पर्यटन बोर्डको सीईओ भोलि नियुक्त हुने सम्भावना
अन्तिम समयमा आएर रोकिएको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया पुनः अघि बढेको छ।
बोर्डका सदस्य कृष्णबहादुर महराका अनुसार, मंगलबार साँझ बस्ने बोर्ड बैठकबाट सीईओ नियुक्ति गर्ने तयारी छ ।
संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नयाँ सीईओ नियुक्तिका लागि मंगलबार साँझ बोर्ड बैठक बोलाएका छन् ।
नेपाल पर्यटन बोर्डको निर्णय प्रमाणितका लागि सदस्यसचिव आवश्यक पर्ने भएकाले १२ गते आइतबार बसेको बोर्ड बैठकले अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीलाई उक्त जिम्मेवारी दिएको थियो ।
नेपाल पर्यटन बोर्ड ऐनमा बोर्डले गरेको निर्णय सदस्य सचिवले प्रमाणित गर्ने व्यवस्था छ ।
सीईओ छनोट उपसमितिले ५ माघमा डा. धनन्जय रेग्मी, हिक्मतसिंह ऐर र दीपक बस्ताकोटीको नाम सिफारिस गरेको थियो । बोर्डका तत्कालिन सीईओ दीपक जोशीको ४ वर्षे कार्यकाल गत पुस दोस्रो हप्ता सकिएपछि पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृतविहीन छ ।
५ माघमा सिइओ नियुक्ति गर्ने गरी सिइओ छनोट उपसमितिले नाम सिफारिस गरेको भएपनि बोर्डका अध्यक्ष केदारबहादुर अधिकारीले अन्तिम समयमा आएर बैठक स्थगित गरेपछि नियुक्ति प्रक्रिया रोकिएको थियो ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीकै आग्रहमा उनले सीईओ नियुक्त गर्ने बोर्ड बैठक रोकेका थिए ।