भारतमा पाकिस्तानी कलाकारलाई प्रतिबन्ध
भारत प्रशासित जम्मु कश्मीरको पुलवामामा सैनिक जवानहरुमाथि गत बिहीबार भएको आक्रमणपछि पाकिस्तान विरुद्धको आक्रोशले भारतका हरेक क्षेत्रलाई छोएको छ।
४० सैनिकको ज्यान जानेगरी भएको पुलवामा घटनामा पाकिस्तानको हात रहेको आरोप भारतले लगाइरहँदा बलिउडमा पाकिस्तानी कलाकारहरुको करिअर संकटमा परेको छ। अल इन्डिया सिने वर्कर्स एसोसिएसनले पाकिस्तानी कलाकारहरुलाई बलिउडमा काम गर्न पूरै प्रतिबन्ध लगाएको घोषणा गरेको छ।
फेडेरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइजले पाकिस्तानी कलाकारसँग काम गर्ने भारतीय सिनेकर्मीलाई समेत प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। फेडेरेशनका मुख्य सल्लाहकार अशोक पण्डितले पाकिस्तानबाट आफ्नो देशमा पटकपटक आक्रमण भइरहँदा पाकिस्तानी कलाकारसँग काम गर्न जिद्दी गर्ने निर्माता, म्युजिक कम्पनीलगायतलाई पछाडि हट्न बाध्य पारिने बताएका छन्।
यसैबीच, प्रतिबन्धको उक्त निर्णयपछि बलिउड अभिनेता सलमान खानले आफ्नो प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भइरहेको फिल्म 'नोटबुक' बाट गायक आतिफ असलमको गीत हटाएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार, सलमान खान फिल्म्सले पाकिस्तानी गायक आतिफको गीत हटाएपछि उक्त गीतको रि-रेकर्डिङ केही दिनमा गरिने भएको छ। नितिन कक्करको निर्देशनमा बनिरहेको फिल्मबाट जहिर इकबाल र प्रनुतन बहलले बलिउडमा डेब्यू गर्दैछन्।
पुलवामा घटनापछि भारतको टेलिभिजन क्षेत्रमा पनि पाकिस्तानी कलाकारलाई काम गर्न बन्देज लगाउनुपर्ने माग उठिरहेको छ। – एजेन्सी