अधूरै रह्यो नेपालीको ग्रामी सपना
पहिलोपटक संगीतको सर्वोच्च पुरस्कार ग्रामी अवार्ड जित्ने नेपाली सपना पूरा भएन ।
नेपाली बाँसुरीवादक मनोसे नेवा (मनोज सिंह) ६२ औं ग्रामी अवार्डमा पहिलोपटक नेपालको प्रतिनिधित्व गरिरहेका थिए । उनीसहित देव प्रिमल र मिटन समुहको अल्बम ‘देव’ ग्रामीमा ‘बेष्ट न्यू एज अल्बम’ विधामा मनोनित भएको थियो ।
तर, सोमबार सकिएको अवार्ड वितरण समारोहमा यो विधातर्फकाे अवार्ड ‘विङ्स’ अल्बमका लागि अमेरिकी पियादोवादक पिटर काटेरले जिते।
अवार्ड वितरणअघि मनोजले आफ्नो फेसबूकमा ‘एण्ड द विनर ईज...मिसिङ देव एण्ड मिटन’ लेख्दै नेपाली पोसाकमा नमस्कार गरेको तस्वीर पनि राखेका थिए ।
गत २१ नोभेम्बरमा आफनो फेसबुक पेजमार्फत मनोजले देव र मिटनले फोन गरी आफूहरुको अल्बम ग्रामीमा मनोनयनमा परेको समाचार सुनाएको र यसबाट आफू चकित परेको उल्लेख गरेका थिए ।
देव अल्बम गायत्री मन्त्रको भक्तिसंगीत हो, अल्बममा मनोसेले बाँसुरीका असाधारण धुन प्रस्तुत गरेका छन् ।
काठमाडौं बौद्धका मनोसे बाल्यकालदेखि नै बाद्यवादनमा सरिक थिए । उनी सुकर्म ब्याण्डका संस्थापक सदस्य पनि हुन्।
लामोसमयदेखि अमेरिका बसिरहेका उनले नेपालमा क्यान्डेजा कलेक्टिभ, १९७४ एडी, आनी छोइङसँग पनि काम गरिसकेका छन् । उनी सन् १९९८ मा पहिलोपटक विख्यात तबलावादक होमनाथ उपाध्यायको साथमा प्रस्तुतीका लागि पश्चिमा देशहरुमा पुगेका थिए।