दश रुपैयाँमै खाना !
रु.१० मा खाना ! त्यो पनि आजको महँगो समयमा ?
असम्भव लाग्ने काम सम्भव गराएका छन्, नेपालगञ्ज सदरलाइनका नरेश अग्रवालले । अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’ पछि गत कात्तिक देखि रु १० मै खाना दिने खुवाउन थालेका हुन् ।
सदरलाइनस्थित नगर भवनअगाडि मङ्गलबार र शनिबार ‘मेस’ चलाएर रु.१० मै एक छाक खाना बाँड्ने गरिएको छ । पाँच सय सम्म सर्वसाधारण खाना खान पुग्छन् ।
“आफूले कमाएको पैसा महँगो खानाको जोहो गर्नै मुस्किल पर्नेलाई राहत त दिएको छ नै, खानाकोे गुणस्तरमा कुनै सम्झौता नगर्ने भएका कारण अरू पनि खाना खान पुग्छन्, खानामा भात, दालका साथै मिठाई पनि दिइन्छ”, उनले भने ।
उनन्सत्तरी वर्षीय अग्रवाल नेपालगञ्जका चिनिएकै व्यवसायी हुन् । उनले २०५० सालदेखि रामदूत स्टेशनरी सञ्चालन गर्दै आएका थिए । लामो समय व्यवसायमा संलग्न रहेका अग्रवालले यतिबेला भने ‘रिटायर्ड’ जीवन बिताइरहेका छन् ।
“छोराहरु व्यवसायमै छन्, म पुण्यको कामतिर लाग्छु भनेर यो काम शुरु गरेको हुँ”, अग्रवालले भने ।