साहुखलको शतक
१६ वर्ष फूटबल मैदानमा बिताएका सन्तोष साहुखलको ए डिभिजन लिगमा १०० गोल व्यक्तिगत सफलताको कथा मात्र नभएर साधना र धैर्यको प्रतिफल पनि हो।
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत २३ पुसमा च्यासल युथ क्लब र महेन्द्र पुलिस क्लबबीच दशरथ रङ्गशालामा प्रतिस्पर्धा चलिरहँदा सबैको ध्यान सन्तोष साहुखलमा थियो ।
१८औं मिनेटमा हेमन्त श्रेष्ठले प्रहार गरेको फ्रि किकमा साहुखलले ‘वान टच’ प्रहार गरेर बललाई पोष्टभित्र छिराउँदै खेल बराबरीमा पुर्याए । उनको यो गोलको महिमा यतिमै सीमित छैन । उनी लिगमा १०० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । र, त्यही खेलमा अर्को गोल गरेपछि गोल संख्या १०१ पुगेको छ ।
उनीबाहेक अहिलेसम्म चार खेलाडी वसन्त थापा, सुरेन्द्र तामाङ, जेविश पाण्डे र रमेश बुढाथोकीले लिगमा ५० भन्दा बढी गोल गरेका छन् । उनका समकक्षी समेत रहेका चारै जनाले खेलाडी जीवनबाट संन्यास लिइसकेका छन् । अहिले लिग खेलिरहेका कसैले पनि ५० गोलको कोसेढुङ्गा समेत पूरा गरिसकेका छैनन् । त्यसैले साहुखल लामै समय लिगमा १०० गोल गर्ने एक्लो खेलाडी हुने पक्का छ ।
साहुखलले यो इतिहास बनाउन मैदानमा १६ वर्ष संघर्ष गरेका छन् । ३४ वर्ष पुगिसकेका उनले विभिन्न चार क्लबबाट १० सिजन लिग खेले । उमेर ढल्किंदै जाँदा पनि उनले मैदानमा पुरानै लय कायम राखेका छन् । केही वर्षदेखि जापान बसिरहेका उनको फूटबलप्रतिको समर्पण नै नयाँ खेलाडीलाई धैर्य र साधनाको सन्देश हो ।
हाँस्ने स्वभावले टिम बाहिर
टेनिस स्टार आन्द्रे आगासी र पिट साम्प्रासको स्वभाव ठीक विपरीत थियो । यी दुईबीच ठूला उपाधि भिडन्त हुँदा खेल पत्रकार आगासीको पक्षमा हुन्थे । किनकि, आगासीले समाचारका लागि मसला दिन्थे, कहिले प्रेमिकालाई चुम्बन गर्ने त कहिले फोटोका लागि अनौठो पोज दिने । आक्रामक प्रतिक्रिया र जोक्स सुनाएर पनि उनी जित ‘सेलिब्रेसन’ गर्थे । साम्प्रास भने खास प्रतिक्रिया नै जनाउँदैनथे, मानौं उनका लागि उपाधि कुनै उपलब्धि होइन ।
साहुखल ठ्याक्कै साम्प्रास जस्ता, विना कुनै प्रतिक्रिया हाँसिरहने मात्र । आधुनिक लिग फूटबलमा १०० गोल गर्ने दुर्लभ उपलब्धि हासिल गर्दा उनीसँग खेल पत्रकारले रोचक प्रतिक्रियाको अपेक्षा गरेका थिए । तर, उनी हाँसिरहे मात्र ।
कम बोल्ने र मुस्कुराइरहने मात्र नभएर, हठी पनि छन्, साहुखल । यही स्वभावका कारण एकपटक उनका लागि राष्ट्रिय टिमको ढोका नै बन्द भयो । नेपालका जर्मन प्रशिक्षक थोमस फ्ल्याट सन् २००८ मा कम्बोडियामा हुने एएफसी च्यालेन्ज कप र माल्दिभ्समा हुने साफ च्याम्पियनसिप गरी दुई वटा प्रतियोगिताका लागि राष्ट्रिय टोली बनाउँदै थिए ।
साहुखलसँगै अग्रपंक्तिमा अनिल गुरुङ र जुमानु राई गोलपोष्ट लक्षित प्रहारको अभ्यास गरिरहेका थिए । तर, साहुखलले राम्रो गर्न सकिरहेका थिएनन् । उनी जतिखेर गल्ती गर्थे, फिस्स हाँसेर फर्किन्थे । प्रशिक्षक फ्ल्याटलाई लाग्यो “गल्तीमा पनि हाँसिरहेका कारण ऊ गम्भीर छैन ।” उनले साहुखललाई बोलाएर सम्झाउँदा पनि उनी आफ्नो स्वभाव अनुसार हाँसिरहे । त्यही हाँसोका कारण खेलमा गम्भीर नभएको आरोपमा प्रशिक्षकले उनलाई टिमबाटै हटाए ।
हठी स्वभावका साहुखलले पनि प्रशिक्षक फ्ल्याटको नेतृत्वमा कहिल्यै नखेल्ने घोषणा गरिदिए । धेरैपछि मात्र प्रशिक्षक फ्ल्याटलाई उनको स्वभाव थाहा भयो । उनले भनेका थिए, “मलाई सहायक प्रशिक्षकहरूले पहिले नै उसको स्वभावबारे भन्नुपर्थ्याे। ऊ टोलीलाई आवश्यक खेलाडी थियो ।”
मैदान बाहिरको अभियान
नेपाल आएका कोरियाली प्रशिक्षक यो की ह्युनले खेलाडीलाई भन्थे, “तिमीहरू साँच्चैको हिरो हौ । मैदानमा खेल्दा मात्र होइन, बाहिर हिंड्दा, रेस्टुरेन्टमा गएर खाँदा वा कुनै पनि अनौपचारिक कार्यक्रममा पनि आफूलाई हिरो सरह प्रस्तुत गर्नू ।” साहुखल अहिले वास्तवमै ‘हिरो’ को भूमिकामा छन् ।
मैदानमा खेल्ने मात्र नभई नेपाली फूटबललाई नै परिवर्तन गर्ने योजना बुनिरहेका छन् । उनी भन्छन्, “खेलाडीहरू समयमा उपस्थित हुनुपर्छ । अनुशासनले नै हो सफलता दिलाउने । खेलबीच, अभ्यासमा, खाना खाँदा वा अरु कुनै पनि समयमा अनुशासन कायम हुनुपर्छ ।”
कुनै वेला आफैं मैदानमा ढिलो आउने र प्रशिक्षकसँग मुखामुख गर्ने उनीबाट यस्तो सुन्दा धेरैले शुरुमा अनौठो माने । तर, जापानको फूटबलमा भिजेपछि उनमा व्यापक परिवर्तन देखिएको छ । जापानको आठौं डिभिजनको क्लबमा खेलिरहेका उनी त्यहाँको फूटबल संस्कार नेपालमा पनि हेर्न चाहन्छन् ।
समुदायमा फूटबल मार्फत हुने परिवर्तनमा काम गर्ने जापानी संस्था एनपीओ रियले वल्र्ड जापानबाट प्रेरित उनी च्यासल युथ क्लब मार्फत नेपालमा पनि सिको गरिरहेका छन् । त्यसका निम्ति उनले आफ्नो जन्मथलो बोडेमा ‘सत्य संचार’ संस्था खोलेका छन् ।
दाजु बालगोपाल साहुखल त्यसका अध्यक्ष हुन् । बोडेमै रियले फूटबल एकेडेमी नेपाल बनाएर बालबालिकालाई फूटबल सिकाइरहेका छन् । राम्रा खेलाडी उत्पादन गरेर नेपालकै क्लब राष्ट्रिय टिम र विदेशी लिगसम्म पुर्याउने लक्ष्य राखेका छन् ।
स्टार खेलाडीहरूको लागि ‘हिरो टु हिरो’ अभियान पनि शुरु गरेका छन् । त्यस मार्फत स्टार खेलाडी समुदायमा पुगेर फूटबल मार्फत हुनसक्ने परिवर्तनबारे काम गर्छन् । यो अभियानमा अहिले किरण चेम्जोङ, विकेश कुथु, एलन न्यौपाने, नवयुग श्रेष्ठ, रिजन धिमाल, देवेन्द्र तामाङ, सरोज दाहाल र साहुखल आफैं छन् ।
उनी भन्छन्, “हाम्रोमा प्रायः रिटायर्ड भएपछि मात्र आफ्नो ठाउँ र समुदाय खोज्छन् । आफू खेलिरहेकै वेला समुदायमा फूटबल फैलाउनुपर्छ । यो अभियानमा जस्तै अब किरणले आफ्नो गाउँ धनकुटा र एलनले हेटौंडाको समुदायमा फूटबल अभियान चलाउनेछन् ।”
किरणलाई जापानी जे लिगको तेस्रो श्रेणीको क्लबमा ट्रायलका लागि पनि यसै अभियान अन्तर्गत पठाइएको थियो । यो अभियानले अहिले च्यासल युथ क्लब मार्फत काम गरिरहेको छ । जापानी खेलाडीलाई क्लबमा भित्याइएको छ । क्लबलाई एनपीओ रियले वल्र्ड जापानले मेडिकल किट्स पनि प्रदान गरेको छ । सन्तोष रियले वल्र्ड अभियानको नेपालका ब्राण्ड एम्बेसडर हुन् ।