डब्लूआरपीले ६० कामदारलाई जबरजस्ती नेपाल फिर्ता पठाउँदै
मलेशियाको रबरको पञ्जा उत्पादक कम्पनी डब्लूआरपी एशिया प्यासिफिकले त्यहाँ कार्यरत करीब ६० कामदारलाई नेपाल फिर्ता पठाउने तयारी थालेको छ ।
कामदारमाथि चरम श्रम शोषण गरेको आरोप खेपिरहेको डब्लूआरपी कम्पनिले पछिल्ला दिनहरुमा चरम आर्थिक संकट खेपिरहेको छ ।
कामदारमाथि श्रम शोषण गरेको प्रमाण भेटेपछि गएको १४ असारमा अमेरिकाको भन्सार तथा सीमा सुरक्षा कार्यालयले डब्लूआरपीको पञ्जा आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । डब्लूआरपीले उत्पादन गरेका अधिकांश पञ्जा अमेरिका निर्यात हुँदै आएको थियो ।
अमेरिकाले पञ्जा आयात रोकेपछि कम्पनिबाट उत्पादित बिक्रि हुन छाड्यो र कम्पनी आर्थिक संकटतिर धकेलिदै गरहेको थियो ।
यसैबीच डब्लूआरपीले आर्थिक संकट भोगेका कारण १५ पुसमा व्यापार सञ्चालन निलम्बन गर्यो ।
व्यापार सञ्चालन निलम्बन गरेपछि कम्पनीले त्यहाँ कार्यरत भिसा अवधि सकिएका कामदारलाई स्वदेश फिर्ता पठाउन थालेको छ ।
यसैक्रममा डब्लूआरपीले १७ पुसमा कम्पनीका शाखा प्रमुखलाई लेखेको इमेल रेकर्ड अनुसार त्यहाँ कार्यरत करिब ६० जना नेपाली कामदारलाई नेपाल फिर्ता पठाउने तयार गरेको छ ।
उक्त विवरण अनुसार उनीहलाई आउँदो १३ जनवरीमा नेपाल पठाउने गरी फिर्ता पठाउने दिन समेत तोकिएको छ ।
डब्लूआरपीमा कार्यरत अधिकांश कामदारको भिसा अवधि १४ जनवरीमा सकिदैन । कम्पनीले म्याद सकिनु अघि नै उनीहरुलाई नेपाल फिर्ता पठाउने तयारी गरेको हो ।
यसअघि, कम्पनीले कामदारको भिसा अवधि नविकरण गरेर काममा लगाउने गरेको थियो । अहिले कम्पनीले कतिपय कामदारलाई कम्पनिभित्र बस्न दिएको छैन ।
हिमालको सम्पर्कमा आएका नेपाली कामदारले आफुहरुलाई फिर्ता पठाउनुको उचित कारण बिना कामबाट निकाल्न लागिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । डब्लूआरपीमा कार्यरत झण्डै पाँच सय नेपाली कामदार कार्यरत छन् ।
आप्रवासी कामदारका अधिकारीकर्मी एण्डी हल मलेशिया र अमेरिकाको सरकारले चरम श्रम शोषण पीडित कामदारलाई उनीहरुको इच्छा बिपरित घर फर्काउन बाध्य तुल्याउनु र मजदुरको सुरक्षाका कदम नचाल्नुलाई आपत्तिजनक भएको बताएका छन् ।