बाघ बुझ्न, बुझाउन
सन् २०१० मा रुसको सेन्ट पिटसवर्गमा आयोजित बाघको वासस्थान भएका मुलुकका प्रमुखहरूको पहिलो सम्मेलनले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता व्यक्त गर्यो । सम्मेलनले बाघ संरक्षण प्रभावकारी बनाउन हरेक २९ जुलाइमा ‘बाघ दिवस’ मनाउने घोषणा पनि गर्यो ।
पिटसवर्ग प्रतिबद्धता अनुसार नै नेपालमा विगत दश वर्षमा पाटेबाघको संख्या १२१ वटाबाट बढेर २३५ पुगेको छ । विश्वबाटै लोपोन्मुख पाटेबाघ नेपालमा बढ्नुले संसारभरका संरक्षणकर्मी हौसिएका छन् ।
नेपाल बाघमा धनी हुँदै गए पनि नेपाली भाषामै बाघ बारेका पुस्तकको अभाव छ । स्तनधारी प्रजातिमध्ये सिकार गरेर खाने शीर्ष जनावर बाघबारे हालै प्रकाशित हेमसागर बराल लिखित पुस्तक ‘पाटेबाघ’ ले यो अभाव केही हदसम्म भए पनि पूरा गर्ने जमर्को गरेको छ । पुस्तकमा बाघको परिचय र विशेषता सहित सचित्र वर्णन छ ।
खण्ड ‘क’ देखि ‘ढ’ सम्म बाघ बारेको यो पुस्तक बाघको उत्पत्तिबाट शुरु हुन्छ र नेपालमा बाघको अध्ययन, अनुसन्धानमा सक्रिय संस्थाहरूको ठेगाना समेत दिएर सकिन्छ ।
यसबीचमा बाघको परिचयसँगै, बाघको बानीव्यहोरा र प्रजनन् अवस्था, बाघ र चितुवा बीचका फरक, बाघको सांस्कृतिक र धार्मिक महत्व, नेपालमा बाघ संरक्षणका प्रयास, बाघ र मानिसको सम्बन्ध, बाघको चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणका प्रयास, बाघको भविष्य लगायतका थुप्रै विषय समावेश छन् ।
लेखक स्वयं वन्यजन्तुविद् भएकाले बाघसँगको जम्काभेटका प्रसङ्ग पनि रोचक लाग्छ ।
लेखकका अनुसार, नेपालमा २००७ सालको राणा शासन अन्त्यसँगै बाघ घट्न थालेको हो । उनी यसका लागि राजनीतिक अस्थिरता र २०११ सालमा तराईमा औलो उन्मूलन भएको समाचार फैलिएसँगै तराईमा बढेको बसाइँसराइलाई प्रमुख ठान्छन् ।
राणाकालमा बेलायतका राजपरिवार, उच्चपदस्थ अधिकारी र नेपालकै राजा–राणा खलकले तराईका जङ्गलहरूमा महीनौंसम्म बाघको शिकार गरे पनि दुई–तीन वर्षको फरकमा जङ्गलमा जाने गरेकाले बाघको संख्या खासै नघटेको लेखकको तर्क छ ।
नेपालमा बाघको संख्या कसरी बढ्यो ? यसबारे विभिन्न अध्ययन, अनुसन्धान भएका छन् । खासगरी संरक्षणमा सरकारको नेतृत्वमा गैरसरकारी संस्थाको सक्रिय सहयोग र स्थानीय समुदायको चेतनाले यसमा अहम् भूमिका खेलेको छ । संरक्षण प्रभावकारी हुँदा चोरीशिकारीमा कमी आएको छ । बाघको वासस्थान सुरक्षित मात्र भएको छैन, आहारा अन्य वन्यजन्तुको संख्या पनि बढेको छ ।
बाघ त बढ्यो, तर अब अर्को चुनौती थपिएको छ । यो चुनौती भनेको ‘संख्यामा आधारित व्यवस्थापन’ हो । बाघले ओगट्ने स्थान, उसलाई आवश्यक आहारा जीवजन्तुको उपलब्धता, खेल्ने घाँसे मैदान तथा खानेपानीको उचित व्यवस्थापन हुन नसके बाघ फेरि घट्न सक्छ ।
बाघले जङ्गलमा आफ्नो क्षेत्र निर्धारण गरी उक्त क्षेत्रमा अर्को बाघलाई बस्न दिंदैन । त्यसैले जङ्गलको क्षमताभन्दा बाघको संख्या धेरै भएमा बुढा, कमजोर र अर्ध–वयस्क बाघ जङ्गल बाहिर निस्कन्छन् । त्यस्ता बाघले घरपालुवा जनावर र मानिसलाई आक्रमण गर्छन् ।
केही वर्षयता चितवन निकुञ्ज बाहिर निस्केका बाघमध्ये अधिकांश अर्ध–वयस्क छन् । त्यसैले, अबको बाघ संरक्षण रणनीतिले बाघ–मानवबीचको द्वन्द्व न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्ने तथा प्रभावकारी संरक्षण योजना कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।
बाघ संरक्षणको अर्को समस्या भनेको वनमारा (माइकानिया मिक्रान्था) लगायतका मिचाहा वनस्पतिको प्रकोप हो । पानीका स्रोत सुक्दै जानुले पनि संरक्षणमा चिन्ता थपेको छ ।
विश्वभर बाघको संख्या ३ हजार ८९० रहेको छ । सन् २०१६ को तथ्यांक अनुसार पाटेबाघको संख्या सबैभन्दा बढी भारतमा २ हजार २२६ र सबैभन्दा कम लाओसमा दुई वटा रहेको छ । यीबाहेक इन्डोनेसिया, चीन, थाइल्यान्ड, बाङ्लादेश, भूटान, मलेशिया, म्यानमार, रुसमा पनि बाघ पाइन्छ । यताका वर्षहरूमा भियतनाम, कम्बोडिया र लाओसमा भने बाघ लोप भइसकेको बताइन्छ ।
बाघको उपलब्धताको हिसाबले विश्वमा नेपाल आठौं स्थानमा पर्छ । सन् २०२० लाई भ्रमण वर्ष मनाउने राष्ट्रिय अभियानको एउटा पाटो पाटेबाघ पनि हुनसक्छ । पुस्तकमा लेखक बराल ‘बाघ पर्यटन’ बारे पनि चर्चा गर्छन् ।
उनी विश्वमा बाघ पाइने मुलुकहरूमा पछिल्लो समय बाघ पर्यटन फस्टाएको उल्लेख गर्दै भारतबाटै पनि थुप्रै कुरा सिक्न सक्ने बताउँछन् । बाघ पर्यटनबारे उचित र आकर्षक योजना बनाउन सके बाघ संरक्षणमै पनि थप योगदान पुग्न सक्ने उनको भनाइ छ ।
विख्यात वैज्ञानिक जर्ज स्यालरले भनेका छन्, “बाघ जस्ता प्रकृतिका अनुपम उपहारलाई यदि हामीले लोप हुनबाट जोगाउन सकेनौं भने आउँदो पिंढीले हाम्रो अदूरदर्शिता र असंवेदनशीलताका लागि हामीलाई कहिल्यै क्षमा गर्ने छैनन् ।”
बरालको पाटेबाघ नेपाली भाषामा बाघबारे लेखिएको दुर्लभ पुस्तक मात्र होइन, बाघबारे बुझाउन, संवेदनशील हुन लेखिएको सरल पुस्तक पनि हो । पुस्तकबाट संरक्षणकर्मीभन्दा बढी सामान्य नागरिक र बाघसँग जीवन जोडिएका स्थानीयवासीले फाइदा लिनसक्छन् ।
पुस्तक: पाटेबाघ, लेखक: हेमसागर बराल, प्रकाशक: हिमाली प्रकृति, पृष्ठ: १३०+१०
महेश्वर आचार्य