मासिंदै चराको स्वर्ग
चराका बथान देखिन कम भएपछि डुङ्गामा सयर गर्दै चरा अवलोकन गर्न आउने विदेशी पर्यटक पनि घट्दै गएका छन्।
‘चराको स्वर्ग’ र ‘अर्नाको राजधानी’ भनिने कोशी टप्पु वन्यजन्तु आरक्षभित्रको वन कोशी बाढीले कटान गरेर सकिने अवस्थामा पुगेको छ । आरक्ष क्षेत्रमा नेपाली सेना र आरक्ष प्रशासनको सुरक्षा भए पनि गाई, भैंसी चराउने गोठाला र माछा मार्नेहरूको आवतजावत बाक्लो छ । घट्दो वन क्षेत्र र बढ्दो मानव चहलपहलले यहाँ पाइने जलचराको संख्या वर्षेनि घट्दै गएको छ ।
साइबेरियादेखि बसाइँ सरेर आएका चरा अवलोकन गर्न विदेशी\स्वदेशी पर्यटक सुनसरी, उदयपुर र सप्तरीको सिमानामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा आउने गर्छन् । “चरा अध्ययन र अवलोकनकै लागि लाखौं खर्च गरेर विदेशी आउँछन् तर चरा संरक्षणमा कुनै पहल नै हुन सकेन” कोशी चरा अध्ययन केन्द्रका कर्मचारी विमल तिम्सिना भन्छन् ।
आरक्ष प्रशासनले रैथाने माझीलाई कोशीमा माछा मार्न इजाजत दिने गरेकाले नदीमा डुङ्गा लिएर हिंड्नेको संख्या बाक्लो छ । १७५ वर्गकिलोमिटर आरक्ष क्षेत्रमध्ये जलचराको वासस्थान रहेको ६० वर्गकिलोमिटर क्षेत्रमा पनि पाल्तु चौपायाको बास हुन्छ । करीब १० हजारको संख्यामा गाईगोरु र हजारको संख्यामा भैंसी आरक्षको वनमा रहेको बराहक्षेत्र नगरपालिका प्रकाशपुरका चरा अवलोकनकर्ता सुभाष भुजेल बताउँछन् ।
‘स्वाम्प फ्र्याङ्कोलिन’ नामको सीम तित्रा जस्ता विश्वमै दुर्लभ मानिएका चरा यस क्षेत्रमा पाइन्छन् । बसाइँ सरेर आउने जलेवा र रैथाने सानो जलेवाको वासस्थान कोशीको खुला बगर हो । कोशीका माछा खाने र बगरमा बस्ने यी चरा हेर्न विश्वका विभिन्न देशबाट वर्षेनि ठूलो संख्यामा पर्यटक आउने गर्छन् ।
घट्दै जलपक्षी
कोशी टप्पुमा जलपक्षी मात्रै पनि १३५ प्रजातिका पाइन्थे तर यस वर्ष गणना गर्दा ४० प्रजातिका मात्रै देखिए । त्यसैगरी गत वर्षको तुलनामा यो वर्ष जलपक्षीको संख्या ६५ प्रतिशतले घटेको छ । चराका प्रजाति पनि गत वर्षभन्दा २० प्रतिशत कम पाइएका छन् ।
नेपालमा पाइने ८८८ मध्ये ५२८ प्रजातिका चरा कोशी टप्पुमा पाइन्छन् । चरा गणना गर्दै आएको संस्था हिमाली प्रकृतिका अनुसार २०७५ मा ५० प्रजातिका ६ हजार ९६९ वटा जलपक्षी गणना गरिएको थियो । २०७६ मा भने ४० प्रजातिका २ हजार ४४४ वटा मात्रै पाइएका छन् । “हरेक वर्षको गणनामा प्रजाति र संख्या घट्दै गएको छ” हिमाली प्रकृतिका चराविद् सञ्जीव आचार्य भन्छन्, “कोशी टप्पुका लागि यो दुःखद कुरा हो ।”
उनका अनुसार २०७४ सालमा चरा गणना गर्दा आरक्षमा ५५ प्रजातिका ५ हजार ९६४ को संख्यामा चरा पाइएको थियो । २०७३ मा भन्दा २०७४ मा २ हजार ६१५ चरा कम पाइएको थियो । २०७३ मा ५७ प्रजातिका ८ हजार ५६१ चराको अभिलेख राखिएको थियो । २०७२ मा ५६ प्रजातिका ३ हजार ७७० चरा फेला परेका थिए भने २०७१ मा गरिएको गणना अनुसार ५५ प्रजातिका ५ हजार ९१२ प्रजातिका चरा फेला परेका थिए । कोशी टप्पुमा सन् १९८७ बाट चरा गणना गरिंदै आएको छ ।