोस्’ भन्न पाउनुपर्ने जिकिरसमेत गरे ।
प्रधानमन्त्रीले यसो भनेर आफूले ब्याटिङ गरेको पनि तर्क गरे । “तपाईं सम्पादकहरू एकोहोरो बलिङ गरिरहने अनि मैले कहिलेकाहीं ब्याटिङ गर्नसमेत नपाउने, यति त पाउनुपर्यो नि”, उनले भने, “यद्यपि मेरा विगतका भनाइले तपाईंहरूलाई कुनै आघात परेको छ भने म क्षमाप्रार्थी छु ।”