किसानको रकम भुक्तानी नगर्ने उखु मिलको आर्थिक कारोबार रोक्का हुने
उखु किसानको रकम भुक्तानी नगर्ने उखु मिलहरुको आर्थिक कारोबार रोक्का हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पत्रकार सम्मेलन गरेर गत १८ पुसमा उखु किसानहरुसँग गरेको सम्झौताअनुसार भुक्तानी नगर्ने उद्योगहरुहो आर्थिक कारोबार रोक्ने बताएको हो ।
उद्योगहरुबाट रकम भुक्तानी गराउने पहल भइरहेको र केही उद्योगहरु अझै सम्पर्कमा नआएकोले आर्थिक कारोबार रोक्का गर्न लागिएको जानकारी मन्त्रालयले दिएको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिनेश भट्टराईले अन्नपूर्ण सुगर एण्ड जनरल ई प्रालि, इन्दीरा सुगर एण्ड एग्रो ई प्रालि, बाबा बैजुनाथ चिनी उद्योग, लुम्बिनी चिनी उद्योग, श्रीराम सुगर मिल्स लगायतका उद्योगको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजश्व विभागमा पत्राचार गर्ने तयारी भइरहेको जानकारी दिए ।
भट्टराईले सम्पर्कमा नरहेका उद्योगहरुको बैंक खाता समेत रोक्का हुने बताए ।
मन्त्रालयले बुधबार ती उद्योगहरुलाई सम्पर्कमा ल्याइदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ । प्रवक्ता भट्टराईका अनुसार बाबा बैजुनाथ चिनी उद्योग, वाग्मती खाँडसारी चिनी मिल्स, महाकाली सुगर, लुम्बिनी चिनी उद्योगका सञ्चालकहरु सम्पर्कमा आएका छैनन् ।
उखु किसानले पाउनु पर्ने पैँसा नपाएपछि राजधानीमा आएर आन्दोलन गरेका थिए । त्यसपछि गत पुसमा मन्त्रालयले आन्दोलित उखु किसानसँग चिनी मिल सञ्चालकहरुबाट ७ माघ भित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गराउने सहमति गरेको थियो ।
सम्झौतापश्चात अन्नपूर्ण सुगर र इन्दीरा सुगरका सञ्चालक राकेशकुमार अग्रवालले ४२ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्नुपर्नेमा जम्मा ४ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेका छन् । मन्त्रालयले अग्रवालको आर्थिक कारोबार पनि रोक्का गरी अनुसन्धान गर्न लागिएको बताएको छ ।
त्यस्तै श्रीराम सुगर मिल्सले २६ करोड ७७ लाख ७८ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने भए पनि किसानसँग जग्गा विक्री गरेर भुक्तानी गर्ने सम्झौता गरेको छ । मन्त्रालयले त्यस विषयमा अनुसन्धान गर्न लागिएको जानकारी दिएको छ ।