काठमाडौं आएका मिटर ब्याज पीडित भन्छन्, “ऋण तिरिसक्दा पनि जग्गा फुकुवा भएन”
रवीन्द्र कुशवाह र छविलाल साहले आफूहरू सञ्जय कुमार रौनियार र रामबाबु रायबाट वर्षौंदेखि ठगिएको भन्दै न्यायका लागि काठमाडौं आएको बताएका छन् । उनीहरूले भने, “सबै सकियो, तर पनि ऋणबाट उम्किन पाइएन, ऋण चुक्ता गरेको भनेर उसकै अक्षर र हस्ताक्षर छ, तर पनि बन्धकी राखेको जग्गा फुकुवा भएन ।” हिमालसँग टेलिफोनमा दुईजना पीडितले गरेको कुराकानीको सार संक्षेपः
रवीन्द्र कुशवाह, ईश्वरपुर नपा–५
म सञ्जय कुमार रौनियारबाट २०६९ सालदेखि ठगिएको हुँ । २२ माघ २०६९ मा एक करोड रुपैयाँ ऋण लिएँ । एकवर्षै नपुगी माग्न थाले । एकवर्ष नै पुगेको छैन भनेर भन्दा पनि निरन्तर मागेपछि आफन्तसँग सरसापट गरेर २५ लाख पैसा बोकेर गएँ । तर, उनले एक करोडको प्रत्येक महीनाको ब्याजलाई पनि सावाँमा गाभ्दै हिसाब राखेका रहेछन् । त्यसरी एकवर्ष नै नभई एक करोडको झण्डै तीन करोड भयो भनेर हिसाब देखाए ।
तत्काल २५ लाख दिएर फर्किएँ । मैले ऋण लिएर बैना गरेको जग्गा पनि उनले आफैं बेच्न थाले । म ऋण तिर्छु, जग्गा मेरो हो भन्दा पनि नटेरी जग्गा किन्ने मान्छे ल्याउँदै नाप्दै दिन थाले । मैले गाउँ समाजका मान्छेलाई बोलाएँ र सबै मिलेर त्यो जग्गा नाप्न रोक्न खोज्यौं । तर, रोकिएन । धेरै त बेचिसकेका रहेछन् ।
उनले बेचेको भन्दा आधा मूल्य हिसाब देखाएर जम्मा २ करोड ५५ लाख ऋण चुक्ता भएको हिसाब देखाए । त्यति गर्दा पनि २५ कठ्ठा मलाई फिर्ता गर्नुपर्ने निर्णय भएको थियो । अझै फिर्ता गरेका छैनन् । उनको ठाउँठाउँमा होटेल छ, होटेल चाहर्दा चाहर्दै डेढदुई लाख खर्च भयो । धेरैको यसैगरी ठगेको भएर टोलीको नेतृत्व गर्दै काठमाडौं आएका छौं ।
छविलाल साह, बागमती नगरपालिका ७ सर्लाही
म रामबाबु रायबाट पीडित भएको हुँ । अहिले न्यायका लागि काठमाडौं आएको छु । मैले पहिलो पटक रामबाबु (साहु) बाट २०६४ सालमा ऋण लिएको हुँ । एक पटक दुई लाख र बाँकी दुईतीन पटक गरी जम्मा चार लाख ऋण लिएको थिएँ ।
नगद ५, १०, २० हजार गर्दै तीन वर्षमा नगद नै फिर्ता गरिसकेको थिएँ । २०६९ सालमा चुक्ता भएको भनेर उनले नै कागज गरेका थिए । अचेल पनि भेट हुन्छ तर ऋण लिँदा बन्धकी राखेको १७ कठ्ठा जग्गा जमिन चाहिं फुकुवा गरेको छैन ।
मेरो बहिनीले पनि त्यही बेला ३ लाख ६५ हजार लिएको । उनले पनि ७÷८ लाख तिरिसकिन् तर अझै उनको २ कठ्ठा १८ धुर जग्गा बन्धक नै छ । जाडोको बेला भनेर बहिनी आएको छैन । उनले मेरो पनि समस्या राख्दिनू भनेको छ ।