युवा वैज्ञानिक अधिकारीले आफ्नै गुरुलाई ठगेकाे आराेप
नेपालमा कुनै बेला युवा वैज्ञानिकका नामले चिनिने डा. दिलीप अधिकारीले २०६२, २०६३ सालमा १ सय ११ जना युवाबाट उठाएको रकम फिर्ता गरेनन् साथै आफ्ना गुरुलाई पनि झुक्याएका छन् ।
एभरेष्ट साइन्स सेन्टर बर्जु गाउँपालिका सुनसरीका संचालक अधिकारीबाट आफू ठगिएकाले बस्दै आएको घर लिलाम हुने अवस्थामा पुगेको उनका गुरु तथा प्रेस स्वतन्त्रता सेनानी शिवबहादुर कार्कीले बताएका छन् ।
मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष कार्कीले अधिकारीले आफ्नो घर र जमिन ब्यांकमा धितो राखेर रकम लिएको १६ वर्षसम्म फिर्ता नगरेको बताए ।
कार्कीका अनुसार २०६१ कात्तिकमा सीएसआईडी ब्यांकबाट कार्कीको घर र जमिन धितो राखेर अधिकारीले रु २७ लाख १५ हजार ऋण लिएका थिए । अधिकारीलाई महेन्द्र मोरङ क्याम्पसमा पढाएका कार्कीले ब्यांकले लिलामी गरेपछि सो घर २०७३ मा रु १ करोड ३ लाखमा उकासेको बताए । त्यस बेलादेखि नै अधिकारीले रकम नतिरेको र पटक पटक दिएको चेक बाउन्स भएको कार्कीले जानकारी दिए ।
कार्कीका छोरा सुभाषका अनुसार अधिकारीले पछिल्लो पटक गत ३० असोजमा एभरेष्ट ब्यांकको रु ४४ लाख ९० हजारको चेक दिएका थिए । पुनः ३० मंसीरमा सोही ब्यांकको रु ४१ लाख १० हजारको चेक दिएका थिए ।
चेक बाउन्स भएकाले कानूनी उपचारमा जाने तयारी गरेको सुभाष बताउँछन् । २०६२ सालमा अधिकारीले जापान र अमेरिका पठाउने भन्दै विद्यार्थीहरूबाट रकम उठाएर झुक्याएपछि उनलाई सुनसरीका युवाहरूले बन्धक बनाएका थिए ।
त्यस बेला रकम फर्काइदिने शर्तमा कार्कीले अधिकारीलाई छुटाएका थिए । त्यसपछि अधिकारी जापान गएर बसेकाले कार्कीले विद्यार्थीबाट दबाब खेपेका थिए ।
अधिकारीबाट ठगिएकाहरूको २०६३ असोजमा सुनसरीको दुहबीमा भएको भेलाले गोविन्द थापाको अध्यक्षतामा १२ सदस्यीय शान्तिवन वैदेशिक रोजगार पीडित समिति गठन गरेको थियो । समितिमा विराटनगर, दुहबी, इटहरी, धरानलगायत ठाउ“का पीडितहरू आबद्ध थिए । त्यस बेला ठगिएका युवाहरूले हालसम्म रकम फिर्ता पाइसकेका छैनन् ।
बिभिन्न ब्यांकको कालोसूचीमा परेका अधिकारीको साइन्स सेन्टरलाई चालु आर्थिक वर्षमा प्रदेश १ सरकारले रकम दिएको सुभाषले बताए । “दिलीपले दिएको रु ८६ लाखको चेक छ, खातामा पैसा छैन, एक पटक लिलामीबाट उकासेको घर पुनः लिलामी हुने अवस्थामा पुगेको छ”, उनले भने । चेक बाउन्स गरी कारवाहीमा गए ‘ढुङ्गाले हानेर किच्याउने’ भन्दै अधिकारीका सहयोगी चन्द्रमणि गुरागाईले धम्की दिएको उनी दाबी गर्छन् ।
यता अधिकारी पनि आफूले तिर्नुपर्ने रकम हिसाब गरेर चेकका रूपमा दिएको स्वीकार गर्छन् । “मैले आफूले तिर्नुपर्ने रकमको हिसाब चेकका रुपमा दिएको हो, ब्यांकमा लैजान हैन”, उनले भने, “रु १५ लाख तिरी पनि सकेको छु, तिर्दैछु ।” आफूले नयाँ काम गर्न लाग्दा सुभाषले नै बिगारी दिने गरेकाले समयमा रकम तिर्न नसकेको बताउँदै उनले आफूलाई पढाउने गुरु शिवबहादुर कार्कीलाई कुनै रकम नलिई दुई पटक अमेरिकाको नासामा पुर्याएको बताए ।
कार्की र अधिकारीबीचको लेनदेनको विवाद मिलाउन पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलको संयोजकत्वमा वार्ता समिति बनेको छ । समितिकै पहलमा कार्कीले अधिकारीबाट दुईवटा चेक पाएका हुन् । चेक पाइसकेपछि समितिको औचित्य सकिएको कार्कीले बताए । तर, वार्ता समितिले रकम फिर्ता गराउने विषयमा अझै पनि पहल गरिरहेको पोखरेलले बताए ।