झपारेर होइन फकाएरै सिक्छन् बालबालिका
‘विद्यालयमा पढेको कुरा भन्’ भन्नु भन्दा पढेको कुरा सर/म्यामले जस्तै मलाई पढाऊ भन्यो भने उनीहरू खुशी हुन्छन्। जसले उनीहरूले थाहै नपाई पढेका कुरा सम्झन्छन् ।
काठमाडौं, कोटेश्वरकी अञ्जना इछमफूलका छोराछोरी कक्षा २ र ५ मा पढ्छन् । उनी बच्चालाई ‘तिमीले यो पढ्नैपर्छ वा लेख्नैपर्छ’ भन्दिनन् । पढाइ भारी हो भन्ने महसूस नहुने गरी हौसला दिंदै लेख्ने/पढ्ने वातावरण बनाउने गरेको उनी बताउँछिन् ।
भक्तपुर, सल्लाघारीकी निर्जला राउतले कोठामा ह्वाइटबोर्ड राखिदिएर पहिले के गर्ने भनेर लेखिदिन्थिन्; कहिले छोरालाई लेख्न लगाउँथिन् । भन्छिन्, “६ वर्षको हुँदादेखि छोराले गृहकार्य नसकी विद्यालय जान हुँदैन भन्ने बुझ्यो ।
अहिले ऊ १४ वर्षको भयो, खाने, खेल्ने, लेखपढ गर्ने सबै तालिकामा गर्छ ।” नेपाल सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग) ले पनि बालबालिकाको समग्र विकासमा अभिभावकले के–के गर्ने भनेर ‘अभिभावक शिक्षा’ दिने गरेको छ ।
केन्द्रले संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) सँगको सहकार्यमा ‘अभिभावक शिक्षा सहजकर्ताका लागि सन्दर्भ सामग्री’ तयार पारेर नमूनाका रुपमा २० जिल्लामा यो कार्यक्रम लागू गरेको जनाएको छ ।
केन्द्रका निर्देशक माधवप्रसाद दाहालका अनुसार कार्यक्रम लागू भएका जिल्लाका टोलटोलमा ‘सामुदायिक सिकाइ केन्द्र’ सञ्चालित छन् । जसको अभिभावकले भ्याउँदैनन् वा सिकाउन सक्दैनन्, उनीहरूलाई सिकाइ केन्द्रमा पुर्याउने गरिएको छ ।
उनी भन्छन्, “कार्यक्रम लागू नभए पनि छरछिमेक मिलेर खोलिएका यस्ता सामूहिक सिकाइ केन्द्रहरूमा पढाइ, लेखाइका साथै खेल्ने/खेलाउने गर्दा बालबालिकाको सर्वाङ्गीण विकास हुन्छ ।”
अभिभावक स्रोत पुस्तिकामा एक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै लेखिए अनुसार आफैं गरेर, अरुलाई सिकाएर ९० प्रतिशत सिकाइ हुन्छ भने अभ्यास गरेर/लेखेको देखेर ७० प्रतिशत सिकाइ हुन्छ । पढेर १० प्रतिशत अर्थात् सबैभन्दा कम मात्रै सिकाइ हुन्छ ।
विद्यालयले पनि धेरै किताब पढाएर वा धेरै गृहकार्य दिएर मात्र बालबालिकाले पढ्छन् वा जान्दछन् भन्ने ठान्नुहुँदैन । शिक्षकले बालबालिकासँग सरसल्लाह (परामर्श) गर्दै पढाइ–लेखाइप्रति रुचि जगाउन सक्नुपर्छ । विद्यालय र अभिभावकबीच निरन्तर छलफल पनि हुनुुपर्छ । विद्यार्थीको पढाइलेखाइ बुझ्न नसक्ने अभिभावक भए कठिन गृहकार्य घरमा पठाइ दिनुहुँदैन ।
शिक्षाविद् डा. विद्यानाथ कोइराला विद्यालयहरूले आफ्ना विद्यार्थीका अभिभावकको क्षमता बुझेर र शिक्षालाई व्यवहारमा जोडेर सिकाउनुपर्ने बताउँछन् ।
बालबालिकाको पठनपाठनमा विद्यालय, शिक्षक, घर र अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ । उनी भन्छन्, “घरमा भ्याकुम क्लिनर छ भने त्यसले कसरी फोहोर तान्छ, वा राइसकुकरमा कसरी भात पाक्छ भनेर विद्यालयमा विज्ञान पढाउने शिक्षकले सिकाउने खालको शिक्षा हुनुपर्छ ।”
अभिभावकको विशेष भूमिका
अभिभावकले विद्यालयमा भएको पढाइ–लेखाइ, गृहकार्य र शिक्षक तथा साथीहरूको बारेमा उसले के कठिनाई महसूस गरेको छ ? सोधेर विद्यार्थीको अवस्था बुझेपछि शिक्षकसँग कुरा गर्नुपर्छ ।
बालबालिकाहरूले गर्न खोजेको राम्रो काममा झन् उत्पे्ररित गर्ने र नराम्रो काम गरिरहेको भए नगर भन्नुको सट्टा किन गर्नुहुँदैन भनेर बुझाउन सक्नुपर्छ । कडा अनुशासनमा राख्नुहुँदैन ।
छरछिमेकका उमेर मिल्ने साथीहरूसँग सँगै खेल्न र कुरा गर्न लगाएर सामाजिकीकरण प्रक्रियामा सहभागी गराउनुपर्छ । मायालु व्यवहार गर्ने, उत्पे्ररित गर्ने, उनीहरू खुशी हुने कुरा गर्नुपर्छ । अक्षर राम्रो छैन यसरी राम्रो लेख्न सकिन्छ भनेर लेख्न सिकाउनुपर्छ ।
‘विद्यालयमा पढेको कुरा भन्’ भन्नु भन्दा पढेको कुरा सर/म्यामले जस्तै मलाई पढाऊ भन्यो भने उनीहरू खुशी हुन्छन् । जसले उनीहरूले थाहै नपाई पढेका कुरा सम्झन्छन् ।
हिज्जे, अन्ताक्षरी वा शब्द बनाउने जस्ता खेल आफूसँगै खेलाउने गर्दा पनि फाइदा हुन्छ । चिडियाखाना, पुस्तकालय, सङ्ग्रहालय जस्ता ठाउँहरूमा समय समयमा लैजाँदा पनि पुस्तकमा पढ्ने कुरा आँखाले देख्न पाउँदा उनीहरूलाई पढ्न र सम्झिन सजिलो हुन्छ ।
केही सामान किन्दा उनीहरूलाई कति पैसा दिने, कति फिर्ता आयो, के के सामान किन्दा कति कति खर्च भयो जस्ता कुराहरू जानकारी दिंदा गणितीय ज्ञान जोड, घटाउ बुझ्छन् ।
बालबालिकाको मनोविज्ञान बुझेर उनीहरू के गर्न चाहिरहेका छन् बुझेर गराउन सक्यो भने पढाइ, लेखाइ होस् वा अन्य खेल्ने, खाने कुराहरूमा राम्रोसँग ध्यान दिन्छन् । ‘तिमी जे पनि गर्न सक्छौ’ भनेर सिकायो भने उसको आत्मबल बढ्छ ।