राजीनामापछि शिवमायाले भनिन्– पितृसत्ताको परीक्षण भयो
संसद सचिवालयमा उपसभामुख पदबाट राजीनामा बुझाए पछि डा.शिवमाया तुम्बाहाङफेले संसद भवनको शंकर हलमा पत्रकार सम्मेलन गरिन् । “म आज नयाँ अनुभूत गर्दैछु, र खुशी छु”, पत्रकार सम्मेलनमा उनले भनिन् ।
झण्डै २० मिनेट बोलेकी उनले पाँच वर्षे कार्यअवधि दुई वर्षमै सकिएकोमा खुशी भएको बताइन् । सभामुख पदकै लागि दाबेदार रहेकी तुम्बाहाङ्फेले पत्रकार सम्मेलनमा भने खुशी नभएको बताइन् ।
आफूले टेकेको धरातलको राम्रो याद भए पनि विधि र संसदीय रिक्ततता आउन नदिन अडान लिएको सांसदहरुलाई सम्बोधनका क्रममा बताएकी उनले पत्रकार सम्मेलनमा भने ‘यूटर्न’ हुने बताइन् ।
“एउटा कुराकाे परीक्षण गर्नु थियो । नेपालको सन्दर्भमा पितृसत्ताको कुरा गरिरहेका छौं । सोंच मात्र होइन, संस्थागत रुपमा याे अगाडि बढेको छ । एक/दुई जना लागेर मात्रै यो संस्था उन्मूलन गर्न सकिंदैन”, उनले भनिन् ।
“कामको ट्र्याक आजैबाट चेन्ज गर्दैछु, संस्था जोगाएरै पद त्यागें, त्यसैमा खुशी छु”, उनले भनिन् ।
यूटर्न के हो भन्ने प्रश्नमा उनले भनिन्, “युटर्न, नयाँ ट्रयाक र मेरो लक्ष्य यी तीन कुरा अहिले भन्दिन । कुनै बेला भन्ने दिन आउँछ, सँझेर राख्नुहोला ।”
ससर्त वा निसर्त राजीनामा भन्ने सन्दर्भमा उनले भनिन्, “मेरो राजीनामाको अडान संस्था जोगाउनु थियो । मैले लडाईँ जितें । यसलाई मैले लडाईं भन्न मन पराएँ ।” उनलाई मन्त्री बनाउने चर्चा चलेको थियो ।
उनलाई निर्वाचन गराउने नेकपासँग जोडेर गरिएको प्रश्नमा उनले भनिन्, “म दलको उपभामुख थिइनँ । मैले मार्ग प्रशस्त नगरे महाअभियोग लगाउने बाहेक अर्को बिकल्प पनि थिएन । तर, दलीय प्रणालीलाई सम्मान गरेँ ।”
पितृसत्ताको परीक्षण !
उपसभामुख भएपछि सार्वजनिक मन्तव्यबाटै ‘पितृसत्ता’, राजसंस्था भन्दा बलियो र डरलाग्दो रहेको बताएकी उनले पत्रकार सम्मेलनमा भने फरक ढंगले प्रस्तुत भइन् । “एउटा कुराकाे परीक्षण गर्नु थियो । नेपालको सन्दर्भमा पितृसत्ताको कुरा गरिरहेका छौं । सोंच मात्र होइन, संस्थागत रुपमा याे अगाडि बढेको छ । एक/दुई जना लागेर मात्रै यो संस्था उन्मूलन गर्न सकिंदैन”, उनले भनिन् ।
महिलालाई अगाडि बढ्न छेकबार लगाउने कुरा हटाउने गरी कलमहरु अझै धेरै चल्नुपर्ने आवश्यकता रहेकाले उनले पत्रकारहरुसँग आग्रह समेत गरिन् । भनिन्, “छेकबार हटाउँदै जानुपर्छ ।” नेकपा नेतृत्व समक्ष आफ्नो दावी स्वभाविक रहेको उनले बताइन् ।
उपसभामुख हुँदाको दुई वर्षमा संविधान र कानुन अनुसार गर्नुपर्ने काम गरेको तुम्बाहाङ्फेले बताइन् ।
आफ्नो बारे लेखिएका सकारात्मक समाचारले हौसला दिएको उनको भनाइ थियो । पत्रकार सम्मेलनस्थलमा तुम्बाहाङ्फे महिला सांसदहरु गोमा देवकोटा, विन्दा पाण्डे, विद्या भट्टराई, सरिता न्यौपाने लगायत सँगै आएकी थिइन् ।