कांग्रेसमा वंश विरासतकाे टक्कर
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा १७ पुसमा केन्द्रीय कार्य समिति बैठक मुख्यालय सानेपामा बसिरहँदा महामन्त्री डा.शशांक कोइराला निवास महाराजगञ्जमा समानान्तर बैठक चलिरहेको थियो । सानेपा बैठकले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार चयन गर्ने जिम्मेवारी पदाधिकारीलाई दिने निर्णय ग¥यो । यता महाराजगञ्ज बैठकले २१ पुसमा आफू निकट जिल्ला सभापतिहरूको भेला बोलायो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूह सहभागी नभएको १९ पुसको पदाधिकारी बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि १६ उम्मेदवारको नाम टुङ्ग्यायो ।
त्यसअघि ११ पुसमा बसेको बैठक पनि पौडेल र सिटौला समूहले बहिष्कार गरेका थिए । तर, त्यही बैठकले पार्टीको १४औं महाधिवेशन ७–१० फागुन २०७७ मा गर्ने, विभाग संख्या २८ बाट ४७ बनाउने र तरुण दलको म्याद ६ महीना थप्ने निर्णय गरेपछि कांग्रेसभित्रको किचलो झ्न् बढ्यो ।
गुट बलियो बनाएर राजनीतिक लाभ लिने संस्कार संस्थागत हुँदा कांग्रेसमा केन्द्रीय कार्यसमिति बैठक बहिष्कारको शृंखला चलेको छ।
कांग्रेस नेता दीपकुमार उपाध्याय महाधिवेशन केन्द्रित गतिविधि अगाडि बढेकाले विवाद सजिलै हल नहुने बताउँछन् । उनी भन्छन्, “दुवै पक्षको ध्यान महाधिवेशनको नतिजा आफ्नो पक्षमा पार्नेतिर केन्द्रित भइसक्यो, व्यक्ति र गुटभन्दा माथि उठ्न नसक्दा कांग्रेसमा समस्या बढ्दै गएको छ ।”
संस्थापनबाट एकपक्षीय रूपमा महाधिवेशनको मिति घोषणा गर्ने गल्ती भएपछि असन्तुष्ट पक्ष निष्पक्ष निर्वाचनको ग्यारेन्टी गराउनेतर्फ लाग्नुभन्दा गुट बलियो बनाउने गतिविधिमा लाग्नु गलत भएको उपाध्यायको तर्क छ ।
विश्लेषक जुगल भुर्तेल परम्परागत चिन्तन र कार्यशैलीमा परिवर्तन आउन नसक्दा कांग्रेस थप जटिलतातिर धकेलिएको बताउँछन् । उनी भन्छन्, “सानै गुटमा इमानदार हुँदा पार्टी नेता र प्रधानमन्त्रीसम्मको ठूलै पुरस्कार पाउने भएपछि कांग्रेस नेताहरू सिङ्गो पार्टीको नेता हुने हिम्मत देखाउन सकिरहेका छैनन् ।”
वंश विरासतको टक्कर
असन्तुष्ट पक्षको २५ मंसीरमा प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको बैठकले महाधिवेशन मिति अजेण्डा नबनेसम्म केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो । त्यसपछि असन्तुष्ट पक्षका नेताहरूको जमघट हुने मुख्यस्थल नै चाक्सीबारी बन्यो ।
त्यसबाहेक महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा पनि असन्तुष्ट पक्षको भेला हुने गरेको छ । प्रकाशमान गणेशमान सिंहका छोरा हुन् भने कोइराला बीपी पुत्र । सिंह र कोइरालाबाहेक गिरिजापुत्री सुजाता कोइराला, केशव–नोना पुत्र शेखर कोइराला पनि असन्तुष्ट पक्षको गुटका मुख्य नेता हुन् ।
कांग्रेसभित्र देखा परेको किचलो हल गर्न दुवै पक्ष गएको ३० मंसीरमा वार्तामा बसेका थिए । असन्तुष्ट पक्षको नेतृत्व नेता सिंहले गर्दा संस्थापनको नेतृत्व उपसभापति विमलेन्द्र निधिले गरेका थिए । विमलेन्द्र कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिका छोरा हुन् । असन्तुष्ट पक्षमा वंश विरासत बोकेका नेता जति शक्तिशाली छन् निधि पनि संस्थापन पक्षमा उति नै शक्तिशाली मानिन्छन् । २०३५ सालमै नेविसंघ सभापति बनेका निधिले देउवालाई लामो समयदेखि साथ दिंदै आएका छन् । २०५९ सालमा पार्टी विभाजन हुँदा देउवाले उनलाई नेपाली कांग्रेस (प्रजातान्त्रिक) को महामन्त्री नै बनाएका थिए ।
आफ्नो गुट जोगाएकै कारण पार्टी सभापति र प्रधानमन्त्री जस्ता सफलता हात पारेका देउवा हरेक जसो निर्णयमा निधिको सुझव लिन्छन् । उनी निकट एक नेताका अनुसार सभापति देउवाले गुटभित्र पनि निधिको कुरा धेरै सुन्छन् । २३ पुसमा केन्द्रीय मुख्यालय सानेपामा सकिएको असन्तुष्ट पक्षको जिल्ला सभापतिको भेलाका सहभागीलाई देउवा निवास बूढानीलकण्ठ लैजाने भूमिकामा समेत निधि नै देखिए ।
वंश विरासतको लाभसँगै पार्टीकै नेतृत्व गर्न सक्ने राजनीतिक हैसियत बनाएका नेताहरू परम्परागत गुटबाट बाहिर निस्कन नसक्दा कांग्रेसमा गतिरोध बढ्दै गएको भुर्तेलको विश्लेषण छ । नेतृत्वका लागि योग्य नेता नै ‘फाइल बढुवा’ को पर्खाइमा हुँदा गुट बलियो भएको उनको भनाइ छ ।
असन्तुष्ट पक्षले १२ पुसमा गरेको पत्रकार सम्मेलनमा सिंह र महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई बीचमा राखेका थिए । तर, २३ पुसको पत्रकार सम्मेलनमा भने सिंहको ठाउँमा सिटौला बसे । असन्तुष्ट नेताहरूलाई एक ठाउँमा उभ्याउन सिंहको भूमिका महत्वपूर्ण रहेको उनी निकट नेताहरू बताउँछन् ।
कांग्रेसका युवा नेता रामहरि खतिवडा क्षमतावान् नेताहरूले सरकारी कर्मचारी जस्तो ‘फाइल बढुवा’ को आशा तोड्ने हिम्मत गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, “कांग्रेसमा वंश विरासतको लाभ पाएकाहरू समेत गुटकै भरिया बन्दा नयाँ पुस्ता आकर्षित नभएको हो ।” गुटहरू बलियो बन्दा पार्टीभित्र किचलो झ्नै गहिरिएको कांग्रेस नेताहरू नै बताउँछन् ।