चीनमा कोरोना भाइरसबाट २५९ को मृत्यु, ११ हजार ७९१ संक्रमित
विश्वव्यापी बन्दै गइरहेको नोभेल कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरूको संख्या शनिबारसम्ममा २ सय ५९ पुगेको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीहरूका अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या भने ११ हजार ७ सय ९१ पुगेको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दैनिक रुपमा यस सम्बन्धी विवरण सार्वजनिक गर्ने गरेको छ । आयोगले बिरामी भएका मध्ये १७ सय ९५ जनाको अवस्था गम्भीर रहेको छ ।
उनीहरूका अनुसार अरु १७ हजार ९ सय ८८ जनालाई पनि कोरोना भाइरसकै संक्रमण भएको आशंकामा परीक्षण गरिएको छ । उनीहरूको परीक्षणको नतिजा भने आइनसकेको अधिकारीहरूले जनाएका छन् ।
बिरामी भएका मध्ये कुल २ सय ४३ जनालाई उपचारपछि अस्पतालबाट फिर्ता गरिएको स्वास्थ्य आयोगले जनाएको छ ।
आयोगका अनुसार शुक्रबार मात्रै २१ सय २ जना नयाँ संक्रमित भेटिएका छन् भने ५ हजार १९ जनालाई शंकाको घेरामा राखेर परीक्षण भइरहेको छ । त्यसैगरी शुक्रबार मात्रै थप ४६ जनाको मृत्यु भएको छ, ती मध्ये ४५ जना हुवेई प्रान्तमा र एक जना चोङक्विङ नगरपालिकामा मृत्यु भएको हो ।
स्वास्थ्य अधिकारीहरूले शुक्रबार २ सय ६८ जना गम्भीर बिरामी थपिएको जानकारी दिएका छन् भने त्यही दिन ७२ जना उपचारपछि घर फर्किएका छन् ।
चीनकोे मध्यक्षेत्रमा पर्ने वुहान शहरमा सबैभन्दा पहिले देखिएको कोरोना भाइरसको संक्रमण अहिले संसारका दुई दर्जनभन्दा बढी देशहरूमा फैलिइसकेको छ ।
भाइरसको प्रकोप फैलिदै गएपछि विश्वस्वास्थ्य संगठनले आपतकालीन अवस्थाको घोषणा गरेको छ भने, विभिन्न देशले चीनसँगको नाकाबाट हुने आवतजावतलाई कडाइ गरेका छन् । संसारका धेरै देशले आफ्नो सिमाना पार गरेर आउने हरेक व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।