शिकार र हतियारसहित शिकारी पक्राउ
सुनसरीको चारकोसे झाडीबाट प्रहरीले हतियारधारी शिकारीलाई शुक्रबार बिहान शिकारसहित पक्राउ गरेको छ ।
राति जंगलमा बँदेल मारेर बिहानीपख फर्कंदै गरेका शिकारीको समूहलाई धरान उपमहानगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरी चौकी पानबारीबाट गस्तीमा खटिएको टोलीले दुई थान भरुवा बन्दुक र बन्दुकको छर्रा लागेर मरेको १० किलोको बँदेलको पोथी बच्चासहित चारजनालाई पक्राउ गरेको हो ।
धरान–६ स्थित गौडे आहालको जंगलबाट शिकार खेलेर निस्कदै गरेका धरान–६ पानबारीका मनि तामाङ (३०), सिद्धार्थ राई (३६), रामबहादुर योन्जन (३९) र शम्भु दाहाल (३०) लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।
उनीहरूलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसूर अपराधमा मुद्दा चलाउन जिल्ला अदालतबाट आजै म्याद थप गरिएको प्रहरीले बताएको छ ।
बन्दुकको छर्रा लागेर मरेको बँदेल कारबाहीका लागि सेक्टर वन कार्यालय धरानको जिम्मा लगाइएको न्यौपानेले बताए । शिकारीको समूहले प्रयोग गरेको को २० प ८७१६ र ना १४ प ६४३३ नम्बरका मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।