अन्तर्राष्ट्रिय चलचित्र महोत्सव १ फागुनदेखि
तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आगामी १ फागुनदेखि ५ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा ७९ चलचित्र प्रदर्शन हुनेछन् ।
महोत्सवमा १० अन्तर्राष्ट्रिय, ३५ लघु, पाँच नेपाली र १५ नेपाली लघु चलचित्र तथा आठ वृतचित्र र ६ एनिमेटेड गरी ७९ चलचित्र प्रदर्शन गरिने छ ।
५५ देशबाट प्राप्त ६०० चलचित्रबाट उत्कृष्ट छनिएका मात्र प्रदर्शन हुने छन् । विगतमा कथानक चलचित्र मात्र प्रदर्शन हुने र यो वर्ष एनिमेसन र वृत्तचित्र विधा पनि थप गरिएको जानकारी दिइएको छ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत कथानक फिल्मलाई एक हजार ५०० अमेरिकी डलरसहित गौतमवुद्ध अवार्ड, सर्वोत्कृष्ट वृतचित्रलाई एक हजार डलरसहित माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरसहित मञ्जुश्री अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५०० डलरसहित वाग्मती अवार्ड प्रदान गरिने छ ।
नेपाली प्रतिस्पर्धाअन्तर्गत कथानक चलचित्रलाई रु एक लाखको पुरस्कार र उत्कृष्ट लघु चलचित्रलाई रु ४० हजारको पुरस्कार प्रदान गरिने छ ।