चालीस नकाटी मधुमेह
एक ६०–६५ वर्षे व्यक्ति बजारमा बट्टामा पाइने ‘नरिवल पानी’ र ‘जूस’ स्वस्थकर हुन्छ भनेर दिनमा चार–पाँच गिलास पिउँथे । साथीभाइले बट्टाको ‘जूस’ मा चिनी धेरै हुन्छ, धेरै पिए बिगार गर्छ भन्दा पनि उनले पत्याएनन् । “विज्ञापनमा फलफूलको रस हो, चिनी मिसाएको छैन भन्छ, यस्तोले के खराबी गर्छ र !” उनी भन्ने गर्थे ।
साथीभाइको आग्रहमा जाँच गराउँदा रगतमा चिनीको मात्रा (ग्लुकोज) निकै बढेको देखियो । आफूले मिठाइ, केक, चिनी, पत्रुखाना खाने नगरे पनि शरीरमा चिनीको मात्रा कसरी बढ्यो भनेर उनी चकित परे । पछि उनले बुझे, यो सबै ‘ताजा’ भनेर खाएको बट्टाको जूसको कमाल हो ।
केही साताअघि महाराजगञ्ज शिक्षण अस्पतालका डाक्टर प्रदीप श्रेष्ठले मधुमेहको समस्या बारे एउटा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यो कार्यक्रमबाट नेपालमा ‘टाइप टु’ (दोस्रो प्रकारको) मधुमेहको जगजगी रहेछ भन्ने थाहा भयो । शरीरमा ग्लुकोजको मात्रा सन्तुलनमा राख्ने इन्सुलिन (हर्मोन) ले राम्रोसँग काम गर्न नसकेकाले त्यस्तो भएको हो भन्ने निष्कर्ष कार्यपत्रको थियो ।
सामान्यतः मधुमेह दुई प्रकारका हुन्छन् । पहिलो प्रकारको मधुमेहमा मानिसको शरीरमा इन्सुलिन अभाव हुन्छ ।
दोस्रो प्रकारको मधुमेह प्रायः ४०–५० वर्षको उमेर कटेपछि अस्वस्थकर जीवनशैली, मोटोपनका कारणले धेरै हुन्छ । यसमा शरीरमा रहेको इन्सुलिनले राम्रोसँग काम गर्दैन ।
विदेशतिर ४० वर्षको उमेरपछि देखिने यो समस्या नेपालमा भने त्यसअघि नै देखिन थालेको छ । ‘दक्षिणएशियामा दोस्रो प्रकारको मधुमेह हुने मुख्य कारण अव्यवस्थित जीवनशैली, विभिन्न पत्रुखाना (चाउचाउ, चिप्स र अनेक प्रकारका पेय पदार्थ, ससेज जस्ता मासुका परिकार) आदि हुन्’– डा. श्रेष्ठको कार्यपत्रमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय मेडिकल जर्नलमा प्रकाशित एक लेख अनुसार झण्डै एक लाख व्यक्तिमा अनुसन्धान गर्दा विभिन्न प्रकारका पत्रुखाना, रेसा नभएका खाना, बिस्कुट आदि खाने मानिसमा दोस्रो प्रकारको मधुमेह बढी भएको देखियो । यस्ता पत्रुखाना खानेहरूमा ‘चुरोट र रक्सी’ जस्तै लत बस्ने अनुसन्धानमा उल्लेख छ ।
खानाको साथै अव्यवस्थित जीवनशैली र अत्यधिक तनावले पनि मधुमेह निम्त्याउने अनुसन्धानमा भनिएको छ । आलेखमा ‘धेरै मोटो, दुब्लो, बढी तनाव लिने, व्यायाम नगर्ने, खानाको समय नमिलाउने, चुरोट बढी खाने व्यक्तिहरूलाई पनि मधुमेह हुनसक्ने’ लेखिएको छ ।
काठमाडौंमा उच्च शिक्षा अध्ययन गरिरहेका २४ वर्षीय सिर्जन शाही बिहान भात खाएर हिंडेपछि दिउँसो मःम, चाउचाउ जस्ता खाजा खाँदा रहेछन् । दुई महीनामा ७ किलो वजन घटेर मुख पनि सुक्खा हुन थालेपछि उनी चिकित्सककहाँ गए । रगत परीक्षण गर्दा थाहा भयो, चिनीको मात्रा सामान्य भन्दा झण्डै पाँच गुणा बढी छ ।
इन्सुलिन चलाएर उपचार गर्न थालियो । खानपिन र जीवनशैली परिवर्तन गर्न दिएको सुझाव शाहीले पालना गरे । फलस्वरुप, चिकित्सकले इन्सुलिनको मात्रा कम गर्दै लगेर अहिले बन्द गरिदिएका छन् ।
अमेरिकामा अध्ययन गरिरहेका ३० वर्षीय एक विद्यार्थी बिदामा नेपाल आए । अमेरिका बस्दा पिज्जा, चिसो पेय पदार्थ र बट्टाको जूस आदिले टार्दा रहेछन् । उनको वजन नै १०४ किलो थियो । नेपाल आएपछि अस्वाभाविक रूपले वजन घट्यो र धेरै थकाइ पनि लाग्न थाल्यो । परीक्षण गर्दा रगतमा चिनीको मात्रा धेरै भएर मिर्गौलामा समेत खराबी आइसकेको थाहा भयो ।
यसरी युवावस्थामा मधुमेह भएर बेलैमा उपचार गराइएन भने आँखाको ज्योति गुम्ने, मिर्गौला फेल हुने, मुटु र रक्तचापमा समस्या देखिने र पक्षघात हुने संभावना अधिक रहन्छ । ४० वर्ष मुनिका युवाहरूमा मधुमेहको समस्या चिन्ताजनक रूपमा बढ्दो छ । यस्तो खर्चिलो रोगले गर्दा हुने शारीरिक, मानसिक र आर्थिक क्षतिको कुनै सीमा नै छैन ।
सरकारले मिर्गौलाको डायलसिस गर्न बिरामीलाई सातामा दुई पटकका लागि पैसा दिने नीति बनाएको छ । तर, मिर्गौलामा समस्या आउनै नदिन जनचेतना अभियान वा अन्य कुनै कदम चालेको थाहा छैन ।
गाउँशहर सबैतिर उच्चदरमा फैलिएको उच्च रक्तचाप, मधुमेह आदि रोग जीवनशैली र पत्रुखानासँग सम्बन्धित छन् भनेर विज्ञहरूले भनिरहँदा पनि स्वास्थ्य मन्त्रालयले आवश्यक सतर्कता नअपनाउनुको कारण के होला ? देशका वडा–वडामा अस्पताल खोल्ने कुरा गर्ने सरकारले बुझ्नुपर्छ, अस्पताल र औषधिको भरमा मात्रै जनस्वास्थ्य राम्रो हुँदैन । व्यवस्थित आहारविहार र जीवनशैली सिकाउने सचेतना अभियान पनि आवश्यक छ ।