‘लुट्न सके लुट’लाई पुनः अपलोड गर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह, शर्मा भन्छन्– ‘सोचेर निर्णय गर्छु’
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायक पशुपति शर्मालाई ‘लुट्न सके लुट कान्छा’ गीत पुनः यूट्यूबमा अपलोड गर्न आग्रह गरेको छ ।
प्रतिष्ठानको आज बसेको बैठकले सार्वजनिक चासोको विषय स्रोता/दर्शकको पनि अधिकार भएको भन्दै जस्ताको तस्तै गीत यूट्यूबमा अपलोड गर्न आग्रह गरेको हो ।
शर्माले हिमालखबरसँग कुरा गर्दै सोचेर आवश्यक निर्णय गर्ने बताएका छन् । उनले भने, “कुनै राजनीतिक आग्रह पूर्वाग्रहमा रहेर गीत बनाएको होइन, गीतमार्फत कसैलाई हानी वा चोट पु¥याउनु मेरो मनसाय पनि होइन ।” तर, भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा आफू सधैं रहने उनको भनाइ छ ।
शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष पनि हुन् । ३ फागुनमा शर्माले आफ्नै यूट्यूब च्यानलमार्फत ‘लुट्न सके लुट कान्छा’ बोलको व्यंग्यात्मक गीत सार्वजनिक गरेका थिए ।
गीतमा प्रयोग भएका केही शब्दमा असहमति जनाउँदै सत्तापक्षका कार्यकर्ताले तीव्र विरोध र आलोचना गरेका थिए । गीतको पक्ष–विपक्षमा बहस शुरु भएसँगै ४ फागुन साँझ करीब ८ बजेतिर शर्माले यूट्यूबाट गीत हटाएका थिए ।
त्यसअघि गीत यूट्यूब ट्रेन्डिङ्को ९औं नम्बरमा थियो भने करीब तीन लाख पचास हजारले हेरिसकेका थिए । शर्माले हटाए पनि समाजिक सञ्जालमा उक्त गीत भाइरल भइरहेको छ ।
गीतको पूर्ण पाठः
हाम्रा गामको एउटा भाई स्थायी शिक्षकमा लड्यो
स्थायी शिक्षक हुन्छु भनी पढ्नुसम्म पढ्यो
बल्ल–बल्ल नाम निकाल्यो अहिले जागिर खान्छ
त्यसकै छोरो पढ्न फेरि बोडिङतिर जान्छ
लुट्न सके लुट कान्छा, लुट्न सके लुट ।।
अरु देशमा पाइँदैन, नेपालमै हो छुट
हे कान्छा, अरु देशमा पाइँदैन, नेपालमै हो छुट
डाक्टरले नि, जागिर यहाँ सरकारी कोटामा खान्छ
बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ
हाम्रा गामको अर्को भाइले सुब्बामा जागिर खायो
दुईवर्षमै घर ठड्यायो, काँ’ट पैसो आयो ?
लुट्न सके लुट कान्छा ...
गणतन्त्र ल्यायौं भन्छन्, फाल्यौं भन्छन् राजा
त्यै फालेका राजा जस्ता कैंयौं निस्के आज
जनताको मुटुभित्र काँडा कति कति
डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति
लुट्न सके लुट कान्छा ...
वाइडबडी जहाज किने अरे लुट्नुसम्म लुटे
सुनकाण्ड खोई कहाँ पुग्यो, जेलमै छन् कि छुटे ?
ठूलै नेता भ्रष्टाचारी न डराउँछन् लुक्छन्
कार्यकर्ता केही बुझ्दैनन्, कुकुरजस्तै भुक्छन्
लुट्न सके लुट कान्छा...
हजुर बा नि यसै मरे बाऊ नि यसै मर्छन्
हाम्रो पनि त्यै हो गति, विकास कैले गर्छन् ?
गर्ने काम केही हैन, ठूला ठूला भाषण
स्वर्गजस्तो देशमा हजुर यमराजको शासन
लुट्न सके लुट कान्छा..
सडकतिर त्यस्तै जात्रा ट्राफिक लाइट छैन
ट्राफिक पुलिस सीठी फुक्छ, कोहीले सुन्ने हैन
त्यति जाबो ट्राफिक लाइटलाई कति लाउँछ खर्च
हाम्ले भन्न पर्ने हो कि आफैं बुझ्नपर्छ ?
लट्न सके लुट कान्छा...
ठेक्दारले नि टेन्डर पार्छ लिन्छ ठेक्कापट्टा
झनै बिजोग पार्छ छोड्छ, काम भ्याउनुको सट्टा
यता गयो लुटेकै छन् लुट्छन् उता गयो
सबजनालाई लुट्नैपर्छ भन्नेमात्रै भयो
लट्न सके लुट कान्छा...
ड्यांगडुंग गर्ने, हल्ला गर्ने ठूला मान्छे बन्छन्
तलाई सोझो भन्दैनन् भाइ नामर्द हो भन्छन्
अब गर्न छोड्दे कान्छा आदर्शको खेती
केही न केही त बुझिस होला भनेपछि यति
लुट्न सके लुट कान्छा लुट्न सके लुट ।।
अरु देशमा पाइँदैन, नेपालमै हो छुट
हे कान्छा, अरु देशमा पाइँदैन, नेपालमै हो छुट ।।
प्रतिष्ठानको निर्णयः