सिंगारिदै विराटनगर, ठाउँठाउँमा सफाइ अभियान
विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा बिहीबारबाट सफाइ शुरु गरेको छ ।
महानगरका सबै सडक एकै पटक कालोपत्रे गरिंदै आएकाले निर्माण सम्पन्न भएका ठाउँमा दमकलबाट पानी हालेर सफाइ गरिंदै छ ।
नगरका सडकमा मेयर भीम पराजुलीको अगुवाइमा एउटा समूहले सडकमा कुचो लगाएर सफाइ गरेपछि दमकलबाट पानी हालिएको छ । सडक किनारमा राखिएका निर्माण सामग्री हटाएर आसपासमा थुपारिएका माटो र बालुवा पनि उठाउन थालिएको नगरपालिकाले जनाएको छ ।
“कालोपत्रे गरिसकेका सडकमा नियमित सफाइ हुन्छ”, मेयर पराजुलीले भने–“बजार भित्रका बिजुलीका सबै पोलमा डस्टविन राखेर फोहोर नियन्त्रण गरिन्छ ।”
भ्रमण वर्षमा आउने पाहुनालाई लक्षित गरेर पनि सफाइ अभियान चालिएको उनले बताए । पराजुलीका अनुसार, मेनरोडलाई कलर जोन बनाएर हिमालय रोडमा सवारी साधन निषेध गरिने भएको छ । महानगरपालिका भित्र सडक बिस्तार गरेर सबै ठाउँमा कलोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
झण्डै ६ अर्बको लागतको सडक बिस्तार, नाला र ढल निर्माणसहितको परियोजनाका काम अन्तिम चरणमा रहेको नगरपालिकाले जनाएको छ ।
५ वर्षदेखि अस्तव्यस्त रहेको विराटनगरका सडक अब व्यवस्थित देखिन थालेको मेयर परालुली बताउँछन् । विराटनगरभित्रको ७०० किलोमिटर सडक व्यवस्थित गरिसकिएको छ । चौडा पारिएको नगरभित्रको १६० किलोमिटर सडकमा हरेक घरले १ दशमलब ५ मिटरका दरले जग्गा योगदान गरेका थिए ।
सडकमा ७१० कट्ठा अर्थात ३५ बिघा जमिन थपिएको छ । सडक चौडा बनाउँदा विराटनगरका करीब एक हजार घर र एक हजार ५०० पर्खाल भत्काउनुपरेको थियो ।
एशियाली विकास ब्यांकको सहयोगमा २ अर्ब ९५ करोडको लागतमा मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजना सम्पन्न भएपछि २ अर्ब ६१ करोडको लागतमा अर्को क्षेत्रीय सहरी विकास कार्यक्रम संचालनमा छ ।
योजना अन्र्तगत घरहरूबाट निस्किएको दिसा पिसाब पाइपबाट लगेर एकै ठाउँमा जम्मा गरी प्रशोधन गर्न थालिएको छ ।