फेरि कसिने भयो– पलेँटी
नेपालयले सञ्चालन गर्दै आएको लघु–सांगीतिक कार्यक्रम पलेँटी शृङ्खला पुनः शुरु हुने भएको छ ।
पलेँटीले नेपाली आधुनिक संगीतमा चर्चित र लोकप्रिय रहेर पनि दर्शक, श्रोतासामु एकल प्रस्तुति गर्ने मौका नजुरेका र ओझेलमा रहेका कलाकारहरूलाई प्रस्तुत गर्दै आएको छ । सन् २००५ बाट थालिएको पलेँटीको मञ्चमा नेपाली आधुनिक गीत, संगीत क्षेत्रका अधिकांश सर्जकहरू प्रस्तुत भइसकेका छन् ।
अँग्रेजी महिनाको अन्तिम शुक्रबार हुने गरेको पलेँटी कार्यक्रम यसपटक भने महिनाको अन्तिम सप्तान्त– शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन र त्यसपछिका महिनामा दर्शकको प्रतिक्रिया र चासोको आधारमा एक हप्तासम्म आयोजना गर्ने नेपालयले जानकारी गराएको छ ।
“लामो अन्तरालपछि पलेँटी थालिँदै छ । साँच्चै भन्दा जस्ता कलाकारहरूलाई ध्यानमा राखेर पलेँटी शुरु गरिएको थियो, ती कलाकार प्रायः पलेँटीमा समावेश भइसकेका छन् । पलेँटी सांगीतीक कार्यक्रम मात्र नरही, कला संगीतका पारखीको भेट्ने बाहना र थलोको रुपमा पनि स्थापित हुँदै गयो । त्यसैले उहाँहरूकै आग्रहमा पलेँटी परिमार्जित गरी पुनः शुरु गर्न लागेका हौं”, पलेँटी संयोजक आभासले भने ।
आउँदो शुक्रबार शुरु हुने यसपालीको पलेँटी भने महिला गायनमा आधारित हुने भएको छ । “नेपाली समाजको चालचलनले गर्दा महिला कलाकारको सक्रिय कलाकारिताको अवधि त्यति लामो रहँदैन त्यसैले पनि पारिवारिक जिम्मेवारी पूरा गर्दै उनीहरूले गरेको सांगीतिक र साँस्कृतिक योगदानलाई झन् महत्वकासाथ हेर्नु पर्छ, निरन्तर कदर गरिरहनु पर्छ”, महिला विशेष पलेँटीबारे आभासको टिप्पणी थियो ।
महिला विशेष पलेँटीमा अहिलेकी चर्चित गायिका मीना निरौलाले दर्जनभन्दा धेरै नेपाली संगीतका प्रतिनिधि महिला स्रस्टाहरुलाई सम्झँनेछिन् । आभासले कार्यक्रमसँग मिल्दा सन्र्दभलाई संक्षिप्त वाचन गर्ने छन् ।
“पलेँटीले मलाई नेपाली संगीतका अग्रजहरूको गायन शैलीलाई बुझ्न अभ्यस्त गरायो । यसपाली त महिला अग्रजहरूको गायनसँग जोडिने मौका पाएकोले झन् हर्षित छु”, मीनाले भनिन् ।
१०–१२ फागुनमा हुने पलेँटी कालिकास्थानस्थित नेपालयको ‘आर.शाला’मा हुनेछ । पलेँटीको टिकट बुकिङ्ग पलेँटी र नेपालयका सामाजिक सञ्जाल तथा www.thuprai.com बाट अनलाइन खरीद गर्न सकिन्छ ।