विश्वसनीयताको स्वतन्त्र यात्रा
राजनीतिक दलहरूसँग पत्रकारहरूको सम्बन्ध र आबद्धताबारे चर्चा गर्दा ‘हामी घुँडासम्म मात्र डुबेका हौं, तिमीहरू त कम्मरसम्मै चुर्लुम्म भइसक्यौ’ भन्ने किसिमको दोषारोपणले हामीलाई कतै पुर्याउँदैन।
नेपालमा पत्रकार र दलहरूबीचको अन्तरसम्बन्धबारे वेलावेला चर्चा हुन्छ । कुनै घटना विशेषको प्रतिक्रिया स्वरूप देखापर्ने त्यस्ता चर्चा समयक्रममा त्यसै सेलाउँछन् पनि । गएको १२ पुुसमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा पत्रकारका दुई जनवर्गीय सङ्गठनको एकीकरणपछि स्थापित सङ्गठनका पदाधिकारीहरूका लागि शपथ ग्रहण र प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । यसलाई केही पत्रकारले खिसीटिउरी गरे, कतिपय भने असमञ्जसमा परे ।
राजनीतिक दल र पत्रकारबीचको सम्बन्ध तथा दलगत सङ्गठनमा पत्रकारको आबद्धता कति ठीक, कति बेठीक ? देशमा पत्रकारिताको विशिष्ट स्थान र पत्रकारबाट गरिने अपेक्षाबारे चिन्तन गर्दा यस्ता प्रश्नबाट भागेर हुँदैन । यस्ता प्रश्नबाट सिर्जित बहसबाट नै खासगरी नवोदित पत्रकारहरूले दिशानिर्देश गर्न सक्नेछन् ।
बालुवाटार कार्यक्रमपछिको चर्चाले पत्रकार र राजनीतिक दलहरूबीच स्वाभाविक र व्यावसायिक सम्बन्धको पक्षपोषण गर्न खोजेको हो भने बहस भविष्यका लागि मार्गदर्शन पनि बन्न सक्छ । तर, राजनीतिक रूपमा विभाजित आमसञ्चार क्षेत्रमा एकथरीले अर्काथरीलाई होच्याउन मात्रै चर्चा गरेको हो भने हामी फेरि पनि कुनै निष्कर्षमा पुग्दैनौं ।
सधैं उदार लोकतन्त्रको पक्षपोषण गर्ने नेपाली कांग्रेसले २०४८ सालमा सत्तारोहण लगत्तै प्रेस युनियनका नाममा पत्रकारहरूलाई जनवर्गीय सङ्गठनमा बाँध्न थालेको हो । त्यसको सिको अरू दलहरूले पनि गर्न थाले । समयक्रममा मधेशी र जनजाति पत्रकारका नाममा समेत संस्थाहरू बने ।
यो स्थितिमा ‘हामी घुँडासम्म मात्र डुबेका हौं, तिमीहरू त कम्मरसम्मै डुबिसकेका छौ’ भन्ने किसिमका सवाल–जवाफले हामीलाई कहीं पुर्याउँदैन । यस्ता विषयमा समय, ठाउँ, प्रसङ्ग विचार गरेर बोल्ने र अरू वेला मौन बस्ने प्रवृत्तिले पनि हामीलाई गैरजिम्मेवार बनाउँछ । जुनसुकै परिवेशमा पनि आफू संलग्न पेशाबारे प्रष्ट विचार राख्न अग्रसर हुनुपर्छ ।
स्वतन्त्रताको मूल्य
संसारका सबै समाजमा सामाजिक चेतनाको वाहक, राजनीतिको एउटा उपक्रम वा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्ने माध्यमका रूपमा शुरू भएको पत्रकारिताको गौरवमय विगत लोकतन्त्रको वर्तमानसँग जोडिएको छ ।
इतिहासका कैयन् मोडमा नागरिक तथा राजनीतिक अधिकार प्राप्तिको संघर्षका माध्यम बनेका पत्रपत्रिका प्रविधि र सामाजिक चेतनाको निरन्तर विकासका कारण आज फरक ठाउँमा आइपुगेको छ । छापाबाट शुरू भएको पत्रकारिताको माध्यम रेडियो र टेलिभिजन हुँदै इन्टरनेटमा आधारित अनलाइनसम्म विस्तारित भएको छ ।
समय प्रवाहसँगै पत्रकारिताका अन्तरवस्तु, उपभोक्ता, यसको संस्थागत स्वरूप र प्रवृत्तिमा आएको परिवर्तनलाई नेपालीहरूले पनि बुझ्न खोजेका छन् । दलहरूसँग पत्रकारहरूको संलग्नताका विषयमा बहस गर्न खोज्नुको अन्तर्य यही हो ।
आज पत्रकारिता आधुनिक समाजको एउटा विशिष्ट पेशा वा व्यवसायका रूपमा सुपरिचित भइसकेको छ । पत्रकारिता सिकाउने विभिन्न तालिम केन्द्र छन्, विश्वविद्यालयहरूमा यसका ज्ञान, सीप र आधारभूत मूल्य–मान्यताबारे पढाइन्छन् । यसको बजार झन झन फैलिंदैछ ।
ब्याङ्किङ, वकालत र रोजगारीका अन्य क्षेत्र जस्तै प्रशिक्षित जनशक्ति यहाँ पनि आउँछन् । आज पत्रकारिताका संस्थाहरूले कुनै सम्पादक वा पत्रकारलाई आबद्ध गर्र्दा जेल जान डर लाग्छ कि लाग्दैन भनेर पक्कै सोध्दैनन् । किनकि, अहिले कुनै सञ्चारमाध्यम शुरूआत गर्न न राजनीतिक बन्देजको सामना गर्नुपर्छ, न कुनै राजनीतिक आलोचना गरेबापत प्रशासनिक झमेला र दमन नै ।
राजनीतिक दलको प्रचार संयन्त्रका रूपमा पत्रकारिताको सञ्चालन अब नेपालमा पनि इतिहासको पानामा सीमित भइसक्यो । बजारमा प्रतिस्पर्धा गरिरहेका संस्थागत सञ्चारमाध्यमहरूले सार्वजनिक रूपमा राजनीतिक क्षेत्रका सबैसँग समदूरी राख्ने सिद्धान्तकै पक्षपोषण गरिरहेका छन् ।
आजका हाम्रा पत्रकारिताका संस्थाहरू राजनीतिक दलहरूभन्दा स्वतन्त्र रहेको अभ्यासबाटै साबित गरिसकेका छौं । आज कुनै दलको स्वामित्वमा कुनै सञ्चारगृह छैन । यस्तो अवस्थामा हिजोको मुक्ति संग्रामको भारत वा पञ्चायतकालको नेपालमा जस्तो पार्टीको कार्यकर्ता–नेता–सङ्गठनको संरचनामा पत्रकारको पहिचान कायम गर्न खोज्नु उपयुक्त हुँदैन । त्यसरी सङ्गठित पत्रकारले स्वार्थको द्वन्द्वका कारण अमूक दललाई पनि न्याय गर्न नसक्ने भएकाले स्वतन्त्र छाडिदिनु नै उचित हुन्छ ।
यहींनेर प्रश्न उठाउन सकिन्छ, उसो भए पत्रकारितामा बहुलवादको अभ्यास गर्नु अनुपयुक्त हुन्छ त ? पत्रकारिता बहुलवादको पक्षपोषण गर्ने क्षेत्र मात्र होइन, कुनै पनि समाजमा बहुलवाद र बहुविचारको स्तर परीक्षण गर्ने ब्यारोमिटर पनि हो ।
त्यसैले दर्शन र विचारधाराको तहमा पत्रकार कुनै पनि दलसँग निकट रहन वा आफ्ना धारणा अभिव्यक्त गर्न स्वतन्त्र हुन्छन् । कुनै पार्टीले अघि सारेको वाद वा साध्यको समर्थनमा खुलेर धारणा प्रस्तुत गर्नु वा आफूलाई पार्टीको शुभचिन्तकका रूपमा परिचित गराउनु राजनीतिक स्वतन्त्रताको प्रयोग हो, बहुलवादको अभ्यास हो ।
सत्य र स्वतन्त्रता
पत्रकारिता आजसम्म पनि उत्तरदायी, सामाजिक चेत भएका र जोखिम मन पराउने मानिसहरूले रमाइलो मान्ने पेशा हो । यी विशिष्ट गुणहरूमा बाधा उत्पन्न गराउने जुनसुकै अवस्थाले स्वतन्त्रतालाई क्षति पुर्याउँछ । यस सन्दर्भमा बुझ्नैपर्ने कुरा के हो भने, सत्य र स्वतन्त्रता पत्रकारिताका आधारभूत पक्ष हुन् ।
स्वतन्त्रतालाई निरपेक्ष रूपमा बुझ्न सकिंदैन, तर सत्यमा पनि सम्झाैता गर्न थालियो भने विश्वसनीयतामा आघात पर्छ । पत्रकारिताले बामे सरेदेखि अहिलेसम्म राजनीतिक कारणले भोग्नुपरेका व्यवधानहरूलाई पत्रकारहरूको विश्वसनीयताप्रतिको लगावले मात्र परास्त गर्न सकेको हो । जहाँ विश्वसनीयता खस्किएको छ, त्यहाँ पत्रकारिता कमजोर भएको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको परिकल्पनासम्म गर्न नसकिने निरङ्कुशकालमा पत्रकारहरूले राजनीतिक कार्यकर्ताका रूपमा कलम घोट्नु समयकै माग थियो ।
२०१७ सालपछिको बन्देजमा पनि बहुलवादको दियो निभ्न नदिने बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारीको प्रयत्नलाई केही निर्भीक युवा, हाम्रा अग्रज पत्रकारले साथ दिए । अखबारलाई राजनीतिक संवादको मञ्च बनाएका उनीहरूले अभाव र कष्टको जीवन खुशीसाथ आत्मसात् गरे । कठोर सेन्सरसिप छल्न सङ्केत र घुमाउरो भाषाको प्रयोग गरे । तर, आजको राजनीतिक खुलापनमा पनि त्यही रूपमा पत्रकारिता गर्न आवश्यक छैन ।
पत्रकारिता पेशामा आबद्ध हुन चाहने युवाहरूले आफूलाई समयानुकूल परिष्कृत गर्नुपर्छ । यी पंक्ति लेख्दै गर्दा मेरो मस्तिष्कमा पत्रकारिता कक्षामा तन्मयका साथ व्याख्यान सुन्दै टिपोट गरिरहेका मेरा विद्यार्थी झलझल्ती आइरहेका छन् । पत्रकार सम्मेलनहरूमा पूर्वाग्रहको भारीले थिचिएर काँप्दै प्रश्नका नाममा अर्थोकै सोधिरहेका युवाहरू पनि सम्झिरहेको छु ।
आजको नेपाली पत्रकारिता हिजोको दमन, सङ्घर्ष र सिर्जनशील परम्पराबाट यहाँसम्म आइपुगेको हो । हृदयचन्द्रसिंह प्रधानको जागरण साप्ताहिक र तारिणीप्रसाद कोइरालाको उज्यालो र कल्पना दैनिकबाट बढ्दै आइपुगेको लहरा हो ।
आजका पत्रकारहरूले नेपाली पत्रकारिताको त्यो गौरवमय परम्परालाई आत्मसात् गर्दै समयको माग पूरा गर्नुपर्छ । किनकि, संसारका अरू भूभागमा जस्तै नेपाली पत्रकारिता र यसका उपभोक्ताका प्रवृत्तिमा व्यापक परिवर्तन आइसकेको छ ।
(डा.अर्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता एवं आमसञ्चार विभागसँग आबद्ध छन् ।)