ए डिभिजन लिगः ठुला क्लब, कमजोर टिम
मनाङ मस्र्याङ्दी र थ्रीस्टार क्लबले घरेलु फूटबलमा राज गरेको दुई दशकभन्दा बढी भइसकेको छ । आठ पटकको लिग विजेता मनाङ र पाँच पटकको विजेता थ्रीस्टारबीचको खेल जहिल्यै रोमाञ्चक हुन्छ ।
दशरथ रङ्गशालामा मात्र नभई काठमाडौं बाहिरका प्रतियोगितामा पनि यी दुई क्लबबीचको खेल हेर्न आउने दर्शकले पारापिट भरिभराउ हुन्छ । देशभरि हुने गोल्डकप फूटबल प्रतियोगितामा आयोजकले नछुटाउने ए डिभिजनका दुई क्लब पनि थ्रीस्टार र मनाङ नै हुन् । यी दुई क्लबले नै अधिकांश प्रतियोगिताका उपाधि जितेका छन् ।
तर, यसपालि शहीद स्मारक ए डिभिजन फूटबल लिगका दृश्य फरक छन् । ठूला खेलाडी भित्याउन तँछाडमछाड गर्ने यी क्लबले आफ्नो पहिचान अनुरुपको राष्ट्रिय खेलाडी लिन रुचि देखाएनन् । बरु आफ्नो क्लबमा भएका चर्चित खेलाडीलाई समेत मुक्त गरिदिए । राष्ट्रिय टोलीमा सम्मिलित मनाङका सात खेलाडी यसै सिजनमा मच्छिन्द्र क्लब गए ।
लिगका लागि मनाङ र थ्रीस्टारले मध्यमस्तरका युवा खेलाडीलाई अनुबन्ध गरे । लिगको छैटौं चरणका खेल समाप्त हुँदासम्म दुवै क्लब शीर्ष स्थानको प्रतिस्पर्धामा तल परेका छन् । मनाङ १२ अंकसहित तेस्रो र थ्रीस्टार १० अंकसहित चौथो स्थानमा छन् । दुवै टोलीको प्रदर्शनबाट समर्थक खुशी छैनन् । लिगका खेलहरूमा दर्शकदीर्घा खाली हुनुको एउटा कारण नाम चलेका क्लबहरूको निराशाजनक प्रदर्शन पनि हो ।
एन्फासँगको असन्तुष्टि
यी क्लबले आफ्नो प्रतिष्ठा अनुरुप टोली नबनाएर लाखौं समर्थकहरूको चित्त दुखाउनुका पछाडि धेरै कारण छन् । दुवै क्लबले आर्थिक व्यवस्थापनमा जोखिम लिन नचाहँदा मध्यमस्तरका खेलाडी अनुबन्ध गरे । क्लबहरूलाई जोगाउने अभियानमा अखिल नेपाल फूटबल संघ (एन्फा) गम्भीर नभएको आरोप पनि छ । मनाङका अध्यक्ष छिम्मी उर्केन गुरुङ भन्छन्, “किन क्लबमा लगानी गर्ने भनेर हामी आफैंसँग प्रश्न गरिरहेका छौं । लिगमा गोलमटोल नियम लगाउने एन्फा कुन उद्देश्यबाट प्रेरित छ भन्ने हामीले बुझेका छैनौं ।”
मनाङ गत वर्षको लिगदेखि नै एन्फासँग असन्तुष्ट छ । गत वर्ष लिग च्याम्पियन हुँदा मनाङलाई रु.५० लाख पुरस्कारमा २५ प्रतिशत कर काटेर दिइएको थियो । तर, कर काटिएको रसिद क्लबलाई दिइएको छैन । पुरस्कार घोषणा हुँदा करबारे क्लबहरूलाई जानकारी पनि नगराइएको गुरुङ बताउँछन् । जबकि २०७० सालमा भएको लिगमा विजेतालाई रु.७५ लाख दिइएको थियो । त्यसपछि लगातार चार वर्ष लिग नै आयोजना भएन ।
गत वर्ष रेलिगेशन विनाको लिग खेलाएको एन्फाले यो साल एउटा मात्र क्लब रेलिगेशनमा पर्ने नियम बनाएको छ । यो व्यवस्थाप्रति पनि मनाङ सन्तुष्ट छैन । अध्यक्ष गुरुङ भन्छन्, “हामी लिगलाई उँचाइमा पुर्याउने प्रणाली स्थापित गर्नुपर्छ भन्छौं तर, प्रणाली नै स्थिर छैन । यहाँ खेलाडीको भाउ बढिरहेको छ भने क्लबले पाउने पुरस्कार घटिरहेको छ ।” उनले क्लब बाँच्न सक्ने आधार बनाउनतिर एन्फाले ध्यान नदिएको बताए । दर्शक विनाको रङ्गशालामा खेलिरहँदा पनि एन्फा गम्भीर नभएको उनी बताउँछन् ।
ए डिभिजन लिगका सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दी र थ्रीस्टारले यसपटक बलियो टिम नबनाउँदा त्यसको असर पारापिटमा देखिएको छ। दर्शक घटेका छन्।
थ्रीस्टारका प्रशिक्षक मेघराज केसी लिगप्रतिको आकर्षण घट्नुमा पुरस्कार राशि कम हुनु पनि एउटा कारण रहेको बताउँछन् । उनी भन्छन्, “राम्रो टिम बनाउन डेढ करोड रुपैयाँ भन्दा बढी लगानी लाग्छ । लिग जितेमा पनि कर काटेर साढे ३७ लाख रुपैयाँ पाइन्छ । बाँकी खर्च जुटाउन गाह्रो भएकोले यो वर्ष युवा खेलाडीहरूलाई लिएर टिम बनाएका हौं ।”
तर, एन्फा अधिकारीहरू लिगमा लगानी घटेको तर्कसँग सहमत छैनन् । एन्फाले पुरस्कार राशि घटाए पनि प्रत्येक क्लबलाई रु.२० लाख तयारी स्वरुप दिएको छ । ठूला मात्र होइन साना क्लबलाई समेत सहज बनाउन यसो गरिएको लिगका निर्देशक सञ्जीव मिश्र बताउँछन् । उनी भन्छन्, “लिगलाई राम्रो बनाउनु सबैको साझा जिम्मेवारी हो । जस्तै मच्छिन्द्रले यसपालि बलियो टिम बनायो र लगानी उठाउने रणनीति पनि बुनेको छ । सबै क्लब त्यसरी नै अगाडि बढे खेल व्यावसायिक हुन्छ ।”
राष्ट्रिय खेलाडीको व्यस्तता
ए डिभिजन लिगपछि राष्ट्रिय खेलाडी विश्वकप छनोट खेलको तयारीमा व्यस्त हुनेछन् । विश्वकप छनोटअन्तर्गत दशरथ रङ्गशालामा हुने ‘होम म्याच’ मा नेपाल २६ मार्चमा चाइनिज ताइपेईसँग, ३१ मार्चमा अष्ट्रेलियासँग र २६ अप्रिलमा जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । एन्फा केन्द्रीय सदस्य तथा राष्ट्रिय टोलीका व्यवस्थापक मधुसूदन उपाध्यायका अनुसार लिग सकिने वित्तिकै राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शुरु हुनेछ ।
लिग सकिने बित्तिकै विभिन्न जिल्लामा नकआउट फूटबल प्रतियोगिताहरू पनि शुरु हुँदैछन् । तर, बन्द प्रशिक्षणमा रहने राष्ट्रिय खेलाडीहरू ती प्रतियोगिताका लागि उपलब्ध हुने छैनन् । त्यसको प्रत्यक्ष असर राष्ट्रिय टोलीका खेलाडी अनुबन्धित गरेका क्लबमा पर्नेछ । यसपालि ठूला क्लबले राष्ट्रिय खेलाडी मुक्त गरेर मध्यमस्तरका युवा खेलाडी भित्याउनुको कारण यो पनि हो ।
यसपालि लिग विजेता टोलीले विगतमा जस्तै एएफसी प्रेसिडेन्ट्स कप प्रतियोगिता खेल्न पाउने छैन । एशियाली फूटबल महासंघ (एएफसी) ले यो वर्षबाट लागू गरेको क्लब लाइसेन्सिङ प्रणाली अन्तर्गत नेपालका ए डिभिजन क्लबले निश्चित शर्तहरू पूरा गर्न नसकेपछि प्रेसिडेन्ट्स कपको सहभागिता रोकिदिएको छ । त्यही कारण पनि राष्ट्रियस्तरका खेलाडीमा महङ्गो लगानी नगरेको थ्रीस्टारका प्रशिक्षक केसी बताउँछन् ।
थ्रीस्टारकै अध्यक्ष अरुणमान जोशी भने लिगका सम्पूर्ण क्लबमा खेलाडी बाँडिए झन् प्रतिस्पर्धात्मक हुने तर्क गर्छन् । त्यही कारण आफ्नो क्लबले ‘स्टार’ खेलाडी फुकुवा गरेको उनको दाबी छ ।
फूटबलको मेरुदण्ड मानिने राष्ट्रिय लिग आधुनिक फूटबलमा करोडौंको कारोबार हुने स्थान पनि हो । यसको मुख्य सरोकारवाला पक्ष क्लबहरू नै हुन् । तर, ती क्लब हतास हुँदै जाँदा लिगको भविष्य मात्र नभई समग्र फूटबलको विकास धरापमा पर्छ ।