ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत एकीकृत जाँचचौकीको शुभारम्भ
प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरस्थित एकीकृत भन्सार जाँचचौकीको भिडियो कन्फ्रेन्समार्फत संयुक्तरुपमा शुभारम्भ गरेका छन् ।
प्रधानमन्त्री ओलीले सिंहदरबार र उनका भारतीय समकक्षी मोदीले दिल्लीबाट एकै समयमा शुभारम्भ गरेका हुन् ।
नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी आज हस्तान्तरण गरेको हो। विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघा क्षेत्रमा तयार गरिएको छ ।
चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माण सन् २०१६ देखि शुरु भएको हो ।
विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेको जोगबनी बजार पनि सहज हुने र सवारीको चाप स्वतः घट्ने छ ।