राष्ट्रियसभामा प्रदेश १ बाट नेकपाका तीनैजना विजयी
राष्ट्रियसभा सदस्यका लागि प्रदेश १ मा भएको निर्वाचनबाट तीनैजना नेकपाका उम्मेदवार बिजयी भएका छन् ।
दलिततर्फ गोपीबहादुर सार्की अछामी, महिलातर्फ इन्दिरा गौतम र अन्यतर्फ देवेन्द्र दाहाल विजयी भएका छन् । विजयी अछामीले प्रदेशसभा सदस्यबाट ६७ र स्थानीयतहबाट १७३ मत प्राप्त गरे ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निरबहादुर विश्वकर्माले प्रदेशसभा सदस्यबाट २१ र स्थानीयतहबाट ९५ मत पाएका छन्।
विजयी दाहालले भने प्रदेशसभा सदस्यबाट अछामी भन्दा २ कम ६५ मत पाएका छन् । स्थानीयतहबाट भने उतिनै मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका
राजेन्द्रकुमार घिमिरेले २२ मत पाएका छन् । संघीय समाजवादी पार्टीका तीनैजना उम्मेदवारले प्रदेशसभाबाट ४ र स्थानीयतहबाट १८ मत पाएका छन् ।
विजयी तीनैजनालाई बिहीबार बेलुका जिल्ला निर्वाचन कार्यालय मोरङमा नेताहरूले अबिरमाला लगाएर बधाई दिएका छन् । बधाई दिन कानून मन्त्री भानुभक्त ढकाल पनि निर्वाचन कार्यालय पुगेका थिए ।
९३ जना प्रदेशसभा सदस्य मध्ये अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी गुलेफुन मियाले मतदान गरिनन् । स्थानीय तहका प्रमुख, उपप्रमुख २ सय ७४ मध्ये २ जनाले मतदान गरेनन् ।
सोलुखुम्बूको खुम्बू पासाङल्हामु गाउँपालिकाका प्रमुख ङिमजोर्जी शेर्पा र संखुवासभाको सिलिचोङ गाउँपालिका उपप्रमुख लालकुमारी राई मतदानमा अनुपस्थित रहे ।