प्रबल घिमिरेकाे मृत्यु शंकास्पद जनाउँदै अनुसन्धान गर्न पत्राचार
विराटनगरमा लेखा परीक्षकको काम गर्दै आएका प्रबल घिमिरे (५२) को शंकास्पद मृत्युका विषयमा छानविन नभएको जनाउँदै वडा कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।
गत ७ माघमा विराटनगर–२ का घिमिरेको शव स्थानीय सिंघिया खोलामा डुबेको अवस्थामा फेला परेको थियो । वडा कार्यालयले हालसम्म मृत्युको सत्यतथ्य पत्ता लाग्न नसकेको जनाउँदै आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा पत्र बुझाएको छ ।
वडाध्यक्ष कुमार पोखरेलले प्रमुख जिल्ला अधिकारीलाई पत्र बुझाउँदै अनुसन्धान गरी घटनाको वास्तविकता सार्वजनिक गर्न आग्रह गरे ।
घटनाका विषयमा अनुसन्धान भइरहेको र ६ माघ राति घिमिरेको सम्पर्कमा रहेका ५ जना व्यवसायीसहित सातजना निगरानीमा रहेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका नायब उपरीक्षक लोकदर्शन थापाका अनुसार व्यवसायीहरू नन्दकिशोर राठी, अरुण राठी, अनिलकुमार चाण्डक, विनय कर्ण, विजयराज प्रसाई तथा चालकद्वय पशुपति खड्का र चन्द्रबहादुर दर्जीको बयान लिइएको छ ।
उनीहरूको मोबाइल फोनको कल डिटेल मगाइएको छ भने मृतक घिमिरेको हराएको मोबाइलको सिमकार्ड अरुमा प्रयोग भए नभएको पत्ता लगाउन आइएमई नम्बर पनि खोजी गरिएको थापाले बताए ।
६ माघ राति घिमिरेलाई चन्दकिशोर राठीले फोन गरेर बोलाएका थिए । राठीकै उद्योगमा मोटरसाइकल राखेर उनीहरू होटलमा गएका थिए ।
होटल मुनमा खानपिनपछि चाण्डकको गाडीमा चालक दर्जीले घिमिरेलाई घर नजिकै ल्याएर छाडेको हालसम्मको अनुसन्धानबाट खुलेको छ ।
होटल संचालक प्रसाई र सोही होटलमा घिमिरे र राठीसँग भेट भएका सुनचाँदी व्यवसायी अरुण राठीलाई पनि बोलाएर बयान लिइएको प्रहरीले बताएको छ ।
पोष्टमार्टम रिपोर्ट आएपछि भिसेरा जांच गरिने र त्यसपछि मात्रै हत्या भए नभएको खुल्ने थापाले जानकारी दिए ।