पीडित महिला भन्छिन् : एसएसपी राणाकै कारण सम्बन्ध विच्छेद भयो
एक महिलामाथि यौन हिंसा गरेको उजुरी परेपछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ शमशेर राणालाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।
संघीय प्रहरी कार्यालय धरानमा कार्यरत एसएसपी राणालाई यौन हिंसाको गम्भीर आरोप लागेपछि बहाल अवस्थामै प्रमाण नष्ट गर्न सक्ने भन्दै गृह मन्त्रालयले निलम्बन गरेको हो ।
प्रहरीलाई परेको जाहेरीमा इटहरीको एउटा होटेलमा उक्त घटना भएको भनिएपछि प्रहरी टाेली मुचुल्का उठाउन होटेल पुगेकाे छ ।
पीडित भनिएकी महिलालाई स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले हिमालखबरलाई जानकारी दिएकाे छ ।
महिलाले प्रहरीलाई एसएसपी राणासँग आफू १५ वर्षदेखि सम्बन्धमा रहेको र राणाकै कारणले श्रीमानसँग सम्बन्ध विच्छेद भएको बताएकी छन् । प्रहरीका अनुसार महिलाका दुई छोरा छन् ।
निलम्बित एसएसपी राणाले भने आफूलाई लामो समयदेखि कसैले दु:ख दिइरहेको र अहिले आफू विरुद्ध उजुरी परेको खबर पाएको प्रतिक्रिया दिए ।
उनले निवेदन पढेर मात्रै थप प्रतिक्रिया दिने बताएका छन् । "छानबिन होला, छानबिन समितिले थप सत्यतथ्य पत्ता लगाउँछ", उनले भने ।