मोरङमा एकै दिन ३ बीओपी उद्घाटन
मोरङका तीन ठाउँमा भारतीय सीमावर्ती क्षेत्रमा बनेका सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) शुक्रबार उद्घाटन गरिएको छ ।
संघीय र प्रदेश सरकारको सहयोगमा विराटनगर १६ दरहिया, धनपालथान गाउँपालिका सोराभागस्थित मायागञ्ज र रंगेली गरी तीनवटा बीओपीको उद्घाटन गरिएको छ ।
बराह बाहिनी सुनसरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापाले सबै बीओपीको उद्घाटन गर्दै सीमामा लागुऔषध, हतियार र मानव तस्करी नियन्त्रण आवश्यक रहेको बताए ।
सीमामा स्थायी बीओपी स्थापना भएपछि सीमावर्ती क्षेत्रमा हुने अपराध न्यूनीकरणमा सहज हुने बताउँदै डीआईजी थापाले, “सीमा सुरक्षा सबल नभई देश सबल हुन सक्दैन ।” सीमावर्ती गाउँका बासिन्दाको बाध्यता बुझेर मात्रै कारवाही गर्न उनले बीओपीका सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।
खेतका लागि मल, बीउ, विवाह, मृत्यु र धार्मिक कार्यमा चाहिने सामग्री भारतबाटै ल्याउने बाध्यता भएकाहरूको अवस्था बुझेर व्यावहारिक रुपमा कारबाही गर्नुपर्ने उनले बताए ।
मायागञ्ज र रंगेलीमा संघीय र प्रदेश सरकारको लगानीमा तथा दरहियामा प्रदेश सरकारको मात्रै लगानीमा बीओपी स्थापना भएको हो ।
दरहिया बीओपीलाई विराटनगर–११ का रुक्मणीरमण पोखरेलले ५ कट्ठा जग्गा प्रदान गरेका थिए । सशस्त्र प्रहरीको ३ नम्बर गण मोरङका प्रमुख नेत्रबहादुर कार्कीले थप ३ वटा बीओपीको भवन बन्ने तयारीमा रहेको जानकारी दिए ।
३ वटा थप हुँदा जिल्लामा ९ वटा बीओपीका आफ्नै भवन हुने उनले बताए । विराटनगरको सीमावर्ती क्षेत्र दरहियामा बनाइएको बीओपी भने वर्षायाममा डुबान क्षेत्रमा पर्छ । हरेक वर्षामा त्यस आपसापको गाउँ डुबानमा पर्ने र सशस्त्र प्रहरीले नै उद्धार र राहत वितरण गर्दै आएको थियो ।