वडा कार्यालयद्वारा तीन सय १५ विद्यार्थीलाई निःशुल्क ट्युसन
सार्वजनिक विद्यालयमा अध्ययनरत मोरङ कटहरी २ का ३ सय १५ विद्यार्थीलाई वडा कार्यालयले निःशुल्क ट्युसन पढाउँदै आएको छ।
विद्यार्थीको शिक्षामा सुधार ल्याउन वडाका ९ ठाउँमा ३५ जनाका दरले ट्युसन कक्षा संचालन गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाध्यक्ष किशोरकुमार पाण्डेका अनुसार, गत वर्ष ६ ठाउँमा यसरी नै २ सय १० विद्यार्थीलाई ८ महीना ट्युसन पढाइएको थियो ।
गत वर्ष ट्युसन पढाइएका विद्यार्थीको परीक्षामा रिजल्ट राम्रो भएकाले अन्यत्रका अभिभावकबाट पनि माग आएपछि यस वर्ष ९ ठाउँमा पढाइएको पाण्डेले बताए ।
“विद्यालय जानुअघि वा फर्किएपछि विद्यार्थीको ट्युसनमा जाने बानी बसेकाले अभिभावक पनि खुशी छन्”, वडाध्यक्ष पाण्डेले भने ।
गत वर्ष ट्युसन पढेका विद्यार्थीका घरमै गएर अभिभावकसँग प्रतिक्रिया लिएपछि यस वर्ष पनि जरुरी देखिएकाले कक्षा थप गरिएको उनको भनाइ छ ।
वडा कार्यालयले स्वयंसेवक शिक्षकलाई मासिक रु ६ हजार दिने गरी दैनिक ९० मिनेट पढाउने शर्तमा ट्युसनमा खटाएको छ।
आफ्नो कार्यकालभरी वडाबाट बजेट छुट्याएर माग अनुसार ट्युसन कक्षा थप्दै जाने पाण्डे बताउँछन् । “स्कूल जानुअघि र गएर आएपछि विद्यार्थी खेल्न जान्थे, अहिले केटाकेटी बरालिन छाडेका छन्, पढ्नमा ध्यान बढेको देखिन्छ”, स्थानीय नवराज न्यौपानेले भने ।
वडाका दुईवटा विद्यालय र सात स्थानमा व्यक्तिका घर र आँगनमा पढाइ हुन्छ ।
चिसोका कारण विद्यार्थी पढ्न आउन कम भएकाले वडा कार्यालयले विद्यार्थीलाई न्यानो ठाउँमा बसाउन सामाजिक संस्थालाई आग्रह गरेको छ ।
यसैबीच बिहानी किरण नामक संस्थाले ९ वटै ट्युसन सेन्टरका विद्यार्थीलाई बसेर पढ्ने ठाउँमा त्रिपाल र गुन्द्री ओच्छ्याइदिएको छ ।
संस्थाका अध्यक्ष वीरेन्द्र मेहताले एक सेन्टरलाई ४ वटा त्रिपाल र ६ वटा गुन्द्री दिइएको बताए । उनले आवश्यकता अनुसार यी विद्यार्थीलाई शैक्षिक सामग्री पनि दिइने जानकारी दिए ।
ट्युसन पढ्ने बालबालिकामध्ये ८० प्रतिशत सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् ।