१० रुपैयाँमै पेटभरी भात
विराटनगर १२ कोशी प्रोजेक्ट घर भई महानगरमा ई रिक्सा चलाउँदै आएका सुमन श्रेष्ठ हिजोआज होटलमा खाना खान जान छाडेका छन् । विराटनगरका समाजसेवीहरूले रु १० मै पेटभरी खाना खुवाउन थालेपछि उनी सस्तो खाना घरमासमेत लिएर जाने गर्छन् ।
खानाका लागि नियमित घर जान नभ्याउने श्रेष्ठले होटलमा खाँदा छाकमा रु १०० तिर्नु पर्थ्याे। “यही खाएको रु १० र प्याक गरेर घर लगेको रु २०, हामी जस्ता श्रमिकका लागि धेरै सजिलो भएको छ,” उनले भने, “खाना मिठो छ, थपेर खाइन्छ, घरमा अरुले पनि खाना मन पराए ।”
होटलमा गएर खाना खरीद गर्न नसक्नेहरूका लागि ९ पुसबाट विराटनगरको मेनरोडमा सस्तोमा खाना बाँड्न थालिएपछि अचेल सर्वसाधारणको लाइन लाग्ने गरेको छ । लाइनमा बसेर खाना खाँदै गरेका विराटनगरमा घर बनाउने श्रमिक मोरङ कटहरी ४ का लक्ष्मण कामत जाडोमा तातो भात र मिठो तरकारी पाइने भएपछि आफूहरू नियमित खानका लागि आउने गरेको बताउँछन् ।
बिहान ११ देखि अपरान्ह ३ बजेसम्म खाना वितरण गरिन्छ । खान आउने लाइनमा हुन्छन् भने खाना व्यवस्थापन गर्नेहरू वितरणमा बस्छन् । रु १० मै बासमती चामलको भात खान पाइन्छ भन्ने टेलिभिजनमा देखेर खान आएको बताउने भोजपुर घर भई विराटनगरमा सवारी चालकको काम गर्दै आएका इन्द्रबहादुर राईले सडकमा उभिएरै खाएपनि सन्तुष्टि मिलेको बताए ।
खानामा रु ३० लगानी
विराटनगर महानगर प्रदेशको राजधानी भएपछि मानिसको आवतजावत पनि बढेकाले सस्तोमा खाना खुवाउने सोच आएको समाजसेवी दिलीप धाडेवा बताउँछन् । ७ पुसमा विराटनगरमा बहिरा संघको भेलामा धाडेवा लगायतले खानाको व्यवस्था गरेका थिए ।
त्यसै दिन धाडेवा, पवन अग्रवाल, नन्दकिशोर तापडिया र मोहन गुप्ताले शहरका भोकालाई भोजन खुवाउने विषयमा सल्लाह गरे । धेरैलाई खुवाउन समस्या हुने भएकाले रु १० लिएर सार्वजनिक ठाउँमा खाना खुवाउने निर्णय गरे । धाडेवाका अनुसार, ९ पुसमा चार जनाले रकम संकलन गरेर बासमती चामल र राजमा खरीद गरी क्याटरिङलाई पकाउन लगाए ।
“पहिलो दिन भगवानको नाममा खुवायौं, ४ सय ४३ जनाले खाए,” उनले भने । यतिका मानिसले खाँदा जम्मा रु १७ हजार मात्रै खर्च भयो । प्रति व्यक्ति रु ३० लगानी भएको उनले बताए । त्यस दिन केहीले पैसा नतिरी खाएकाले रु ३ हजार ९६० जम्मा भयो । त्यस दिनको लागत रु १७ हजार भएपनि रु १३ हजार मात्रै घाटा भएको थियो।
“हामी सित्तैमा खाना खुवाउने पक्षमा थियौं तर, पेटभर खानेले थोरै भएपनि पैसा तिर्नै पर्छ भनेर रकम लिने निर्णय गरेका थियौं ।” अहिले दिनमा ९ सय भन्दा बढीले खाना खाने गरेका छन् । लाइनमा बसेर खानेले भन्दा घर लैजानेले दोब्बर रकम तिर्नु पर्छ । खाना वितरणमा बस्ने गरेका धाडेवा आफैं दैनिक रु १० तिरेर खान्छन् र रु ४० मा श्रीमती र छोरालाई खाना घर लगि दिन्छन् ।
एकैजनाले धेरैको रकम तिरेर खाना खुवाउन नपाइने नियम पनि लगाइएको छ । मेनरोडको काली मन्दिरमा भीख माग्न बसेका १० जनालाई बोलाएर एक व्यक्तिले पहिलो दिनमा नै रु १०० मा खाना खुवाएका थिए । यदि कुनै सभा सम्मेलनमा सहभागी भएकालाई पनि यसरी नै खाना खुवाउने मानिस आए भने सेवा गर्नेलाई समस्या हुने भएकाले नियम बनाइएको धाडेवाले बताए ।
तर, समूहलाई कसैले खाना खुवाउनु पर्यो भने रु ३० प्रति व्यक्तिको लिने व्यवस्था गरिएको छ । कोही दानीले खाना खाएपछि रु २ सयसम्म दिने गरेकाले पनि आयोजकलाई खाना खुवाउन बढी खर्च गर्नु परेको छैन । नियमित खाना वितरणमा बस्ने गरेका राष्ट्रिय जनता पार्टी मोरङका अध्यक्ष मोहम्मद कादिरले भने, “यस्तो सेवा भारततिर हुने गरेको थियो, अहिले विराटनगरमै गरेको देखेर म पनि दैनिक सहभागी हुन आउँछु ।”
वर्षभरी खुवाउने तयारी
पवन अग्रवालले आफ्ना स्वर्गीय बाबुआमा रामकुमार र मुन्नीदेवीका नाममा ५२ हप्ता शनिबार खानाका लागि लगानी गर्ने भएका छन् । जगदम्बा पोलिटेङ्क उद्योग काठमाडौंका संचालक रहेका अग्रवालले हरेक शनिबार रु १५ हजार खानाका लागि रकम दिने भएका छन् ।
“धेरैले जन्म दिन, विवाह उत्सव र मृत्यु भएकाहरूको सम्झनामा खाना खुवाउन नाम दर्ता गरिरहेका छन्,” अग्रवालले भने, “पैसा दिन्छु खाना खुवाइदिनु भन्नेलाई अस्वीकार गर्छौं ।” नन्दकिशोर तापडियाले महीनामा १ दिनका दरले १ वर्षमा १२ पटकको खानाको खर्च बेहोर्ने भएका छन् ।
खाना खुवाउन चाहनेले पकाउँदादेखि वितरण गर्दासम्म सेवा गर्नुपर्ने अनिवार्य गरिएको छ । उनीहरूले भोकालाई भोजन खुवाउन थालेपछि विदेशमा रहेका नेपालीहरूले पनि सहयोग गर्ने भन्दै फोन गर्न थालेका छन् । तर, उनीहरूको सहयोग लिन धाडेवाको समूह तयार छैन ।
उनीहरूलाई गोल्छा अर्गनाइजेशनबाट पनि यसरी नै फोन आएको थियो । फोनबाट भनिएको खाना खुवाउन चाहनेको नाम उनीहरू लेख्दैनन् । बासमती चामल २० किलोलाई रु २ हजार ६ सय रुपैयाँ पर्छ । एक दिनमा ८० किलो भन्दा बढी चामलको भात पाक्न थालेको छ ।
भातसँग तरकारी मात्रै दिइने भएकाले मिठो बनाउने मेहनत र लगानी बढी हुने गरेको धाडेवा बताउँछन् । “राजमा, चना, मटर, काउली फरक फरक तरकारी बनाउँछौं । प्याज, मसला र टमाटरमा बढी खर्च हुन्छ,” उनले भने । महंगाइ अनुसार खाना खुवाउन चाहनेले रकम तिर्नुपर्ने हुन्छ ।
उदाहरणीय कामले चर्चा पाएपछि त्यसै गरी अन्यत्र पनि खाना खुवाउने अभियान चलाउने बारेमा विभिन्न शहरका समाजसेवीले धाडेवासँग सल्लाह लिन थालेका छन् । “हाम्रै सल्लाहमा मोरङ रंगेलीका युवाहरूले यसैगरी खाना खुवाउने तयारी गरेका छन्,” धाडेवाले भने, “धरान, इटहरीका युवाहरूले पनि हामीसँग सल्लाह गर्दैछन् ।”