प्रदेश १ मा सार्वजनिक स्थलमा सुर्ती खानेलाई कारबाही
सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कारवाही गरिने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् ।
स्वस्थ्य जीवन प्रवद्र्धन अभियान अन्तर्गत सुर्तीजन्य पदार्थको नियन्त्रणका बारेमा शुक्रबार विराटनगरस्थित मन्त्रालयमा भएको सरोकारवालाहरूसँगको बैठकमा मन्त्री घिमिरेले आगामी १ फागुनबाट प्रदेशमा कानून कार्यान्वय गरिने बताए । प्रदेशमा पहिले मोरङ जिल्लाबाट कारवाही थालिने घिमिरेले जानकारी दिए ।
“कानून बनेको ८ वर्ष भयो कार्यान्वयन भएको छैन, प्रहरी र प्रशासनको सहयोग लिएर सार्वजनिक ठाउँमा सुर्ती सेवन गर्नेलाई कारवाही गरिन्छ”, मन्त्री घिमिरेले भने ।
उनका अनुसार, शैक्षिक तथा स्वास्थ्य संस्था, सरकारी कार्यालय र मठ–मन्दिर आसपास सय मिटरको दूरीमा सुर्तीजन्य वस्तुु बिक्री र सेवन प्रतिबन्ध गरिने छ ।
यी संस्थाहरूले १ सय मिटरभित्र सुर्तीजन्य वस्तु बिक्री र सेवन नगर्न सचेत गराउँदै सूचना जारी गर्नेछन् । त्यसअघि प्रदेशभरि जानकारी दिन यही ६ माघमा विराटनगरमा सचेतनामूलक ¥याली निकालिने भएको छ । मोरङमा कारवाही थालिएपछि आगामी १ वैशाखबाट प्रदेशका १४ वटै जिल्लामा कारवाही थालिने मन्त्री घिमिरेको भनाइ छ ।
विद्यालय आसपासमा सुर्ती, चुरोट र गुट्खाको बिक्रीले विद्यार्थीमा प्रयोग बढेको शिक्षकहरूले मन्त्री घिमिरेलाई जानकारी दिए । सुर्तीजन्य वस्तु नियन्त्रण मन्त्रालयबाटै शुरु भएको थियो । मन्त्री घिमिरेले मन्त्रालय प्रवेश गर्ने व्यक्तिका खल्ती तीन महीनासम्म गेटमा रहेका चौकीदारले चेक गरेको जानकारी दिए ।
“मन्त्रालय आउने व्यक्तिका खल्तीबाट ड्राम भरिने गरी सुर्तीजन्य वस्तु फेला परेको थियो” उनले भने–“मन्त्रालय प्रवेश गर्नेले सुर्तीजन्य वस्तु बोक्न छाडेकाले चेकजाँच रोकिएको छ ।” स्वस्थ्य जीवनका लागि ३ प्रतिशत नेपालीले मात्रै फलफूल खाने गरेको बताउँदै मन्त्री घिमिरेले भने– “हुनेखानेले पनि फलफूल खाँदैनन् बरु ब्वाइलरको मासु खान्छन् ।” उनले दूध नखाई मदिरा खाने चलन पनि रहेको बताए ।