पूर्णिमाया भन्छिन्, “अब त आशै टुट्यो”
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभाको नयाँ सभामुखमा उम्मेदवार बनाइएका अग्निप्रसाद सापकोटामाथि काभ्रेका अर्जुन लामा हत्याको आरोपमा परेको मुद्दा किनारा लागेकै छैन ।
काभ्रेको जिल्ला अदालत हुँदै सर्वोच्च अनि संवैधानिक इजलास पुगेको मुद्दाको अन्तिम फैसला २५ पुसमा तय गरिएको थियो । तर, एकाएक २२ माघमा सारिएको छ। तर, भोलि ६ माघमा नै सभामुख निर्वाचन प्रक्रिया शुरु हुने र सापकोटा सभामुख बन्ने निश्चितप्रायः भइसकेको छ।
आफ्ना श्रीमानका हत्या–आरोपी र अदालतबाट सफाइसमेत पाइनसकेका अग्निप्रसाद सापकोटा सभामुख बनिरहँदा लामापत्नी पूर्णिमाया लामालाई कस्तो महशुस भइरहेको छ त ? उनकै शब्दमाः
आज भर्खर काठमाडौंबाट गाउँ (काभ्रेको दाप्चा) आएको । भर्खरै सावित्री दिदी (सावित्री श्रेष्ठ) ले फोन गरेर समाचार सुनाउनुभयो । मेरो बुढा (अर्जुन लामा) लाई मार्ने मान्छे झन् ठूलो मान्छे भएछ ।
२०६२ साल १६ वैशाखमा स्कूलको निर्विरोध अध्यक्ष बनेपछि बैठक बस्न लाग्दा कुरा गर्नु छ भन्दै बुढालाई माओवादीले अपहरण गरेका थिए । त्यसपछि दुई महीनासम्म भारी बोकाएर, भात पकाउन लगाएर अनेक यातना दिएर मारेछन् ।
मैले सुनेको काभ्रेकै डाडाँगाउँ, बुढाखानीमा दिउँसो आफैंलाई खाल्डो खन्न लगाएर राति त्यही खाल्डोमा जिउँदै पुरेछन् । प्राण भएको मान्छेलाई ! पुर्नुभन्दा पहिले कुखुराको मासुभात खान दिएका थिए रे । बुढाले खाएनन् रे ।
पछि त्यही माओवादीका गार्ड बसेकाहरुले मलाई सुनाए । यसरी मारेका भने । मैले न लाश देखें, न केही । कहिले त्यो ठाउँमा गइनँ पनि । अहिले पनि गएको छैन । मेरो बुढालाई मार्ने निर्णय मिटिङ बसेर गरेका थिए रे । मिटिङमा निर्णय गर्ने अग्निप्रसाद सापकोटा नै थिए रे ।
मैले एकचोटि अदालतमा सापकोटालाई देखें । मेरो बुढा खोई ? भन्दै कराउन थालें । उसका गार्डले मलाई रोके । ऊ हतारहतार भाग्यो, गाडीभित्र पस्यो ।
गल्ती गरेको भए पो डराउनू । गल्ती उनीहरुले गरेका छन् । डराउँछन् ।
पहिल्यै उजुरी दिएको । सर्वोच्च अदालतले पनि फैसला दिएको छ । तर, पनि उसलाई कसैले पक्रिएन । काभ्रे पुलिसले पनि मन्त्री भइसकेको मान्छेलाई कसरी पक्रनू, भन्यो ।
मानव अधिकार, अदालत धेरै तिर कति पटक भनें, कति पटक आन्दोलन पनि गर्यो । तर, कसैले केही गरेन । हाम्रो मान्छे मरेको छ । तर, जताततै उनीहरुकै जित छ। पहिले पनि सांसद, मन्त्री त भएकै हो । अहिले त त्योभन्दा ठूलो मान्छे भयो रे । अब त आशै टुट्यो ।