कोशी टप्पुमा पक्षीको संख्या घट्दै
कोशी टप्पुमा वर्षेनी जलपक्षीको संख्या घट्दै गएको छ । २५ पुसबाट शुरु भएको पाँचदिने पक्षी गणनाका क्रममा पक्षीको संख्या घट्दो पाइएको हो ।
बराहक्षेत्रस्थित कोशी नदीको पुलबाट शुरु भएको गणनामा गएका वर्षहरूमा जस्तो ठूलो झुण्डमा चरा बसेको नपाइएको कोशी पक्षी समाजले जनाएको छ ।
“पहिलो सयौंको संख्यामा एउटै झुण्डमा चरा देखिन्थे, अहिले साना साना झुण्डमा मात्रै पाइयो”, समाजका अध्यक्ष अनिश तिम्सिनाले भने ।
३२ वर्षदेखि पुस महीनामा कोशी टप्पुमा चरा गणना हुँदै आएको छ । चराविद्हरूका अनुसार साइबेरियादेखि उडेर आउने चराको बासस्थानमा मानव अतिक्रमण बढेकाले कोशीमा चराको संख्या घट्दै गएको छ ।
कोशी किनारका चराका बासस्थानमा चौपाया चराउने र माछा मार्नेहरूका कारण हिमालपारिबाट आउने चरा भारततर्फ जाने गरेका छन् ।
“चराको बाटोमा ठूला टावर बन्न थाले, ठूला जहाजको ध्वनिले पनि चरा बाटोमै प्रभावित हुन्छन्”, कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले भने । कोशीमा चराको शिकार पनि हुने गरेको छ । विषादीको प्रयोग गरेर चरा मार्ने गरेको पाइएको चौधरीले बताए ।
२०७५ को पक्षी गणनामा आरक्षमा ५२ प्रजातिका ६ हजार ९५९ सय पक्षी गणना गरिएको थियो । २०७४ मा ५५ प्रजातिका ५ हजार ९६४ को संख्यामा चरा पाइएको थियो भने ०७३ मा ५७ प्रजातिका ८ हजार ५६१ चराको रेकर्ड राखिएको थियो ।
०७२ मा गणना गर्दा ५६ प्रजातिका ३ हजार ७७० चरा फेला परेको थियो । २०७१ मा गरिएको गणनामा ५५ प्रजातिका ५ हजार ९१२ प्रजातिका चरा फेला परेका थिए । कोशी टप्पुमा सन् १९८७ बाट चरा गणना गरिंदै आएको छ ।