घर सजाउन लहरा
लहराले घर सजाउने हो भने प्राकृतिक सुन्दरता मात्र होइन, प्रदूषणबाट समेत केही हदसम्म बच्न सकिन्छ।
अहिले घरको कोठा, कौसी र भर्याङ आदि सुन्दर पार्न लहरा प्रजातिको फुल्ने र नफुल्ने बिरुवा रोप्न थालिएको छ । कुनै माथितिर तन्किन्छन् भने कुनै तलतिर तुर्लुङ्ग झुण्डिन्छन् । बगलामुखी नर्सरी, ललितपुरका सञ्चालक सुन्दरलाल मुल्मी बिक्री भइरहेको मध्ये करीब २० प्रतिशत ‘ह्याङ्गिङ प्लान्ट’ (झुण्डिने फूल/बिरुवा) बिक्री हुने गरेको बताउँछन् ।
लहरा प्रजातिका फूल/बिरुवाको आकर्षण छुट्टै छ । यसको लम्बाइ र स्थानले घरमा सौन्दर्य झल्काउँछ । वनस्पतिविद् डा.केशवराज राजभण्डारीका अनुसार लहरे प्रजातिका बिरुवा सजाउने उद्देश्यले पहिले त्यति रोपिंदैनथ्यो । “यस्ता बिरुवाले घर आकर्षक बनाउने मात्र होइन सकारात्मक सोच सञ्चार गर्ने काम पनि गर्छ; यसैले स्वदेश/विदेशमा घर, कार्यालय सबैतिर राख्ने चलन आएको हो”, उनी भन्छन् । लहरा प्रजातिका बिरुवा नेपालमा कति पाइन्छन् भन्ने अध्ययन कसैले नगरेको उनी बताउँछन् ।
डड्ढी टेल, ब्ल्याक पर्ल, स्ट्रिङ अफ पर्ल, बनाना, ह्याङ्गिङ जिरेनियम, ह्याङ्गिङ पिटुनिया आदि लहरा प्रजातिका हुन् । बोट सानै हुँदा फुल्ने फूलहरू झुन्ड्याएर राख्न सकिने हाम्रो फ्लावर नर्सरीका सोनाम योन्जन बताउँछन् । उनी भन्छन्, “कतिले राम्रो देखेर फूल टिपिदिने वा मुन्टा भाँचिदिने गर्छन्, त्यसैले यिनलाई लहरा झुन्ड्याउन मिल्ने ठाउँमा रोप्नुपर्छ ।”
कतिपयले झ्यालमै गमला झुन्ड्याएर राखेको पनि देखिन्छ । फूल रोप्न चाहने तर रोप्ने ठाउँ नभएकाहरूको रोजाइमा ‘ह्याङ्गिङ फ्लावर’ परिरहेको बताउँछन्, फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजू । “आजभोलि फूलको भेराइटीसँगै आकर्षक ‘पट’ हरूले पनि यस्ता फूलहरूको व्यापार बढाएको छ”, उनी भन्छन् ।
लत्रिने फूल/बिरुवाले घरको आकर्षण बढाउने कोटेश्वरकी मीना श्रेष्ठ बताउँछिन् । उनी भन्छिन्, “भुईंमा गमला राख्ने ठाउँ नभएकाले झुन्ड्याएर राखेकी छु, यसले मेरो घरको ‘लुक्’ नै परिवर्तन भएको छ ।” झुन्डिने फूल रोप्न महँगो गमला चाहिन्छ भन्ने मान्यताबाट पनि टाढा छिन्, उनी । भन्छिन्, “मैले भित्तामा राख्न मिल्ने ‘स्ट्यान्ड’ मा सामान्य प्लाष्टिकको गमलामा रोपेकी छु ।”
ह्याङ्गिङ पट
फूल रोपेर झुन्ड्याउन मिल्ने गमलाको गुणस्तर र डिजाइन अनुसार मूल्य फरक पर्ने व्यवसायीहरूको भनाइ छ । पेयपदार्थ कोकाकोला/पेप्सीको बोतल र तेलका ग्यालनहरूमा समेत फूल/बिरुवा रोपेर झुन्ड्याएको देखिन थालेको छ । त्यस्तै बाँस तथा बेतका चोयाबाट बुनिएको ढकी स्टाइलका झुन्डिने गमलाहरूको लोकप्रियता पनि बढ्दो छ । कतैकतै सामान्य गमलामा फूल/बिरुवा रोपेर अग्लो वा भित्ते स्ट्यान्डमा राखेको पनि देखिन्छ ।
लहरालाई त्यसरी रोप्नुलाई पनि एक प्रकारको कला नै मान्छन्, वनस्पतिविद् राजभण्डारी । “यसले घरलाई आकर्षक त बनाउँछ नै वातावरण प्रदूषित हुनबाट पनि बचाउँछ”, उनी भन्छन् ।
पछिल्लो समय भारतबाट प्लाष्टिकका आकर्षक सिक्री र गमलाहरू आउन थालेको बगलामुखी नर्सरीका मुल्मी बताउँछन् । उनी भन्छन्, “प्लाष्टिकका ह्याङ्गिङ गमला माटोभन्दा हल्का र पिंधमा प्लेट पनि टाँसिएको हुँदा पानी चुहिएर फोहोर हुने समस्याबाट समेत छुटकारा पाइन्छ ।” तुलनात्मक रुपमा प्लाष्टिकका झुन्ड्याउने गमला सेरामिक र चोयाबाट बनेका गमला भन्दा सस्तो पर्छ ।
नर्सरी सञ्चालकहरू पनि विभिन्न रङ र झुण्ड्याउन मिल्ने प्लाष्टिकका गमलाहरू प्रयोग गरिरहेको बताउँछन् । हाम्रो फ्लावर नर्सरीका योन्जन भन्छन्, “आकर्षक र सुन्दर त सेरामिक तथा चोयाबाट बुनेका गमला हुन्छन् तर फूल बेच्दा गमलाको मूल्य पनि जोडेर बेच्नुपर्ने हुन्छ । ग्राहकले खोजी गरे मात्रै यस्तो गमला मगाउँछौं ।”
कुनै कुनै होटल तथा रेस्टुरेन्टहरूमा भने पूरै भित्ता ढाक्ने गरी प्लाष्टिकका स–साना गमला टाँसिएका ‘स्ट्यान्ड’ मा फूलहरू रोपेर आकर्षक बनाएको पनि देखिन्छ । यस्ता स्थान ग्राहकहरूले ‘सेल्फी’ लिने ठाउँ बन्ने गरेका छन् ।