"सहकारीका कमजोरी सुधार्छौं", मीनराज कँडेल –अध्यक्ष, राष्ट्रिय सहकारी महासंघ
राष्ट्रिय सहकारी महासंघको २७औं साधारणसभाबाट सर्वसम्मत अध्यक्ष चुनिएका मीनराज कँडेल भन्छन्, “देशका कुनाकुनाका जनतालाई सहकारी अभियानमा जोड्छौं।”
नेपाली अर्थ–सामाजिक परिवेशमा सहकारीको भूमिका कस्तो छ ?
नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा ३५ हजार सहकारी संस्थामा आबद्ध ६५ लाख सदस्यहरुले महङ्खवपूर्ण भूमिका खेल्दै आएका छन् । खासगरी आय बढाउन, गरीबी घटाउन, ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउन र रोजगारी सिर्जना गर्न सहकारीको ठूलो योगदान छ । सहकारीले जनतालाई सामूहिक आवाज दिएको छ । सहकारी क्षेत्रले वार्षिक रु.७ खर्ब बराबरको कारोबार गर्छ, यो कुल वित्तीय क्षेत्रको ३१ प्रतिशत हाराहारी हो ।
सहकारीलाई बेथिति र समस्याको घर भनेर पनि टिप्पणी गरिन्छ नि !
केही सहकारीले गरेको बदमासीका कारण सहकारी क्षेत्रको कामकारबाहीमा प्रश्न तेर्सिएको हो । हजारौंमध्ये एकाध संस्थाले गरेका कमजोरीकै आधारमा समग्र सहकारी आन्दोलनमाथि नै प्रश्न उठाउनु जायज हुँदैन । सहकारीका अन्तर्राष्ट्रिय मूल्यमान्यता अपनाएर कमजोरी सुधार्दै यो अभियान अघि बढिरहेको छ ।
सहकारी क्षेत्रले अपेक्षित लाभ किन दिएन ?
उत्पादन तथा प्रशोधनको काम गर्ने सहकारीले अपेक्षित काम गर्न नसकेको साँचो हो । अहिले ३०० भन्दा बढी सहकारी संस्थाले कृषि र उद्योगका उत्पादन र प्रशोधनका काम गरिरहेका छन् । अब सहकारी मार्फत व्यवसायीकरणको अभियान शुरु गर्छौं । कृषि र पर्यटनका मेगा प्रोजेक्टमा पनि हात हाल्छौं ।
नेपालमा सहकारी अभियानको भविष्य कस्तो देख्नुहुन्छ ?
नेपालको संविधानले नै सहकारीलाई अर्थतन्त्रको मुख्य खम्बामध्ये एक मानेको छ । छरिएर रहेका पूँजी, सीप र क्षमतालाई एकीकृत गरी नागरिकको जीवनस्तर उठाउन, रोजगारी सिर्जना गर्न र उत्पादनमूलक क्रियाकलाप अघि बढाउन सहकारी सबैभन्दा प्रभावकारी हुनसक्छ । उत्पादन, प्रशोधन र बजारीकरण गर्न सहकारी अभियानलाई गाउँगाउँसम्म विस्तार गरे भविष्य राम्रो छ ।
राष्ट्रिय सहकारी महासंघको भावी योजना के छन् ?
निजी क्षेत्र र राज्यसँग मिलेर सार्वजनिक–निजी–सहकारी साझेदारी (पीपीसीपी) को अवधारणा अघि बढाउन पहल गर्छौं । सहकारीमैत्री ऐन, कानून बनाउन ‘लबिङ’ गर्छौं । गाउँगाउँका जनतालाई यो अभियानमा जोड्दै गरीबी घटाउन र रोजगारी सिर्जना गर्न पहल गर्छौं ।