शंकास्पद दुई बिरामी नोभल कोरोनाभाइरस संक्रमित नभएको पुष्टी
नोभल कोरोनाका संकास्पद बिरामीको स्वास्थ्य परिक्षणबाट उनीहरु उक्त भाइरसबाट संक्रमित नभएको देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तीन जना शंकास्पद बिरामीको घाँटीमा भएको स्वाब जाँच गरेकोमा दुई जनामा नोभल कोरोना भाइरस ‘नेगेटिभ’ देखिएको हो ।
प्रयोगशालाका अनुसार बाँकी एक जनाको स्वास्थ्य परिक्षण रिपोर्ट मंगलबारमात्र आउनेछ ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले पनि हिमालखबरसँग कुरा गर्दै दुई जना बिरामीमा कोरोनाभाइरस ‘नेगेटिभ’ देखिएको र एक जनाको स्वास्थ्य परिक्षण भइरहेको बताएका छन् ।
शंकास्पद तीन जना बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको थियो ।
त्यसै क्रममा उनीहरुलाई नोभल कोरोनाभाइरस भए वा नभएको पुष्टी गर्न प्रयोगशालामार्फत स्वाब जाँच गरिएको थियो ।
नोभल कोरोनाभाइरस नेगेटिभ देखिएका दुई बिरामीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सोमबार डिसचार्ज गरिसकेको छ ।
नेपालमा यसअघि नोभल कोरोनाभाइरस जाँच्ने उपकरण भए पनि रिएजेन्टको अभावमा सञ्चालनमा आउन सकेको थिए ।
तर, प्रयोगशालाले रिएजेन्ट ल्याएर नोभल कोरानाभाइस जाँच्न उक्त ल्याब पहिलो पटक सञ्चालनमा ल्याएको हो ।
यसअघि नेपालमा कोरोनाभाइरसबाट एकजना नेपाली संक्रमित भएको पुष्टि भएको थियो । १० माघमा स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर पहिलोपटक चीनबाट फर्किएका नेपाली कोरोनाभाइरसबाट संक्रमित भएको जानकारी दिएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार साँझ कोरोनाभाइरस पुष्टि नभएको विज्ञप्तीसमेत सार्वजनिक गरेको छ ।