‘त्यसपछि प्रचण्डजीले कहिले पार्टी सदस्य बन्नुभयो भनेर सोध्नुभयो’
बलात्कार प्रयास आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको बहिर्गमनसँगै उपसभामुख शिवमाया तुम्बाहाङफेको पद पनि ‘संकट’मा परेको छ । विगतमा एमाले र माओवादी केन्द्रले सभामुख र उपसभामुख पद बाँडेको तर अहिले दुवै पार्टी एकै भएकाले एउटै पार्टीले दुवै पदमा रहन नमिल्ने संवैधानिक बाध्यता देखाउँदै नेकपाले शिवमायाको राजीनामा मागिसकेको छ । तर, पछिल्लो समय सभामुखमा शिवमाया नै उपयुक्त हुने स्वर बढेका छन् । नागरिक समाज, अधिकारकर्मी लगायत सामान्य नागरिकमा समेत ‘महिला हिंसा गर्ने सभामुखको दोष उपसभामुख शिवमायाले पाउन नहुने’ मत चुलिएको छ । स्वयं उपसभामुख शिवमाया पनि आफूमाथि पार्टीबाटै पितृसत्ता–उपज राजनीतिक हिंसा गर्न खोजिएको आरोप लगाइरहेकी छन् । हिमालखबरसँग उपसभामुख तुम्बाहाङफेको ताजा अन्तर्वार्ताको संक्षेपः
राजनीतिको ४० वर्षको अनुभवमा भन्नुपर्दा राजनीति के रहेछ ?
म ठूलो नेता बन्छु भनेर राजनीति गरेको होइन । मलाई घरमा कहिल्यै विभेद अनुभव भएन तर साथीभाइको घर जाँदा, समाजमा छोराछोरी, महिला र पुरुषबीचको विभेदविरुद्ध आवाज उठाउनुपर्छ भनेर बोल्दै हिंडे । तर, यत्तिका वर्षसम्म पनि विभेदमा खासै फरक पाएको छैन । विभेदका केही स्वरुप कम भएका छन् तर समाजमा पितृसत्तात्मक सोच उस्तै छ ।
तपाईंले विद्यावारिधिका लागि ‘नेपालमा राजनीतिक महिला आन्दोलन’ विषय छान्नुको केही कारण छ ?
शुरुमा जुन खालको विभेद बुझेर राजनीति शुरु गरें, त्यही विषयको गहिरो अध्ययन गर्नुपर्छ भन्ने लाग्यो । १२ वर्ष अघि विद्यावारिधि सकें । विद्यावारिधिका बेला मैले जुन निष्कर्ष निकालें, जुन अहिले पनि मिल्छ ।
कस्तो निष्कर्ष ?
‘राजनीतिमा महिलाहरू सशक्त भएर निस्किए पनि, सशक्तीकरण भएपनि सत्ता र शासनमा शून्य र न्यून अवस्थामा छन्’ भन्ने मेरो शोधपत्रको निष्कर्ष थियो । अवस्था अहिले पनि उस्तै छ ।
उपसभामुखका रूपमा तपाईंले पटकपटक सार्वजनिक मन्तव्यमै ‘नेपालमा राजसंस्थाभन्दा पितृसत्ता बलियो र डरलाग्दो छ’ भनिरहनु भयो । यसको कुनै निजी कारण पनि थियो कि ?
मेरो राजनीतिक यात्राको लामो अनुभूति र अहिले मैले भोगिरहेको परिस्थिति नै पितृसत्तात्मक सोचको उपजको उदाहरण हो । हामीले गणतन्त्र ल्याएर मुलुकमा राजसंस्था भत्काइसके पनि राजनीतिक नेतृत्वमा पितृसत्ता यथावत छ । विगतमा म अनेरास्ववियूको उपाध्यक्ष हुँदा पनि महासचिवलाई अध्यक्ष बनाइयो । त्योभन्दा अगाडि पनि पटकपटक पितृसत्तात्मक सोचको मारमा परेको छु ।
के सभामुखले राजीनामा दिनुअघिसम्म पनि उपसभामुखका हैसियतमा तपाईंले पितृसत्ताको त्यसखाले अनुभव गर्नुभयो ?
उपसभामुखको हैसियतमा मैले थुप्रै नयाँ कामहरू गरें\गर्दैछु । संसदीय इतिहासमै नभएको सबै माननीयको भिडियो प्रोफाइल तयार गरिएको छ । त्यो प्रोफाइल वेबसाइटमा राखिएको छ । संसदको पुस्तकालयमा पुराना सबै कागजात स्क्यान गरेर राख्ने काम भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष, प्रदेशका ७ उपसभामुख र मबीच समयसमयमा भिडियो कन्फ्रेन्स पनि हुन्छ । धेरै महिला माननीय, प्रदेशका उपसभामुखहरूलाई अप्ठेरो परेको बेला संविधान, कानून र नियमावलीका प्रावधान बुझाउने, सल्लाह दिने काम पनि गरें ।
तत्कालीन सभामुखको राजीनामापछि नयाँ सभामुख चयनको विषय यस्तो जटिल बन्ला भन्ने लागेको थियो ?
मैले त अनुमान गरेको थिएँ । किनकि हाम्रो समाजमा अझै पितृसत्तात्मक सोच हावी छ, हामी यही समाजका उपज हौं । यही समाजमा हुर्केबढेकाहरू नै नेतृत्व पंक्तिमा हुनुहुन्छ । उहाँहरूको दिमागमा के कुरा खेल्छ भन्ने कुरा म सहजै अनुमान गर्न सक्छु । जे अनुमान थियो, वास्तविकता त्यस्तै देख्दैछु ।
तपाईं स्वयंले चाहिँ नेकपा नेतृत्वसँग आफू नै सभामुखको प्रथम दाबेदार भएको भनी दाबी गर्नुभयो ?
४ पुसमा राष्ट्रपतिज्यूले संसदको हिउँदे अधिवेशन आह्वान गर्नुभयो । त्यसपछि विधेयकहरूको अवस्था ब्रिफिङ गर्न म ३ पुसमा प्रधानमन्त्रीकहाँ गए । त्यहाँ नेकपाका अर्का अध्यक्ष प्रचण्डजी पनि हुनुहुन्थ्यो । मैले पहिलो पटक त्यहीबेला सभामुखको दाबेदारीको कुरा गरें । तर, उहाँहरुले खासै जवाफ दिनुभएन । त्यसपछि प्रचण्डजीले ‘तपाईंप्रति म नेगेटिभ छैन’ भन्दै तपाईं कहिले पार्टी सदस्य बन्नुभयो भनेर सोध्नुभयो । मैले आफ्नाबारे बताएँ ।
तर, पार्टीले त तपाईं विद्यमान ‘उपसभामुख’ पदबाट नै राजीनामा दिनुपर्ने निर्णय गरेको छ नि ?
नेकपाले मलाई ५ वर्षका लागि उपसभामुख बनाएको हो, तीन वर्ष बाँकी रहँदै छायाँमा पार्छ भन्ने लाग्दैन । यदि म संसदबाटै बाहिरिए मसँग प्रशस्त विकल्प छन् । प्राध्यापन गर्छु, वकालत गर्छु, सामाजिक मुद्दामा अध्ययन\अनुसन्धान गर्छु । विकल्प नहुँदो हो त म नेताहरूकै पछि लागिरहन्थें होला, गोडा मोल्न जान्थें होला ।
अहिले मैले संविधानलाई टेकेर र आफ्नो हक लाग्ने ठाउँमा बोलेको हुँ । यसअघि यस्तो बोल्न हिम्मत थिएन, शायद ।
अरुकै कारण तपाईंले उपसभामुखबाट बाध्यतावश बाहिरिनुपर्दा देशभरका स्थानीय तहका उपप्रमुख महिला, प्रदेशका उपसभामुखलाई मनोवैज्ञानिक असर नपर्ला र ?
मेरो सबैलाई सुझाव छ– कहिल्यै हरेस खानु हुँदैन । राजनीति गर्दा सबै थोक छोडेर राजनीति मात्रै गर्ने होइन । समय व्यवस्थापन गरेर अन्य क्षेत्रमा पनि समानान्तर ढंगले काम गर्नुपर्छ । राजनीति त सबै ठाउँमा जोडिइहाल्छ । संविधान र कानूनको आधारमा बोल्न डराउनु हुँदैन ।
अहिले तपाईँको पक्षमा तपाईंकै पार्टीका अधिकांश महिला नेतृहरू बोलिरहनुभएको छैन । किन होला ?
पहिले कसैलाई यस्तो पर्दा म बोल्थें, बोल्नुपर्छ भन्थें । तर अहिले मेरो सवालमा किन बोल्नुभएन भन्ने जवाफ मसँग छैन । जस जसले बोल्नुभएको छ, उहाँहरूलाई धन्यवाद । अहिले मेरो पक्षमा बाहिरबाट पनि आवाजहरू आइरहेको सुनिरहेको छु । त्यो मेरो व्यक्तिगत कारण भन्दा पनि पितृसत्ताको विरोध हो । संविधानको पक्षमा र प्रतिनिधिसभा जस्तो संस्थामा एउटा प्रणाली विकास गरेर लैजानुपर्छ भन्ने मेरो सिद्धान्तको पक्षमा हो ।
६ माघमा बस्ने तय भएको प्रतिनिधिसभा बैठकको कार्यसूची के छ ?
२७ पुसमा जे कार्यसूची बनाएका थियौं, त्यही नै हुन्छ । त्यो कार्यसूचीमा पहिलो नम्बरमा सभामुखको निर्वाचन प्रक्रिया भन्ने छ । दोस्रोमा ५ वटा आयोगको प्रतिवेदन आएको छ, त्यसलाई टेबल गर्ने हो ।
के तपाईंले भने अनुसार उम्मेदवार तय भएनन् भने, त्यही दिन राजीनामा दिनुहुन्छ ?
उम्मेदवार तय हुन्छ भन्ने नै हो । दललाई मैले भनेको छु, उम्मेदवार चयन गर्नुस्, संसदलाई धेरै समय नेतृत्वविहीन नबनाऔं । उम्मेदवार चयन हुन्छ भन्ने विश्वासका साथ तयारी हुन्छ, कार्यसूची त बनेकै छ, ज्येष्ठ सदस्यलाई अध्यक्षताको लागि जानकारी गराउनुपर्ने मात्रै हो ।
मैले राजीनामा दिन ढिला गरेको भन्ने पनि सुनें । तर यो सबै मैले प्रणाली बसाल्न गरेको हुँ ।