राजाको भाषणपछि बन्द रेडियो
स्थानीय योङ्गस्टार क्लबको पहलमा सोलुखुम्बु सदरमुकाम सल्लेरी नजिकैको दोर्पुबजारमा एफएम रेडियो खोल्न, चलाउन सिकाएर उनीहरूकै जिम्मा लगाएर फर्कने जिम्मेवारीसहित म सोलुखुम्बु पुगेको धेरै भएको थिएन । एक डेनिस संस्थाको सहयोगमा खोलिएको सोलु एफएम जिल्लाकै पहिलो र एकमात्र एफएम थियो ।
त्यो (१९ माघ २०६१) बिहान पनि उस्तै चिसो थियो । बिहान ९ः३० बजेतिर हुनुपर्छ, रेडियो वरिपरि सुरक्षाकर्मी जम्मा भए । सधैं चेकपोष्टमा बस्ने, आज यता किन ? चिसो पस्न थाल्यो । ‘राजाको भाषण बजाउनु अनि रेडियो बन्द गर्नु’ एकजना सुरक्षाकर्मीले एकाएक आदेश दिए ।
कुन भाषण ? कति वेला बजाउने ? किन रेडियो बन्द गर्ने ? सुरक्षाकर्मीलाई सोध्न सम्भव थिएन । अरूसँग कुरा गर्न न फोन थियो न इन्टरनेट । यसै पनि सोलुमा सडक सञ्जाल थिएन ।
फाप्लु विमानस्थलमा ओर्लने व्यापारी, सरकारी कर्मचारीले आक्कलझुक्कल नयाँ खबर ल्याउँथे । नत्र त रेडियोकै भर थियो– रेडियो नेपाल, सोलु एफएम, र बेलाबेला सुनिने माओवादीको एफएम ।
हाम्रो एफएम बिहान ५ बजेदेखि १० बजेसम्म र साँझ् ५ देखि १० बजेसम्म दैनिक १२ घण्टा प्रसारण हुन्थ्यो ।
एफएम खुल्नुअघि नै सुरक्षाकर्मीले यस्तो आदेश दिएपछि देशमा के भइरहेको छ भन्ने पनि थाहा हुने कुरा भएन । नभन्दै राजा ज्ञानेन्द्रको सम्बोधनपछि रेडियो बन्द भयो । बल्ल किन यसो भनिएको रहेछ भन्ने थाहा भयो ।
सधैंजसो तनावमा देखिने सेनानी त्यो बिहान विजयी भावमा देखिन्थे। त्यही भावमा उनको आदेश थियो– हामीले खोल नभनेसम्म रेडियो नखोल्ने।
त्यसपछि मलाई ब्यारेक आउनू भन्ने खबर आयो । म रेडियोका तत्कालीन अध्यक्ष बुद्धिनारायण श्रेष्ठलाई लिएर सल्लेरी ब्यारेक पुगें । अरूबेला प्रायः तनावमा देखिने सेनानीले त्यो बिहान खुशी र विजयी मुद्रामा हाम्रो स्वागत गरे । र, कार्यकक्ष लगे ।
त्यसपछि भने उनको अघिपछिको अनुहार देखियो । उनी चर्को स्वरमा आक्रोश पोख्न थाले– “देशमा हजारौं सेना, प्रहरी मरिरहेछन्, उनीहरूको परिवारको बिचल्ली छ, भोकभोकै लडेका छन्, तर न उनीहरूको योगदानको चर्चा छ न मानवअधिकारकै बारेमा कोही बोल्छ । उनीहरू कुकुर मरेजसरी मरिरहेछन् ।
तिमी पत्रकारहरूलाई चाहिं कसैले छिसिक्क छुन नहुने ? आतङ्ककारीहरूको मात्र मानवअधिकार हुने तिमेरका लागि ? उनीहरूको मात्र समाचार ? आज सरकारले जे गरिबक्स्यो, ठीक भयो ।” आफ्नो एकोहोरो भाषणको अन्त्य गर्दै सेनानीले आदेश दिए– ‘हामीले खोल नभनेसम्म रेडियो नखोल्ने ।’
त्यहाँ उपस्थित प्रमुख जिल्ला अधिकारी र डीएसपीले औपचारिकता मात्र देखाए । उनीहरू कुरा गर्न वा सुन्न इच्छुक थिएनन् । किनकि जिल्ला प्रहरी कार्यालय र सिडिओ कार्यालय दुवै ब्यारेकभित्रै थिए । रेडियोका अध्यक्ष सरकारी कर्मचारी थिए । उनले प्रतिवाद गर्ने कुरा भएन । म भनें निरीह ।
जिल्लामा सोलु एफएम लोकप्रिय थियो। रेडियोले स्थानीयको दैनिकी बदलेको थियो। रेडियोमा ‘कायाकैरन’ बज्थ्यो जसले सोलुलाई देश–विदेशका खबरसँग साक्षात्कार गराउँथ्यो। हामी स्थानीय समाचार बनाउँथ्यौं। अचानक रेडियो बन्द हुँदा हामीभन्दा पीडित श्रोता र शुभचिन्तक थिए।
त्यो एक–दुई घण्टा पनि एकदिन जस्तो लाग्न थाल्यो । जिल्लामा सोलु एफएम लोकप्रिय थियो । रेडियोले स्थानीयको दैनिकी बदलेको थियो । रेडियोमा ‘कायाकैरन’ बज्थ्यो जसले सोलुलाई देश–विदेशका खबरसँग साक्षात्कार गराउँथ्यो । हामी स्थानीय समाचार बनाउँथ्यौं । अचानक रेडियो बन्द हुँदा हामीभन्दा पीडित श्रोता र शुभचिन्तक थिए ।
रेडियो बन्द भएको तेस्रो दिन ब्यारेकबाट रेडियो खोल्न सकिने सङ्केत आयो । तर शर्त थियो– गीत मात्र बजाउनु ।
त्यसको अर्को महीना, १६ फागुन बिहान माओवादीले एफएम रहेको दोर्पुबजार घेरा हाले । अघिल्लो रात रेडियो बन्द गरेर सुतेको घर बिहान उठ्दा बाहिरबाट बन्द थियो । बन्दूक भिरेका माओवादीले बाहिर निस्कनै दिएनन् । अघोषित नजरबन्द जस्तै थियो, त्यो क्षण ।
दुई हतियारधारी माओवादीको नियन्त्रणमा रेडियोका कर्मचारीले रेडियो त खोले । तर, गीत बज्दै गर्दा एकैछिनमा रेडियो प्रसारणबाटै बम र गोलीका आवाज सुनिन थाले ।
सल्लेरी ब्यारेकबाट दोर्पुको चेकपोष्ट हिंडेका सुरक्षाकर्मीको समूहलाई नयाँबजार कट्ने बित्तिकै माओवादीले एम्बुसमा पारे । भिडन्त भयो । करीब एकघण्टाको भिडन्तमा ८ जना सुरक्षाकर्मीको ज्यान गयो ।
सेनाका सहसेनानी अपहरण गर्न सफल माओवादी विजयी उन्मादसाथ फर्किए । केही समयपछि एफएम परिसरमा सेनाको हेलिकप्टर उत्रियो ।