सन्दीप लामिछाने बने दोभाषे
अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा नेपाल युवा क्रिकेटर सन्दीप लामिछाने खेलिरहेका छन् । बुधबार सन्दीप आवद्ध टीम मेलबर्न स्टार र सिड्नी थन्डर बीच खेल भयो । मेलबर्न ६ विकेटले विजयी भयो ।
सन्दीपको खेल सकिए पछि धेरै नेपाली दर्शक अरुतिरै मोडिए । तर, सन्दीपको शेसन अझै बाँकी थियो । उक्त खेलमा सन्दीप महँगा सावित भए पनि प्लेअर अफ दी म्याचको पुरस्कार थाप्न हरिस रुफसँगै मञ्चमा आए ।
उक्त पुरस्कार सन्दीपले होइन, ह्याट्रिक ब्वाइ हरिसले पाएका थिए । तर, पनि सन्दीप हरिससँगै मञ्चमा आए ।
हरिसले पुरस्कार लिइसके पछि खुल्यो, सन्दीप मञ्चमा जानुको कारण दोभाषे भूमिकाका लागि रहेँछ ।
पाकिस्तानका बलर हरिस अंग्रेजी भाषामा बोल्न नसक्ने अनि टीममा अरु खेलाडीले हिन्दी भाषा नजान्ने । तर, सन्दीप हिन्दी र अंग्रेजी दुवै भाषामा बोल्न सक्ने भएकाले दोभाषेका लागि उनलाई अगाडि बढाइएको थियो ।
हरिसले सन्दीप मार्फत नै ह्याट्रिक पछिको खुशी, अष्ट्रेलियामा जारी खेल लगायतबारे बोलेको थिए ।