रणवीर सिंहको 'गली ब्वाई' ले तीन दिनमा कमायो ५० करोड
र्याप गायकको विषयमा बनाइएको बलिउड फिल्म 'गली ब्वाई' ले बक्स अफिसमा प्रभाव जमाइरहेको छ। रणवीर सिंह र आलिया भट्ट अभिनीत फिल्मले प्रदर्शनको तीन दिनमा भारु ५० करोड कमाएको छ।
१४ फेब्रुअरीमा रिलिज भएको पहिलो दिन १९ करोड ७ लाख, दोस्रो दिन १३ करोड र तेस्रो दिन शनिबार १८ करोड बटुलेको हो। ५५ करोडको बजेटमा बनेको 'गली ब्वाई' ले लगानी सहजै उठाउने देखिएको छ। प्रचारप्रसारमा अतिरिक्त १५ करोड खर्च गरिएको थियो।
दुई र्यापरको कहानी समेटिएको फिल्ममा रणवीरले मुराद अहमद र सिद्धान्त चतुर्वेदीले एमसी शेरको भूमिकामा अभिनय गरेका छन्। जोया अख्तरले निर्देशन गरेको फिल्मलाई दर्शकका साथै समीक्षकहरुले समेत सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
बक्स अफिसमा देखिइरहेको उत्साहले जोयालाई पहिलो पटक बलिउडको एक सय करोड क्लबमा प्रवेश गराउने आकलन गरिएको छ। यसअघि उनले निर्देशन गरेका फिल्म 'लक बाई चान्स', 'जिन्दगी ना मिलेगी दोबारा' र 'दिल धडकने दो' ले सय करोड कमाउन सकेका थिएनन्।
यसका साथै, 'गली ब्वाई' व्यापारिक सफलताको हिसाबमा आलियाको सबैभन्दा ठूलो फिल्म हुनसक्नेछ। अहिलेसम्म उनको सफल फिल्म मेघना गुलजार निर्देशित 'राजी' हो। उक्त फिल्मले १२२ करोड कमाएकव थियो। - एजेन्सी