आस्था राउत प्रकरणः ‘बहादुर’ प्रहरीको कमजोर किस्सा
अभद्र व्यवहार सम्बन्धी मुद्दामा एक दिन हिरासतमा राखिएकी गायिका आस्था राउत १४ माघमा रु.४ हजार धरौटी तिरेर रिहा भइन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशले रिहा भएकी उनी १३ फागुनमा पुनः प्रशासनमा उपस्थित हुनुपर्नेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र १ माघमा चेकजाँचका क्रममा गायिका राउत र प्रहरी जवान रमिता श्रेष्ठबीच भनाभन भएको थियो ।
पछि गायिका राउतले सामाजिक सञ्जालमा प्रहरी विरुद्ध आक्रोश पोखेकी थिइन् । प्रहरी जवान श्रेष्ठले भने आफूमाथि राउतले अपमान गरेको भन्दै ३ माघमा उजुरी दिइन् । यता राउतले आफूले आवेगमा आएर अमर्यादित शब्द बोलेको भन्दै सामाजिक सञ्जालबाट माफी मागिन् ।
उनले माफी मागे पनि प्रहरीले ५ माघमा प्रमुख जिल्ला अधिकारीबाट पक्राउका लागि अनुमति लियो । भारतको सिक्किममा डेढ हप्ता लामो सांस्कृतिक कार्यक्रम सम्पन्न गरी फर्केर आफैं प्रहरी कार्यालय पुगेकी उनलाई हिरासतमा राखियो ।
फौजदारी कानूनका जानकारहरू सामान्य भनाभनको घटनामा जाहेरी दिएकै भरमा कसैलाई पक्राउ गर्नुलाई कानून विपरीत भएको बताउँछन् ।
वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल अभियुक्तलाई थुनामा नराखी अनुसन्धान अगाडि बढाउन सकिने अवस्थामा पनि कानूनको दुरुपयोग गरेर थुन्ने गरिएको बताउँछन् । कसुर प्रमाणित नहुने र मेलमिलापमा टुंग्याउन सकिने कतिपय घटनामा प्रहरी बढी आक्रामक हुने गरेको उनी बताउँछन् ।
छलफल र मेलमिलापबाट टुङ्गिन सक्ने सामान्य घटनामा पनि प्रहरीले कानूनको दुरुपयोग गरी नागरिकलाई हिरासतमा राख्ने गरेको छ।
नयाँ फौजदारी संहिता १ भदौ २०७५ मा लागू हुनुअघि प्रहरीले सामान्य उजुरीका भरमा पनि पक्राउ गर्ने र मुद्दा चलाउने गर्दा निर्दोषले अनाहकमा दुःख पाउँथे । नयाँ संहितामा अदालत र प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्र पक्राउ गर्न सक्ने प्रावधान राखियो । तर, त्यसको पनि दुरुपयोग रोकिएन ।
खरेल भन्छन्, “मुद्दा हेर्ने अधिकारी र अदालत असंवेदनशील भए प्रमाण विना उजुरीकै भरमा जोसुकै पनि थुनिनुपर्ने हुन्छ । यस्तो अवस्थामा नागरिक अधिकार हनन हुन्छ ।”
दबाब र प्रभावका आधारमा प्रमाण नष्ट नहुने, आरोपित व्यक्तिलाई नथुन्दा पनि समाजलाई कुनै खतरा नहुने र अभियुक्त नभाग्ने अवस्थामा हिरासतमा नलिई अनुसन्धान अघि बढाउनुपर्ने पूर्व प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल बताउँछन् । जाहेरी परेकै आधारमा प्रहरीले पक्राउ गरेर थुन्नुमा सामाजिक संरचना पनि दोषी भएको उनी बताउँछन् ।
मल्ल भन्छन्, “सामाजिक संरचना पनि दोषी छ, उजुरी दिनेहरू एक दिन भए पनि प्रहरीले थुनोस् भन्ने चाहन्छन्, प्रहरीको पनि पहिला थुन्ने अनि सुन्ने प्रवृत्ति छ ।”
प्रहरीबाट थुनिइने विषय सामाजिक प्रतिष्ठासँग पनि जोडिएको छ । सामान्य घटनामा नै थुनिनुपर्दा त्यस्ता व्यक्तिमा मनोवैज्ञानिक असर पर्छ ।
वरिष्ठ अधिवक्ता खरेल माफी मागेर गल्ती स्वीकार गरिसकेको अवस्थामा गायिका राउतलाई हिरासतमा लिएर प्रहरीले गल्ती गरेको बताउँछन् । उनी भन्छन्, “प्रहरीमा हाजिर भएपछि अब आइन्दा गल्ती नगर्ने शर्तमा कागज गराएर पनि छोड्न सकिन्थ्यो । तर, प्रहरीले पक्राउ गर्नमै बहादुरी ठान्यो ।”
प्रहरीले कानून दुरुपयोग गरेर थुनामा राखेका अरू पनि उदाहरण छन् । गत कात्तिकमा ठगी सम्बन्धी मुद्दामा व्यवसायी रूप ज्योतिलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राख्यो । अन्त्यमा उनको मुद्दा मेलमिलापमा टुङ्गियो ।
सामान्य घटनामा पनि पक्राउ गर्ने प्रहरीले गम्भीर अपराधका मुद्दामा किटानी जाहेरी दिंदा पनि अभियुक्त पक्राउ नगरेको उदाहरण पनि छन् । साउन २०७५ मा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले दिलीप विष्ट विरुद्ध किटानी जाहेरी दिइन् ।
तर, प्रहरीले विष्टलाई अहिलेसम्म पनि पक्राउ गरेको छैन । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी उपरीक्षक मुकुन्द मरासिनी निर्मला हत्याकाण्डको अनुसन्धान प्रक्रिया जारी नै रहेको बताउँछन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका अनुसन्धान टोलीले निर्मला पन्तको बलात्कारपछि हत्यामा विष्टकै संलग्नता भएको निष्कर्ष सहितको प्रतिवेदन बुझइसकेका छन् । उनीहरूले बुझएको प्रतिवेदनमा विष्टलाई पक्राउ गरी मुद्दा चलाउनुपर्ने उल्लेख छ ।
तर, उक्त घटनाको अनुसन्धानमा खटिएका प्रहरीमाथि नै धमाधम कारबाही भएपछि जिल्लाका प्रहरी विष्टलाई पक्रन हच्किएका हुन् ।