बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेघनले शाही उपाधि परित्याग गरेको निर्णयले औपचारिक मान्यता पाएको छ ।
बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उनीहरुको आग्रहअनुसार शाही उपाधि परित्याग गर्ने घोषणालाई औपचारिकता दिएको हो ।
ह्यारी दम्पत्तिले केही दिन अगाडी शाही उपाधि त्यागेर छुट्टै सार्वजनिक जीवन विताउने र सामाजिक सेवाको काम गर्ने घोषणा गरेका थिए । शाही दरबारमा शनिबार बसेको बैठकले चरण चरणका छलफल र प्रयासहरुलाई आधार मानेर उहाँहरुको घोषणालाई स्विकृति दिने निर्णय गरेको हो ।
शाही दरबारको यो निर्णयसँगै उनीहरुको शाही उपाधि अन्त्य हुने सुनिश्चत भएको छ । तर आगामी बसन्त ऋतुदेखि मात्रै सो उपाधि प्रयोग नगर्ने निर्णय कार्यान्वयन हुने भएको छ । बेलायती महारानी एलिजावेथ द्धितियाका नाती ह्यारी र अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता मेगनको शाही परिवारबाट बहिर्गमनको विषयलाई ह्यारीकी आमा स्वर्गीय डायनाको शाही परिवार परित्यागको विषयसँग जोडेर हेरिएको छ ।
“महिनौदेखिको कुराकानी, पछिल्ला धेरै छलफलहरुपछि रचनात्मक र सहयोगात्मक कामहरु गर्ने मेरो नाती र परिवारको निर्णयबाट म प्रशन्न छु,” ९३ बर्षिय महारानीले वक्तव्यमा लेखेकी छन् । उनले भनेकी छन्, “ह्यारी, मेगन र उनीहरुका छोरा आर्ची सधैँ हाम्रो परिवारका प्रिय सदस्य रहनेछन्, पछिल्ला दुई वर्षमा कडा निगरानीका कारण उनीहरूले चुनौतीको सामना गर्नुपर्यो । म उनीहरूको थप स्वतन्त्र जीवन जिउने चाहनाको समर्थन गर्छु ।”
दरबारका अनुसार उनीहरूको शाही उपाधि हटेपछि पाउने सैन्य पद पनि हट्ने, नागरिकको करबाट आउने रकम नपाउनेलगायतका घोषणा गरेको पनि वक्तव्यमा उल्लेख गरिएको छ । दरबारको यो निर्णयसँगै उनीहरु अब राजपरिवारका औपचारिक सदस्य नरहने वक्तव्यमा जनाइएको छ ।
ह्यारी दम्पतिले राजपरिवारको भूमिका परित्याग गरेपछि बेलायत र उत्तर अमेरिकामा आफ्नो समय बिताउने बताएका छन् । केही समयको प्रेम सम्वन्धपछि उनीहरुले २०१८ मा विवाह गरेका थिए।