चीनको हुनानमा बर्ड फ्लू
चीनले हुनान प्रान्तमा घातक बर्ड फ्लूको प्रकोप देखिएको आइतबार जनाएको छ ।
यो प्रकोप हुआनको शुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा देखिएको छ जुन कोरोना भाइरसको संक्रमणको केन्द्र मानिने हुबेई प्रान्तको दक्षिणी सिमानामा अवस्थित छ । स्थानीय अधिकारीहरूले हालसम्म उक्त फार्मका १७ हजार ८२८ कुखुरालाई नस्ट गरिएको बताएका छन् ।
चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालयद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “शुआङकिङको शाओयाङ शहरको एक कुखुरा फार्ममा बर्ड फ्लूको संक्रमण देखिएपछि फार्ममा रहेका सात हजार ८५० चल्लाहरूसहित चारहजार ५०० कुखुराहरू मरेका छन् भने संक्रमणपछि १७ हजार ८२८ कुखुरालाई नस्ट गरिएको छ ।” मन्त्रालयले हुनानमा देखिएको बर्ड फ्लूको संक्रमण अहिलेसम्म मानिसमा भने नदेखिएको बताइएको छ ।
चीनले कोरोना भाइरसको संक्रमणका कारण ठूलो जनशक्ति लगाएर यसलाई नियन्त्रण गर्न लागिपरेको समयमा हुनानमा देखिएको बर्ड फ्लूले चीनलाई दोहोरो समस्या परेको छ ।
चीनमा कोरोना भाइरसका कारण ३०४ जनाको मृत्यु भएको छ भने यस संक्रमणले चीनबाहिर फिलिपिन्समा पहिलो व्यक्तिको मृत्यु भएको छ ।
चीनले कोरोना भाइरसको संक्रमण बढी देखिएको हुबेई प्रान्तका केही शहरहरूलाई अन्य भूगोलसँग अलग राखेर रोकथाम, नियन्त्रण तथा उपचार प्रयासहरूलाई जारी राखेको छ । यसका कारण त्यहाँका करीब पाँच करोड ६० लाख व्यक्तिको आवागमन रोकिएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिँदो अवस्थामा रहेका समय विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्यको क्षेत्रमा कार्यरत अन्य अन्तर्राष्ट्रिय संघसंगठनले विश्वव्यापी रोकथामका लागि काम गरिरहेका छन् । कोरोनाको संक्रमण चीनसहित सात एशियाली राष्ट्रका साथै अष्ट्रेलिया, फ्रान्स, संयुक्त राज्य अमेरिका लगायत करीब दुई दर्जन मुलुकमा देखिएको छ ।
कोरोना भाइरस संक्रमण विश्वव्यापी स्वास्थ्य समस्या भएको विश्व स्वास्थ्य संगठनले बताएपछि विभिन्न देशले चीनमा रहेका आफ्ना नागरिकलाई फिर्ता लग्न थालिसकेका छन् । –एएनआई