ओइरिंदै चिनियाँ पर्यटक, नेपाल प्रचारमा अभिनेत्रीदेखि राजदूतसम्म
– जोसिए वाङ
भ्रमण वर्ष २०२० को प्रचारका लागि नेपालले चीनकी चर्चित कलाकार सू छिङलाई सदभावना दूत भइदिनका लागि प्रस्ताव गर्दा धेरै आग्रह नै गर्नु परेन, उनी आफै नेपाललाई पहिलेदेखि नै निकै मन पराउँथिन् ।
यस अवसरबाट निकै उत्सुक भएको भन्दै उनले पोखराबाट चीनको सामाजिक सञ्जाल वेबोमा पोष्ट गरेकी छन्, “जब मैले अन्नपूर्ण हिमशृंखलाकाे अभूतपूर्व दृश्य देखेँ, मेरो मुटुको धड्कन नै बढ्यो । “मैले जिउन चाहेको जीवन यस्तै हो ।”
सूले फेवातालमा बोटिङ्ग गरेको तस्वीर, माछापुच्छ्रे अगाडि उभिएर खिचेको तस्वीर, मखमली माला पहिरिएको र स्थानीय बालबालिकासँग खिचेका सेल्फी चिनियाँ सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । ती तस्वीर र भिडियो उनका १७ लाख फलोअर्स भएको चिनियाँ सामाजिक सञ्जालसम्म पुगे ।
सन् १९९० मा पहिलो फिल्म खेलेकी सूले बितेका तीस वर्षमा कयौँ चर्चित अवार्डहरु हात पारेकी छन् । उनले फिल्ममा खेलेका कतिपय भूमिका दर्शकका मनमा स्थान बनाउन सफल भएका छन् ।
सूलाई पर्यटन प्रवर्द्धनका लागि चीनमा सदभावना दूत रोजेर नेपालले निकै राम्रो निर्णय गरेको बताउँछन्– ७ वर्षदेखि नेपालमा बसेर हिमालयन लाइट आर्ट अवार्डको स्थापना गरेका चिनियाँ कला संरक्षक जुस्टिन जाओ । उनी भन्छन्, “नेपालमा पर्यटनको विकासका लागि चीन निकै ठूलो बजार हो, सूलाई सदभावना दूत राखेपछि चिनियाँ पर्यटकको संख्या नेपालमा अझै बढ्ने छ ।”
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि नेपाल भ्रमण वर्ष २०२० लाई आफ्नो सामाजिक सञ्जाल मार्फत प्रचार गरिन् । नयाँ वर्षको पूर्वसन्ध्यामा यान्छी आफैले पाटन दरबार स्क्वायरमा मोडलिङ्ग तस्वीर ट्विटरबाट सार्वजनिक गरिन् ।
“वास्तविक सुन्दरताले जहिले पनि मन छुन्छ । सुन्दर नेपालको इतिहास, विविधता र यहाँको प्रकृति साँच्चै घुम्नलायक छ । भ्रमण वर्ष नेपालको सफलताको कामना !”, पर्यटनमन्त्री योगेश भट्टराईलाई मेन्सन गरिएकाे ट्विटमा उनले भनिन्।
सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म १ लाख ३४ हजार २ सय ८१ चिनियाँ पर्यटक नेपाल घुम्न आए, जुन अघिल्लो वर्षको तुलनामा करीब १० प्रतिशत बढी हो ।
नेपालले सन् २०११ मा चिनियाँ नागरिकका लागि फ्री भिसाको व्यवस्था गरेपछि राष्ट्रियताका आधारमा नेपाल घुम्न आउने चिनियाँ पर्यटकको संख्या १४ प्रतिशत पुगेको छ, जुन भारतभन्दा एक स्थान मात्रै पछाडि हो ।
पोखरामा रेस्टुरेन्ट सञ्चालन गरिरहेका वाङ् जिपिङ्गका अनुसार सामान्यतया नेपाल घुम्न आउने पर्यटकमा बौद्ध धर्मावलम्बी र साहसिक खेल मन पराउने गरी दुई प्रकारका चिनियाँ पर्यटक पर्दछन् ।
वास्तवमा नेपाल घुम्न आउने पर्यटकहरुले नेपालको प्राकृतिक सुन्दरता र सहजै घुलमिल हुने स्थानीयको स्वभावलाई निकै रुचाउँछन्।
“नेपाल गरीब भएर पनि विश्वकै खुशी नागरिक हुने राष्ट्रमध्येमा पर्दछ । वास्तविक हाँसो र आत्मसन्तुष्टि यहाँका मानिसहरुको चेहरामा देख्न पाइन्छ । म मेरो जीवनको थोरै भए पनि सपना यहाँ भेटाउँछु,”, एकजना पर्यटकले अनलाइनमा पोष्ट गरेका छन् ।
अर्का, पर्यटकले थपेका छन्, “हिमालको दक्षिणी भेगमा दक्षिण एसियाकै सांस्कृतिक विविधता देख्न सकिन्छ । विभिन्न धर्म र विश्वासका मानिसहरु शान्तिपूर्वक त्यहाँ बसोबास गरिरहेका छन् । तिनीहरुले एकअर्कालाई बुझेका छन्, सँगै विकास गरिरहेका छन् ।
कमजोर पूर्वाधार र उच्च हवाई भाडादरबारे पनि केही नकारात्मक प्रतिक्रियाहरु आइरहेकै हुन्छन् । रेस्टुरेन्ट सञ्चालक वाङ् भन्छन्, “नेपालको हवाई भाडादर धेरै नै महंगो छ । एउटै गन्तव्यका लागि पनि सिजनका समयमा डबलभन्दा बढी भाडा राखिएको छ । यदि थाइल्याण्डबाट हुने हवाई भाडाको मूल्यलाई घटाउने हो भने मात्रै पनि अझै धेरै पर्यटक नेपाल आउनसक्छन् ।”
भ्रमण वर्ष २०२० मा लाखौँ चिनियाँ पर्यटकको लक्ष्य राखेर विमानस्थल र राजमार्गका भौतिक संरचना व्यवस्थित गर्नुपर्ने जरुरी देखिन्छ । यदि त्यसो गर्न सकिएन भने यो वर्ष ५ लाख चिनियाँ पर्यटक नेपाल घुम्न आए पनि लक्ष्य पूरा नहुने चिन्ता विज्ञहरुको छ ।
पोखराका होटेल, रेस्टुरा र पाराग्लाइडिङ कम्पनीहरुले भने चिनियाँ पर्यटकलाई लक्षित केही सुविधाहरु विस्तार र सुधार गरेका छन् । आजभोलि लेक साइडका व्यावसायीहरुले होटेलहरुमा चिनियाँ परिकारका मेनुहरु राख्न थालेका छन् । त्यहाँ व्यापारीहरुले पनि चिनियाँजस्ता देखिने मानिसहरुलाई “नि हाओ” भनेर चिनियाँ भाषामा नै स्वागत गर्न थालेका छन् ।
चिनियाँ भाषाको कोर्स गराएर होटेलका स्टाफहरुलाई पनि पर्यटकसँग सहजै कुराकानी गर्न सक्ने बनाएको बताउँछिन् सांग्रिला भिलेज रिसोर्टकी म्यानेजर प्रकृति गुरुङ । पोखराकै फिस्टेल लजमा २०१९ मा २४,००० मध्ये आधाभन्दा बढी चिनियाँ पर्यटक मात्रै आएको अनुभव छ ।
नेपालले आगामी २१ देखि २४ फेब्रुअरीसम्म पर्यटन विकासका लागि त्रिदेशीय नेपाल–भारत–चीन एक्सपो (नाइस) को आयोजनाको तयारी पूरा गरेको छ । नेपालले यतिबेला एसियाका दूई ठूला मुलुकहरुको बीचमा रहेकाले रणनीतिक फाइदा उठाउन सक्छ ।
दशकौँदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लबिङ गरिरहेका पोखराका पर्यटन व्यवसायी पनि आउँदाे वर्षदेखि विमानस्थल सञ्चालनमा आउने भएपछि उत्साहित भएका छन् । पोखरा विमानस्थल सञ्चालनमा आएपछि चीनका सहरहरुबाट सिधै पोखराका लागि उडानहरु हुनेछन् ।
टेलिभिजन सिरियल “देङ्ग फेङ्ग लाई” को सुटिङ्ग पोखरामा भएपछि पनि चिनियाँहरुका लागि पोखरा निकै चर्चित ठाउँ हो । उक्त सिरियलका कलाकारहरुले प्याराग्लाइडिङ गरेको दृश्यले पनि त्यहाँका युवाहरुमा पोखरा निकै रुचाइन थालिएको हो ।
वाङ जिपिङ्गले पोखरा पहिलोपटक आउनेबित्तिकै मन पराए। उनी घुम्न आएका थिए, तर कहिल्यै फर्किएनन्, बरु लेकसाइडमा पोखरा रेस्टुरेन्ट खोल्ने निर्णय गरे।
उनी भन्छन्, “पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि धेरै चिनियाँ पर्यटक सिधै पोखरा आउनेछन् र म निश्चित छु, मेरो व्यापार फस्टाउने छ ।”